अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 02:15

यथार्थ र श्यामव्यङ्ग्यात्मक अभिव्यक्तिमा डा.लुइटेलको नियात्राकला

युवराज मैनाली २०७८ फागुन ७ गते १६:३७ मा प्रकाशित

तेह्रथुम जिल्लाको सोल्मा–९ कालिमाटीमा माता योगमाया लुइटेल तथा पिता इन्द्रप्रसाद लुइटेलका पुत्ररत्नका रूपमा वि स. .२०१८ पुस २५ मा जन्मिएका खगेन्द्रप्रसाद लुइटेल हाल कीर्तिपुर नगरपालिका– १, ट्याङ्लाफाँट, युनिभर्सिटी हाइट, काठमाडौंमा बसोबास गर्छन् । सानैदेखि पढाइमा तेजिला भएकाले सधैँ सर्वप्रथम हुँदै आएका लुइटेल त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम.ए., अङ्ग्रेजीमा बि.एड. तथा नेपालीमा विद्यावारिधि गरेका उच्चशिक्षित व्यक्तित्व हुन् । विद्यावारिधि अनुसन्धानकार्य पनि त्रिभुवन विश्वविद्यालयको दीर्घावधिक विद्वत्वृत्तिमा सम्पन्न गरेका हुन्, लुइटेल नेपालीमा संरचनावादमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन् । प्राध्यापन पेसामा प्रवेश गर्नुअगि विभिन्न विद्यालयमा अङ्ग्रेजी विषयको शिक्षण गरेका यिनी प्रधानाध्यापक पनि भएका थिए । हाल यिनी त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा प्राध्यापक पदमा कार्यरत छन् ।

नेपाली साहित्यमा डा. खगेन्द्रप्रसाद लुइटेल स्रष्टा र द्रष्टा दुवै भए पनि द्रष्टा व्यक्तित्वका रूपमा सुपरिचित छन् । २०२९ सालमा ‘रत्न’ हस्तलिखित पत्रिकामा ‘विद्यार्थी’ शीर्षकको कविता प्रकाशित गरेर नेपाली साहित्यमा प्रवेश गरेका उनका प्रकाशित कृतिहरू– ‘शोधविधि’(२०५२),‘ध्वनिविज्ञान र वर्णविज्ञान’(२०५३), ‘नेपाली प्रक्रिति प्रत्यय कोश’ (२०५३), ‘नेपाली बृहत् शब्दकोश’ (२०५३,संशोधन–परिमार्जन), ‘नेपाली एकाङ्की (२०५४),‘नेपाली कविता’(२०५४), ‘नेपाली कवि र कविता’(२०५४),‘नेपाली निबन्ध’(२०५४), ‘हाम्रो नेपाली किताब’ ५ वटा (२०५४–२०५९,संशोधन–परिमार्जन), ‘नेपाली कविता र आख्यान (२०५५),‘नेपाली गद्य, गद्य भाषासाहित्य र इतिहास’(२०५५), ‘नेपाली गद्य र भाषासाहित्य (२०५५), ‘नेपाली कविता, नाटक र इतिहास’(२०५६), ‘आधुनिक नेपाली समालोचना’(२०५७),‘भाषासाहित्य सिद्धान्त’(२०५७), ‘कोशविज्ञान’(२०५७),‘पहरी भाषा र संस्कृति’(२०५९),‘नेपाली भाषा व्याकरण र नाटक’(२०६०),‘नेपाली काव्य र साहित्य’(२०६०),‘नेपाली गद्य’(२०६०),‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’(२०६०),‘आधुनिक भाषाविज्ञान’(२०६०),‘सनत रेग्मीका प्रतिनिधि कथा’ (२०६०, सम्पा.), ‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’(२०६१), ‘डा. बल्लभमणि दाहालका भाषिक चिन्तन’ (२०६१,सम्पा.), ‘प्रयोजनपरक विशेष नेपाली’(२०६२),‘कविताको संरचनात्मक विश्लेषण’(२०६२),‘लोकवार्ताविज्ञान र लोकसाहित्य’(२०६३), ‘डा. बल्लभमणि दाहालका रचनाहरू’ (२०६३,सम्पा.), ‘हाम्रो नेपाली ११ वटा (२०६४), ‘नेपाली व्याकरण’१० वटा (२०६६),‘नेपाली काव्य समालोचना’(२०६७), ‘नेपाली नाट्य समालोचना’(२०६७), ‘नेपाली गीत गजल भाग १’ (२०६७), ‘पूर्वआधुनिक नेपाली साहित्यको इतिहास’ (सन् २०१०), ‘आधुनिक नेपाली साहित्यको इतिहास (१९९१ पछि)’ (सन् २०१०), ‘देवकोटापूर्वका नेपाली कविता (सन् २०१०), ‘देवकोटाउत्तरका नेपाली कविता’ (सन् २०१०), ‘मोहन कोइरालाउत्तरका नेपाली कविता’ (सन् २०१०), ‘समपूर्वका नेपाली नाटक’ (सन् २०१०), ‘समउत्तरका नेपाली नाटक’ (सन् २०१०), ‘देवकोटापूर्वका नेपाली आख्यानेतर गद्य’ (सन् २०११), ‘लोकसाहित्य (सन् २०११), ‘पूर्वीय साहित्य सिद्धान्त’ (सन् २०११), पाश्चात्य साहित्य र समालोचना सिद्धान्त’ (सन् २०११), ‘संरचनावादी समालोचना’(२०६७), ‘नेपाली निबन्ध समालोचना’(२०६८), ‘पाश्चात्य साहित्य सिद्धान्त’ (२०६८), ‘लोकसाहित्य परिचय’ (२०६८), ‘नेपाली उपन्यासको इतिहास’(२०६९),‘नेपाली वर्णविन्यास’ (नियम, समस्या र समाधान) (२०६९), ‘बरालको आँसु (२०६९, सम्पा.), ‘मेरो नेपाली किताब १० वटा (२०७०), ‘नेपाली वर्णविन्यास’ (नियम, समस्या र समाधान)(२०७४), ‘मानक नेपाली वर्णविन्यास (नियम, समस्या र समाधान)(२०७५), ‘डायस्पोराको सैद्धान्तिक स्वरूप’ (२०७८), ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ (२०७८) आदि रहेका छन् । यी पुस्तककार कृतिबाहेक उनका सयौँ विषयक अनुसन्धानमूलक समालोचनाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।

