अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 06:44

प्यारो छ नेपाल यो

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७८ फागुन ८ गते १०:१५ मा प्रकाशित

छानो भव्य हिमालको छ सुकिलो छन् टल्कने चाँदनी
पोत्छन् हर्दम स्वच्छ धार जलले छाँगा परी मोहिनी
आभा दिव्य कहाँ छ तुल्य भवमा स्रष्टा कला शिल्पको
यात्री अन्तरचेतका चरणमा प्यारो छ नेपाल यो ।१।

नानी तुल्य छ रूपमा मृदुल यो मोती छ यो मोलमा
तारा तुल्य छ ज्योतिमा कुसुमको हो बाग भूगोलमा
बाढी मत्त उठी कुनै लहरले तानेर तानिन्न यो
आस्थाको छ विशाल भाव जगमा प्यारो छ नेपाल यो ।२।

डाँफे रङ्ग तरङ्ग ताल कति छन् , छन् गीतका किन्नरी
ल्याई घाम सजाउने हृदयमा छन् दूधका पोखरी
चोखो मूल अनन्त कल्कल कला सुक्दैन, लुक्दैन यो
यात्री सागर ज्वारको लहरको प्यारो छ नेपाल यो ।३।

हिंसा , मार र काटका छल यहाँ आफैँ गली ढल्दछन्
सच्चा देव दया यतै मनुजका छाती खुली बल्दछन्
होला रात प्रभात काल नहुँदा अन्योल क्यै त्रासको
न्यानो घाम उदाउँदा जगतकै प्यारो छ नेपाल यो ।४।

भो ! भो ! हेर्न कदापि सक्दिनँ कतै सङ्ग्राम यो ग्रामको
भो! भो ! सुन्न कदापि सक्दिनँ कतै दुर्नाम यो धामको
उम्लेका मनका कुनै जहरले डामेर झर्दैन यो
यै लाखौँ बुटीको अपार थल हो प्यारो छ नेपाल यो ।५।

आँखा, नाक, गला , कला फरक छन् – राम्रो भयो सृष्टि यो
पेसा , भेष , छटा , थला फरक छन् – शृङ्गारले चम्किलो
नेपाली थर-जात हो सकलको सम्मान, सद्-भावको
गुम्बा , मस्जिद ,भेद छैन मठमा प्यारो छ नेपाल यो ।६।

होलान् बास सुदूर पूर्वतिर क्वै , होलान् कुनै उत्तर
होलान् पश्चिममा र दक्षिण कुनै , हो मृत्तिका यै भर
मिल्दा आपसमा कला सकलका नौलो छ यो रूपको
माली हात चलाउने जतनमा प्यारो छ नेपाल यो ।७।

त्यागी पूर्वजका अदम्य बलका सत्कर्मका पाखुरा
जस्तै बन्न सके उदार मनका फुल्छन् यिनै टाकुरा
तापै-ताप फलाउने असुरको माटो कुनै हैन यो
ज्ञानी ज्ञान सजाउने रहरमा प्यारो छ नेपाल यो ।८।

जन्मे जीवन ज्योतिमा प्रबल भै सत्- काव्यका साधक
जन्मे वीर यतै , यसै प्रकृतिमा जन्मे महानायक
माटो रङ्ग फुलाउने हृदयमा साँच्चै कलाकार हो
उच्चा उर्वर प्राणका नजरमा प्यारो छ नेपाल यो ।९।

प्यारा सन्तति दूरका रहर क्यै मेट्दै फिरून् द्वारमा
बत्ती स्वागतका निमित्त उनकै बल्नेछ सङ्घारमा
चोथो हैन यहाँ कथा कहरको खाँचो छ उत्सर्गको
लाग्ने सिर्जन मार्गमा अकलको प्यारो छ नेपाल यो ।१०।

————————————
गोरखा , लप्सीबोट ; हाल: काठमाडौँ- ६, सरस्वतीनगर ।