डा.लुइटेलका समालोचनाबाहेक ‘चाउरिएको जिन्दगी’(२०६७) शीर्षकको श्यामव्यङ्ग्यात्मक निबन्ध सङ्ग्रह र ‘बार वर्षमा हनिमुन’(२०६७) शीर्षकको नियात्रा सङ्ग्रह प्रकाशित छन् । डा.लुइटेलले केही कृति सहलेखन गरेका छन् । उनले विभिन्न विधाका थुप्रै कृतिहरूको सम्पादनसमेत गरेका छन् । अनुवादमा पनि उनको योगदान रहेको देखिन्छ । यिनले त्रिभुवन विश्वद्यिालयबाट प्रकाशित ‘वाङ्मय’, ‘नेपाल अध्ययन जर्नल’लगायत विभिन्न पत्रिकाको कुशल सम्पादन पनि गरेका छन् ।

डा.लुइटेलले देशविदेशका विभिन्न लेखकका विभिन्न विधाका सयौँ साहित्यिक कृतिहरूमा भूमिकासमेत लेखेका छन् । उनी कृतिकारको योगदान र कृतिको वस्तुपरक मूल्याङ्कन भूमिकामा प्रस्तुत गर्छन् । कृतिको सम्पूर्ण सारतत्व खिचेर भूमिका प्रस्तुत गर्न सिपालु लुइटेलमा गहनता र यथार्थताको प्रबलता पाइन्छ । उनले लेखेका भूमिका पनि विश्लेषणात्मक स्तरीय लेखझैं हुन्छन् । यी सबै भूमिकालाई पुस्तकका रूपमा छाप्ने हो भने धेरैवटा पुस्तक बन्छन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विभिन्न साहित्यिक प्रतियोगितामा पटकपटक निर्णायक, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरूमा पटकपटक प्रमुख अतिथि, प्रमुख वक्ता, कार्यपत्र प्रस्तोताका रूपमा रहेका डा.लुइटेल प्रखर वक्ताका रूपमा परिचित छन् ।

डा.लुइटेलले एक्लै गौहाटी विश्वविद्यालयको नेपाली एम.ए. को पाठ्यक्रम निर्माणका साथै पाठ्यपुस्तक लेखन तथा संयोजन गरेका छन् भने सिलोङमा नेपाली विषयको पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक लेखनको पनि संयोजन गरेका छन् । यिनले गौहाटी र सिलोङमा मात्र नभएर विभिन्न विश्वविद्यालयका पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक लेखन पनि गरेका छन् । उनले अमेरिकामा नेपाली विषयको पाठ्यक्रम बनाउन पनि उल्लेख्य योगदान दिएका छन् । उनका थुप्रै पुस्तक नेपाल, भारतलगायत विभिन्न ठाउँका विद्यालय तथा विश्वविद्यालयको विभिन्न तहका पाठ्यक्रममा समाविष्ट छन् । उनी स्तरअनुरूप पाठ्यक्रम निर्माता तथा आधिकारिक पाठ्यपुस्तक लेखकका रूपमा सुपरिचित छन् ।

यसरी हेर्दा बहुमुखी प्रतिभाशाली र बहुआयामिक व्यक्तित्वका धनी डा.लुइटेल भाषाविद्, समालोचक, हास्यव्यङ्ग्यकार, नियात्राकार, अनुवादक, सम्पादक, शोधनिर्देशक, शोधविशेषज्ञसमेत हुन् । यिनी कविता, शोधविधि, कोशाविज्ञान, भाषाविज्ञान तथा डायस्पोरा साहित्यको विशेषज्ञका रूपमा सुपरिचित छन् । यिनले नेपाली पुगेका अमेरिका, युरोप, अस्ट्रेलिया, एसियालगायतका विभिन्न महादेशका विभिन्न मुलुकमा पटकपटक भ्रमण गरी डायस्पोरा साहित्यको विशेषज्ञका क्षेत्रमा छुट्टै र विशिष्ट पहिचान बनाएका छन् ।

व्यक्तिगत तथा संस्थागत रूपमा विविध विषयवस्तुमा आधारित अनुसन्धान कार्यमा समेत संलग्न रहेका डा. लुइटेलले विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूबाट थुप्रै अनुसन्धान परियोजना सम्पन्न गरेका छन् । यिनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि स्तरीय प्रशस्तै शोधार्थीका शोधकार्यको निर्देशन, आन्तरिक एवं बाह्य परीक्षण तथा मूल्याङ्कन गरेका छन् । यस्तै नेपाल संस्कृत विश्वविद्यालयकोे विद्यावारिधि स्तरीय शोध तथा पूर्वाञ्चल विश्वविद्यालयको पत्रकारिता विषयको स्नातकोत्तर स्तरीय शोधको निर्देशन तथा मूल्याङ्कन पनि गरेका छन् ।

डा.लुइटेलको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको सदस्य र सल्लाहकार, केन्द्रीय कार्यसमितिको सल्लाहकार, त्रिभुवन विश्वविद्यालय नेपाली विषय स्थायी समितिको सदस्यलगायत विभिन्न साहित्यिक, शैक्षिक–प्राज्ञिक एवं सामाजिक सङ्घसंस्थाहरूको अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सदस्य, सल्लाहकार, आजीवन सदस्य आदिका रूपमा प्रत्यक्ष संलग्नता रहेको देखिन्छ ।

प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म सर्वप्रथम भई जेहेनदार छात्रवृत्ति तथा विद्यावारिधिका लागि दीर्घावधिक विद्वत्वृत्ति प्राप्त गरेका लुइटेल विद्यालय तहदेखि क्याम्पस तहसम्म नै निबन्ध, वक्तृत्वकला, वादविवाद, हाजिरीजबाफ प्रतियोगितामा सर्वप्रथम भई पुरस्कृत भएको देखिन्छ । डा. लुइटेल नेपाली भाषा र समालोचनामा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै विभिन्न साहित्यिक सङ्घसंस्थाहरूबाट सम्मानित–पुरस्कृत र अभिनन्दित पनि भइसकेका छन् । यिनी कुलचन्द्र कोइराला स्मृति सम्मान (२०५६), महेन्द्र विद्याभूषण क श्रेणी (२०५९), सम शतवार्षिकी सम्मान (२०६१), विष्णुराम वाङ्मय विद्वत्वृत्ति (२०६२), कृष्णाकुमारी गुरुङ स्मृति पुरस्कार (२०६२), शिक्षा क्षेत्रमा प्रशंसनीय काम गरेबापत शिक्षा पदक तथा पुरस्कार (२०६२), भगवती बुढाथोकी स्मृति पुरस्कार (२०६४), सर्वोत्कृष्ट पुस्तक पुरस्कार (२०६४), महानगरीय प्रहरीको स्थापनामा पुर्‍याएको विशिष्ट योगदानका लागि नेपाल प्रहरी सम्मान (२०६५), दीपा–जनमत सम्मान (२०६५), सयपत्री राष्ट्रिय सम्मान (२०६७), नेपाल प्रहरीबाट सर्वोत्कृष्ट साहित्य पुरस्कार (२०६८), हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार (२०६९), नेपाली भाषा, साहित्य, समालोचना र अनुसन्धानका क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानका लागि भीमनिधि तिवारी साहित्य पुरस्कार (२०७१), अनेसास विशिष्ट सम्मान (सन् २०१५), नोबल साकोस दुर्गा–विष्णु समालोचना र साहित्य सम्मान तथा पुरस्कार (२०७४), नेपाली भाषासाहित्यको विश्वव्यापीकरण एवं मानकीकरणमा पुर्‍याएको विशिष्ट योगदानका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसीबाट २५०० अमेरिकी डलरको अनेसास राम लामा विशिष्ट प्रतिभा पुरस्कार (सन् २०१९), दुधौली प्रज्ञा सम्मान (२०७६), महाकाली साहित्य सङ्गम सम्मान (२०७६), विश्व नेपाली साहित्य महोत्सव सम्मान (२०७६) आदि पुरस्कार र सम्मानबाट पुरस्कृत एवं सम्मानित भएका छन् ।

संरचनावादी समालोचना पद्धतिको प्रवर्तन, विकास र मानक स्थापना तथा नेपाली भाषासाहित्य, नेपाली डायस्पोरिक साहित्यको विकासमा विशिष्ट योगदान पुर्‍याएबापत विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक, शैक्षिक–प्राज्ञिक एवं सामाजिक सङ्घसंस्थाहरूबाट पटकपटक सम्मानित–अभिनन्दित भएका डा. लुइटेल गौहाटी विश्वविद्यालयमा नेपाली एम.ए.को स्थापनामा विशिष्ट योगदान पु¥याएबापत त्यस क्षेत्रका विभिन्न सङ्घसंस्थाहरूबाट पटकपटक सम्मानित–अभिनन्दित भएका छन् । यिनले विभिन्न खेलवmुद, वादविवाद, वक्तृत्वकला आदिमा सर्वप्रथम भई पटकपटक पदक, पुरस्कार, प्रशंसापत्र र प्रमाणपत्र पनि प्राप्त गरेका छन् । यति भएर पनि नेपाली भाषासाहित्यका क्षेत्रमा यिनले पु¥याएको योगदानलाई हेर्दा यिनलाई प्रदान गरिएका सम्मान, पुरस्कार र अभिनन्दन न्यून नै देखिन्छन् ।

नेपाली समालोचनालाई प्रभाववादी कित्ताबाट वस्तुनिष्ठ, यथार्थपरक कित्तामा ल्याउने समालोचनात्मक श्रीवृध्दिका लागि डा. लुइटेलको अतुलनीय योगदान रहेको छ । नेपालीमा संरचनावादी समालोचनामा प्रथम विद्यावारिधि उपाधि प्राप्त गरेका लुइटेलले नेपाली समालोचनामा विश्वको आधुनिक संरचनावादी समालोचना पद्धतिको प्रवर्तन मात्र नभई यसको विकास र मानक स्थापना पनि गरेका छन् । यसमा उनको नेपाली कविताको संरचनात्मक विश्लेषण नेपाली समालोचनाको विशिष्ट उपलव्धि मानिन्छ । संरचनावादी समालोचनाको विकास र विस्तारमा उनको विशिष्ट र महत्वपूर्ण योगदान रहेको छ । यिनले थुप्रै शोधार्थीलाई संरचनावादी पद्धतिबाट शोध गराएका छन् ।

डा. लुइटेलले नेपाली समालोचनामा सांस्कृतिक र डायस्पोरिक समालोचनाको पनि प्रवर्तन गरेका छन् । अरूले नगरेका क्षेत्रमा नवीन, वस्तुगत, तथ्यगत र प्रामाणिक ढङ्गले लेख्न रुचाउने प्रा.डा. लुइटेलले नेपालीमा सर्वप्रथम डायस्पोराको सैद्धान्तिक स्वरूप तथा डायस्पोराका नेपाली साहित्यको इतिहाससम्बन्धी बृहत् आयामका छुट्टाछुट्टै कृति पनि लेखेका छन् । उनले साहित्यका सबै विधाको सैद्धान्तिक स्वरूप र नेपाली साहित्यको इतिहास नवीन, वस्तुगत, तथ्यगत र प्रामाणिक ढङ्गले लेखेका छन् । यी सबैलाई एउटै पुस्तक बनाउने हो भने महाभारत नै बन्छ ।

कृतिको वस्तुनिष्ठ ढङ्गबाट विश्लेषण गर्दै निर्णय गर्न डा.लुइटेल खप्पिस छन् । उनी समालोचनामा दरो अडान र खरो अभिव्यक्ति प्रस्तुत गर्छन् । कुनै आग्रह, पूर्वाग्रह, वाद, धारा वा कित्तामा नउभिएर आफ्ना भनाइ र निर्णयलाई निस्पक्ष रूपमा तटस्थताका साथ प्रस्तुत गर्छन् । उनले पूर्ववर्ती समालोचकहरूले प्रस्तुत गरेका विभिन्न सन्दर्भलाई प्रामाणिक रूपमा खण्डन गरी नेपाली साहित्यको इतिहासमा नयाँ वस्तुतथ्य अगि सारेर नेपाली साहित्यको इतिहास लेखनमा विशिष्ट योगदान गरेका छन् । निर्णय र अभिव्यक्तिमा प्राप्त परिपक्वता, निर्भीकता, तटस्थता, निस्पक्षता, प्रामाणिकता र आधिकारिकता डा. लुइटेलका समालोचनात्मक विशेषता हुन् ।

समसामयिक नेपाली भाषामा सरकारी निकायबाटै गरिएका आक्रमण, देखापरेका विचलन र भित्र्याइएका छाडापन वा जथाभावीपनलाई रोकथाम गरी नेपाली भाषाको मौलिकता बचाइराख्न प्रा.डा. लुइटेलले मानक नेपाली भाषा अभियान अन्तराष्ट्र्रिय सञ्जाल बनाई त्यसको संयोजक तथा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल गठन गर्दै त्यसको अध्यक्षका रूपमा नेतृत्वदायी भूमिकासमेत निर्वाह गरी भाषा बिगार्ने सरकारी निकायलाई समेत परास्त गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान, शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र, उच्चमाध्यमिक शिक्षा परिषद्, त्रिभुवन विश्वविद्यालयजस्ता सरकारी निकायबाट नेपाली भाषा संशोधनका नाममा गरिएका गलत हर्कत र गलत प्रवृत्तिको विरोध गर्दै नेपाली भाषाको संरक्षण, सम्वर्धन र जगेर्नामा समेत सबल र सशक्त अडान राखेर भाषामाथि हुने साङ्घातिक आक्रमणलाई निस्तेज पार्न उनी सफल भएका छन् । लुइटेलको यस ऐतिहासिक पहलकदमीले नेपाली भाषामाथिको आक्रमण रोकिएको छ । यो काम उनको सक्रिय नेतृत्वबाट मात्र सम्भव भएको हो,। उनले भाषा बचाउ अभियानमा निर्वाह गरेको भूमिकाको कहीँकतैबाट अवहेलना गरियो भने नेपाली भाषाभाषीमाथि नै अन्याय गरेको ठहर्छ । उनले नेपाली भाषाभाषीमाथि लगाएको यो गुन नेपाली भाषा रहुन्जेल अविस्मरणीय रहने कुरामा कुनै सन्देह छैन ।

डा.लुइटेल समालोचनाका क्षेत्रमा मात्र नभई सिर्जनाका क्षेत्रमा पनि क्रियाशील छन् । यससम्बन्धी उदाहरणका रूपमा ‘चाउरिएको जिन्दगी’(२०६७) शीर्षकको श्यामव्यङ्ग्यात्मक निबन्धसङ्ग्रह र ‘बार वर्षमा हनिमुन’(२०६७) शीर्षकको नियात्रासङ्ग्रहलाई लिन सकिन्छ । उनी नेपालीमा श्यामव्यङ्ग्यात्मक निबन्ध लेखनको प्रारम्भकर्ताका रूपमा पनि परिचित छन् । नेपालीमा श्यामव्यङ्ग्यात्मक निबन्ध लेख्ने अहिलेसम्म यिनी मात्र हुन् । यसको उदाहरण ‘चाउरिएको जिन्दगी’(२०६७) शीर्षकको श्यामव्यङ्ग्यात्मक निबन्धसङ्ग्रह हो । निबन्धबाहेक यिनका कविता र कथा विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

डा. लुइटेलको द्रष्टा र स्रष्टा दुवै व्यक्तित्व सशक्त देखिए पनि द्रष्टा व्यक्तित्वले उनको सिर्जनात्मक व्यक्तित्वलाई ओझेल पारेको देखिन्छ । यसमा उनका सिर्जनात्मक कृतिमध्येको ‘बार वर्षमा हनिमुन’(२०६७) शीर्षक नियात्रासङ्ग्रहका बारेको विश्लेषण गरी उनको नियात्राकला निरूपण गरिएको छ ।

डा. लुइटेलको ‘बार वर्षपछि हनिमुन’ नियात्रासङ्ग्रह हो । नियात्रा निबन्धकै एउटा प्रकारका रूपमा रहेको छ । आफूले देखेका, भोगेका, सुनेका, अनुभव र अनुभूति गरेका सन्दर्भसामग्रीलाई कलात्मक तरिकाले निजात्मक अभिव्यक्ति दिनु नै नियात्रा निर्मित हुनु हो । नेपाली साहित्यमा यात्रा वर्णन धेरै पहिलेदेखि नै लेखिएका थिए । यात्रा वर्णन साहित्यमा मात्र नभई इतिहासमा समेत रहेका छन् । चिनियाँ यात्री ह्वेनसाङ् र फाइयानद्वारा लिखित यात्रा वर्णनबाट नेपालको लुम्बिनी र अशोकस्तम्भका बारेमा जान्न सकिन्छ । यात्रा वर्णनमा जङ्गबहादुरको बेलायत यात्रालाई उल्लेख्य कृति मानिन्छ । समयक्रममा यात्रा वर्णनका कृतिहरू प्रकाशित हुँदै गए । यीमध्ये लैनसिँह बाङ्देलको युरोपको चिठी र स्पेनको सम्झना उल्लेख्य रहेको छ । ताना शर्माको ‘बेलाइततिर बरालिंदा’ कृतिको भूमिका लेखनका क्रममा प्राध्यापक बालकृष्ण पोख्रेलले नियात्रा शब्द प्रयोग गरेपश्चात् यात्रा वर्णनलाई नियात्रा भन्न थालिएको हो । नियात्रामा यथार्थको प्रस्तुतिसँगै कलात्मकता, काव्यात्मकता, आत्मपरकता र व्यङ्ग्यात्मकताको प्रयोग गरिएको हुन्छ । यात्रा वर्णनमा यी तत्वहरू समाविष्ट भएनन् भने ती केवल गफहरूका सँगाला मात्र बन्नपुग्छन् । नियात्रा लेखनमा हाल धेरै नेपाली लेखकहरू सक्रिय रहेको पाइन्छ र तिनका नियात्रा लेखनले नेपाली नियात्रा विकसित हुँदैछ । यसै क्रममा डा.खगेन्द्रप्रसाद लुइटेल ‘बार वर्षपछि हनिमुन’ शीर्षक नियात्रा कृति लिएर नियात्राकारका रूपमा प्रस्तुत भएका छन् । उनका स्वदेश र विदेशमा आधारित प्रशस्तै नियात्रा विभिन्न पत्रपत्रिकामा छापिएका छन् र ती बेग्लाबेग्लै पुस्तक बन्ने सङ्ख्यामा रहेका देखिन्छन् ।

‘बार वर्षपछि हनिमुन’ २०६७ सालमा पैरवी प्रकाशनले प्रकाशित गरेको कृति हो । प्रस्तुत कृतिलाई स्वराष्ट्रपरक नियात्रा र परराष्ट्रपरक नियात्रा गरी दुई खण्डमा विभाजित गरिएको छ । पहिलो खण्डको स्वराष्ट्रपरक नियात्रा मा ‘महामण्डल साहित्ययात्रा’, ‘धनगढीमा आतङ्क’, ‘तेर वर्षपछि तेरथुम टेक्दा’, ‘गोरखनाथ बाजेचाहिँ सकुशल रहेछन्, ‘चितवन, सम्मान र मकरस्नान’, ‘बार वर्षपछि हनिमुन’, वीरगन्ज दर्शन ः म्युजिकल फाउन्टेन’, ‘जन्त जानुभन्दा अन्त जानु नै राम्रो’, ‘वीरगन्जको यात्रा ः खुर्सानीको डाहा’ शीर्षकका नौवटा नियात्रा समावेश छन् । त्यसैगरी दोस्रो खण्डको मित्रराष्ट्रपरक नियात्रामा ‘गुवाहाटी यात्रामा पुत्ने छोराको करामत’, ‘गुवाहाटीमा नेपाली एम.ए.प्रारम्भ गर्दाका तितामिठा अनुभूति’, ‘नेपाली एम.ए. उद्घाटनमा गुवाहाटी जाँदा’, ‘सिलोङ्मा डायरी हराउँदा’ र ‘दक्षिणयात्रा महाजात्रा’ शीर्षकका पाँचवटा नियात्रा समाविष्ट छन् । यस खण्डका सबै नियात्रा भारतसँग सम्बद्ध छन् ।

यसरी २०४८ सालदेखि २०६८ सालसम्म विभिन्न पत्रिकामा छापिएका नियात्रालाई सङ्कलन गरेर स्वराष्ट्रपरक र मित्रराष्ट्रपरक गरी दुई भागमा विभाजन गरेर पहिलो भागमा नौवटा शीर्षक र दोस्रो भाग पाँचवटा शीर्षकमा विभाजन गरी एकसय चांैतिस पृष्ठमा पुस्तकको बिट मारिएको छ । धेरैजसो नियात्रा पत्रपत्रिकामा प्रकाशित भइसकेकालाई सङ्कलन गरी पुस्तकाकार स्वरूप दिइएको छ । हरेक नियात्राको अन्त्यमा प्रकाशनस्रोत दिइएको छ ।
डा. तारानाथ शर्माको ‘अभिव्यक्तिका जिउँदा उदाहरण डाक्टर लुइटेल’ शीर्षकको भूमिका रहेको यस कृतिमा विविध शीर्षकसँगै यात्रामा भोगेका अनुभूत गरेका अनुभूतिलाई कलात्मक रङ्गले सजाइएको छ । शीर्षकअनुसारका यात्रा वर्णनमा प्राप्त तत्व, विशेषता र सन्देशलाई यसमा कसरी उल्लेख गरिएको छ, हेरौँ–

‘महामण्डल साहित्ययात्रा’ शीर्षकको यात्रा वर्णनमा नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो स्वीकारी प्रथम गणतन्त्र दिवसको अवसर पारेर थालिएको छ । यात्रा वर्णनका क्रममा भोगेका अनुभूतिलाई मार्मिक र व्यङ्ग्यात्मक पाराले प्रस्तुत गरिएको छ । साहित्य सम्मेलनमा भाग लिन जाने साहित्यकार र कविकार्यका मनोदशालाई उतारिएको छ । अरूलाई नैतिकताको शिक्षा दिने, समयमा नै गर्नुपर्छ भनेर आदर्श छाँट्ने तर ख्यालठट्टामा नेपाली टायम भनेर आफ्नै अकर्मण्यतालाई लाज पचाएर प्रस्तुत गर्ने नेपाली साहित्यकारहरूप्रति व्यङ्ग्य गरिएको छ । नेपाली संस्कृति र संस्कारको छापले विदेशीहरूमा पनि समयानुसारी नभएको देखाई संस्कार आदानप्रदान भएको सङ्केत गराइएको छ । नेपाली सडकको दुरवस्थालाई नुवाकोट यात्राका क्रममा देखिएको सडकको अवस्था वर्णनले देखाएको छ ।

लुइटेलले नेपाली साहित्यकारहरूमा रहेको अहंलाई साहित्य सम्मेलनमा आफ्ना रचना सुनाउन हतार गर्ने तर अरूका रचना सुन्ने बेलामा हल्ला गर्ने, आफ्ना मनगढन्ते कुरामा अरूले ताली बजाउनुपर्ने तर अरूको कुरा सुन्ने, सिर्जना पढ्ने धीरता नभएका दुष्प्रवृत्ति उजागर गरी साहित्यकारलाई झटारो हानेका छन् । नुवाकोटको दरबार र नुवाकोटको ऐतिहासिक सुरक्षा व्यवस्थामा तत्कालीन सचेतता आदिका साथै दरबारमा झल्किएका चिनारीसमेतका वर्णनबाट स्पष्ट पारेका छन् । नुवाकोटभित्रको सांस्कृतिक, पर्यावरणीय र प्राकृतिक सौन्दर्य यात्रा वर्णनले समेटेको छ । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना र स्रोत औंल्याइएको महामण्डल साहित्ययात्रा महामण्डलेको जय जयकारबाट टुङ्ग्याइएको छ ।

‘धनगढीमा आतङ्क’ शीर्षक नियात्रामा सुदूरपश्चिममा आयोजित भाषिक सङ्गोष्ठीमा सहभागी हुनजाने क्रममा भोगेका अनुभूतिलाई यात्रा वर्णनमा समावेश गरिएको छ । नेपाल प्रज्ञा प्रष्ठिान र सुदूरपश्चिम साहित्य समाजद्वारा आयोजित कार्यक्रममा देखिएका दृश्य, भोगिएका अनुभूति, वरिष्ठ साहित्यकार कृष्णचन्द्रसिंह प्रधानको निधनको प्रसङ्ग देखाई ऐतिहासिक प्रमाण तिथिमितिसमेत सुरक्षित गराइएको छ । त्यसैगरी तराईको प्रचण्ड गर्मीका साथै पर्यावरणमा आउने परिवर्तनलाई पनि प्रस्तुत गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको जग्गा अतिक्रमण गरिएका प्रसङ्गद्वारा नेपाली भूमाफियाहरूको उछित्तो काढिएको छ । प्रचण्ड गर्मी र लामखुट्टेको टोकाइलाई दैनिकी बनाएका जनताको सिर्जनशीलता भ्रमण गर्नेका तुलनामा उच्च देखाइएको छ ।

नेपाली साहित्यकारहरू नेताभन्दा कम नभएका कुरा मञ्च पाए नछाड्ने तर अरूलाई भने छोटो बोल्न भन्ने प्रवृत्ति प्रस्तुत गरी साहित्यकारप्रति व्यङ्ग्य गरिएको छ । कार्यपत्र प्रस्तुत गर्ने, छलफल गर्ने आदि विभिन्न बहाना बनाई साहित्यकारहरू पनि बेलुकी हुनासाथ मादक पदार्थको सेवन गरी मस्ताराम बन्ने प्रवृत्तिलाई ‘धनगढीमा आतङ्क’ शीर्षकको नियात्रामा प्रस्तुत गरिएको छ । प्राकृतिक सुन्दरता र पर्यावरणको वर्णन गरिएको यो नियात्रा ‘हिमाली गुराँस’ पत्रिकामा २०६८ सालमा प्रकाशित भइसकेको हो ।

‘तेर वर्षपछि तेरथुम टेक्दा’ शीर्षकमा लेखकले आफ्नो जन्मभूमिप्रति अगाध माया प्रस्तुत गरेका छन् । निगात्रामा आफ्ना अनुभूतिहरूका साथ यात्राको वर्णन गरिएको छ । जन्मभुमी प्रतिको आत्मियता प्रस्तुत गरिएको यस नियात्रामा म्याङ्लुङ क्याम्पसको नेपाली शिक्षकको छनोट प्रक्रियामा सहभागी हुन नेपाल वायुसेवा निगमको जहाज हुँदै गएको कुरा उल्लेख गरेका छन् । वायुसेवाहरूमा हुने ढिलासुस्ती, गैरजिम्मेवारी सेवाका नाममा विभिन्न सेवाप्रदायक एजेन्सीहरूले गरेका ठगी, दुव्र्यवहार आदिलाई ट्याक्सीवालाको व्यवहारमार्फत प्रस्तुत गरिएको छ । तेरथुममा लिम्बूहरूको जीवनशैली, बोलीव्यवहार आदिलाई प्रस्तुत गरी सम्पूर्ण किराँतजाति अर्थात् मङ्गोलियन गैरआर्यनहरूको सहनशीलता, मित्रवत् व्यवहार र लाहुरमोहको प्रवृत्ति अत्यधिक रहेको देखाइएको छ । तेरथुममा कार्यरत सरकारी निकायका प्रमुखहरूको निकट प्रवृत्ति र सहयोगीपनको प्रशंसा गरेका छन् । सूचनाहरू भिन्नतामा सीमित रहेको, व्यवहारमा कसैले लागु नगरेकाप्रति गुनासो गरेका छन् । आफूलाई आफ्नो जन्मभूमिको गहनाको उपमा दिइएकामा प्रफुल्लित लुइटेलले जननी जन्मभूमिप्रतिको सेवाप्रवाह गर्न नसकेकामा दुखेसोसमेत व्यक्त गरेका छन् । तेरथुमको प्राकृतिक छटाको, सांस्कृतिक/साहित्यिक वर्णनका साथै जीवनशैली र वातावरणीय मोहलाई प्रस्ट्याइएको उनको यो नियात्रा ‘तीनजुरे’ पत्रिकामा २०६७ सालमा प्रकाशित भएको थियो ।

‘गोरखनाथ बाजेचाहिँ सकुशल रहेछन्’ शीर्षकमा पहिलेपहिले पनि गोरखाको भ्रमण गरे तापनि प्रस्तुत वर्णन गरिएको यात्रा विशेष रहेको बताएका छन् । गोरखा नेपालको इतिहासमा महत्वपूर्ण स्थान रहेको तथ्य प्रस्तुत गर्दै गोरखा जिल्लाको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र ऐतिहासिक सन्दर्भको सङ्गम देखाउनु नै यात्राको उद्देश्य देखिन्छ । पटकपटकका यात्राहरूमा कहिले शैक्षिक, कहिले साहित्यिक संस्थाहरूका आग्रहमा अतिथिका रूपमा भ्रमण गरेका लेखक सांस्कृतिक केन्द्र तथा गोरखा साहित्यिक मञ्चद्वारा आयोजित कार्यक्रममा भाग लिन गएका हुन् । यात्राका क्रममा बासस्थान होटलबाट साँझको सूर्यास्तको मनमोहक दृश्यले लेखकलाई प्रफुल्लित बनाएको छ । विभित्र ठाउँमा रमणीय दृश्य, मनकामना केवलकार, मलेखुलगायत ठाउँको प्राकृतिक वर्णन गरेका छन् । मनकामना मन्दिरको दर्शनमा मिलाइएको सुरक्षा प्रबन्धले लेखकलाई चित्त दुखाएको छ । प्रहरी निरीह बनेका स्थानीय जँड्याहाहरूले हैकम चलाएको, अश्लील शब्दहरूको प्रयोग आदि नकारात्मक कुराको टिप्पणी गर्दै सुधारको आवश्यकता औंल्याएका छन् । द्वन्द्वको समयमा गोरखामा निर्जीव बनेका राम शाह, पृथ्वीनारायण शाहका सालिक भत्काएर गरिएको राजनीतिप्रति व्यङ्ग्य गरेका छन् । आन्दोलन र परिवर्तनका नाममा ऐतिहासिक संरचनाको विनाश गर्नु कहाँसम्मको न्याय हो ? न्याय नपाए गोरखा जाने किम्बदन्ती बनेको गोरखामा ऐतिहासिक अन्याय हुँदा कोही बोलेका छैनन् । गोरखनाथ बाबाको दर्शन गर्न जाँदा उनको सालिक नभत्काएका राजनीतिक विद्रोहीहरूलाई व्यङ्ग्य गरी धार्मिक आस्था र गोरखनाथको महिमा गाएका छन् ।

संंविधान निर्माणपूर्वको यात्रामा लेखकले हामी सबैमा सद्बुद्वि दिउन्, संविधान चाँडै बनोस् भनी ठगेर खाने राजनीतिज्ञ र राजनैतिक प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै सत्कार्यको कामनासमेत गरेका छन् । उनले यस नियात्रामार्फत हड्ताल,घेराउ, तोड्फोड्, आतङ्कजस्ता गलत प्रवृत्तिलाई अँगालेका राजनैतिक दलप्रति कटाक्ष गर्दै सदुबुद्विको कामना गरेका छन् ।

यसबारे प्रसिद्ध समालोचक तथा नियात्राकार डा.तारानाथ शर्माको ‘देशभित्रका नियात्राहरूमा ‘गोरखनाथ बाजेचाहिँ सकुशल रहेछन्…’ शीर्षक रचना हृदय नै हल्लाउने खालको छ । के हाम्रा ऐतिहासिक स्मारकहरू आजका सिद्धान्तसँग मिलेनन् भन्दैमा भत्काइहाल्नुपर्ने र परिस्थितिसित राम्रो सामञ्जस्य गरेर बनाइएका स्मारकहरूलाई मात्र स्थान दिइनुपर्ने काम स्वीकारयोग्य छ ? इतिहासका कुरा सम्झाउन पुराना स्मारकहरू सुरक्षितै राख्नाले नै हाम्रो गौरव अविच्छिन्न रहन्छ भन्ने नियात्राकारको निष्कर्ष प्रशंसनीय मात्र होइन अनुकरणीय पनि छ ।’ भन्ने भनाइ उल्लेख्य छ । उनको यो नियात्रा ‘हिमाली गुराँस’ पत्रिकामा २०६६ सालमा प्रकाशित सिर्जना हो ।

‘चितवन, सम्मान र मकरस्नान’ शीर्षक नियात्रामा प्रत्येक दुई वर्षमा चितवन साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने सर्वोत्कृष्ट पुरस्कार–कृष्णकुमारी गुरुङ् स्मृति पुरस्कार २०६२ मा लेखकको कविताको संरचनात्मक विश्लेषण नामक कृतिलाई प्रदान गरिएकाले सो पुरस्कार ग्रहण गर्न जाँदाको यात्रा वर्णन र अनुभूतिलाई नियात्रामा वर्णन गरिएको छ । प्र.जि.अ.को साहित्य र स्रष्टाप्रतिको सम्मान एवं सत्कारबाट लेखक मन्त्रमुग्ध भएका छन् । चितवनको उत्कृष्ट गेस्टहाउसको बास, खाना र अतिथि सत्कार, बालकुमारी कलेजको कार्यक्रम, रत्ननगरको महोत्सव आदिको वर्णन यस नियात्रामा गरेको पाइन्छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक देवघाटको भ्रमणबाट कृतज्ञ बनेका लेखकले वरपरको वातावरणीय यथार्थको प्रस्तुति पनि गरेका छन् ।

संस्कृत गुरुकुलको स्थापना र मकर काव्ययामिनी महोत्सवका प्रमुख अतिथि बन्दाको संस्मरण मार्मिक पाराले वर्णन गरेका छन् । उनको वर्णनात्मक शैली, शिल्प र शब्द चयनले नियात्रा काव्यात्मक बनेको छ । धार्मिक आडम्बरलाई त्यति नमाने पनि सबैले मकरस्नान गरेको देख्दा आफू पनि स्नान गर्न बाध्य भएको बताउने लेखकले धार्मिक आस्थाको सम्मान गरेका छन् । उनको यो नियात्रा ‘मधुपर्क’ पत्रिकामा २०६६ सालमा प्रकाशित सिर्जना हो ।

‘बार वर्षपछिको हनिमुन’ शीर्षकको नियात्रा वर्णनमा नियात्राकारले चितवनकै प्राकृतिक, सांस्कृतिक र धार्मिक आस्थाको चित्रण गरेका छन् । प्रस्तुत शीर्षकमा लेखकले सपरिवार बिहेपछिको पहिलो भ्रमण र यो संयोग बार वर्षपछि गरेको तथ्य देखाएर शीर्षकको सार्थकता प्रस्तुत गरेका छन् । भ्रमणको उद्देश्य साहित्य नै रहे पनि बार वर्षपछि सपरिवार घुमेकोमा बेग्लै अनुभूति गरेका छन् ।

विजयादशमीको घटस्थापनादेखि सुरु भएको नियात्राले चितवनका विभित्र स्थानका भ्रमण गरेको छ । भ्रमणकै क्रममा व्यक्त भावनाले राष्ट्रियता र देशप्रेम छताछुल्ल भएको पाइन्छ । व्यक्तिगत भ्रमणको वर्णनमा पनि प्राप्त तत्व, शैली, सन्देशले नियात्राको महत्व प्रकाश पारेको छ । घटस्थापनाबाट सुरु भएको पारिवारिक यात्रामा धार्मिक देवीदेवताको भाकल, पूजा गर्ने प्रचलनप्रति व्यङ्ग्य गरिए पनि धार्मिक आस्थामा भने चोट पु¥याइएको छैन । छोरीको जन्मदिन समेत भ्रमण गर्ने क्रममै मनाइएको छ । चितवन सौराहामा भ्रमणका क्रममा हात्ती चढेको र जङ्गलयात्रा गरेको बताएका छन् । प्रकृतिको सुन्दरताको वर्णन पढ्दा कतैकतै देवकोटाको के नेपाल सानो छ ? निबन्धको स्मरण गराउँछ ।

वनजङ्गल फडानी गर्ने, चोरी निकासी गर्नेजस्ता गैरकानुनी कार्य नरोकिएकाप्रति लेखक दुखी मात्र भएका छैनन् उनले यस्ता प्रवृत्तिमा संलग्न व्यक्ति, संस्था र नियन्त्रण गर्न नसक्ने सरकारी निकायप्रति पनि व्यङ्ग्य गरेका छन् । गैँडाको चोरी सिकारी, नारायणीको सङ्गममा पञ्चस्नानको प्रसङ्गद्वारा सामाजिक र धार्मिक अवस्थाको चित्रण गरेका छन् । भ्रमणकै क्रममा भेटिएका विभिन्न व्यक्तिहरूको संवाद कम रोचक छैन । एउटा विदेशी लेखकले एउटा पुस्तक लेखेर विश्वभ्रमण गरेको प्रसङ्ग र आफूले एक दर्जन पुस्तक प्रकाशित गरिसक्दा पनि केही नभएको प्रसङ्ग सुनाउँदा विदेशी आश्चर्यमा परेको, विदेशीले त्यसो त आम्दानी प्रशस्त होला नि भन्दा लेखकले सबैथोक बेहोर्ने गरी निम्ता गरे भने चितवन भ्रमण गर्न पुग्ने बताउँदा हाँसो उठेको छ । यो हाँसो नेपाली स्रष्टामाथि सरोकारवाला निकायले गरेको शोषणप्रतिको हाँसो हो । नेपाली साहित्यकारको दयनीय अवस्थालाई ठट्यौली पारामा प्रस्तुत गरिएको छ । चितवन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित सीताराम कोइरालाको अनर्थ शीर्षकको कथासङ्ग्रह विमोचन कार्यक्रममा प्रमुख अतिथि बनेका लुइटेलका भनाइमा काव्यिक सुन्दरता र व्यङ्ग्यको प्रचुरता पाइन्छ । यसबारे प्रसिद्घ समालोचक तथा नियात्राकार डा.तारानाथ शर्माको ‘बार वर्षपछि हनिमुन’ शीर्षक नियात्रा पनि त्यत्तिकै मार्मिक, रोचक र हृदयस्पर्शी छ’ भन्ने भनाइ महत्वपूर्ण छ । उनको यो नियात्रा ‘मधुपर्क’ पत्रिकामा २०६३ सालमा प्रकाशित सिर्जना हो ।

‘वीरगञ्ज दर्शन: म्युजिकल फउन्टेन’ शीर्षकको नियात्रामा वीरगन्ज उपमहानगरपालिका प्रमुख विमलप्रसाद श्रीवास्तवको निमन्त्रणामा भ्रमण गर्दाका अनुभूति अभिव्यक्त गरिएका छन् । यस यात्रामा साहित्यकारहरूलाई वीरगन्जको पर्यटकीय स्थलको दर्शन गराउने उद्देश्य देखिन्छ । ध्रुवचन्द्र गौतम, युवराज नयाँघरे, ऋतुराज सुवेदीलगायतका साहित्यकारहरू यात्रामा सहभागी रहेका छन् । वीरगन्जको केन्द्रमा रहेको प्रसिद्घ होटल मकालुमा अतिथिहरूको खानपिन र बस्ने व्यवस्था मिलाइएको छ । साहित्यकार गोपाल अस्कको अगुवाइमा वीरगन्जका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू–सिम्रोनगढ, रानीबासलगायत राममन्दिरको भ्रमण गराइएको छ । गढीमाई मन्दिरमा गरिएका पूजाआजा र पशुबलिमा गढीमाई माता खुसी हुनुपर्छ भनी बलिप्रथाप्रति घुमाउरो व्यङ्ग्य गरिएको छ । वीरगन्जको घडीअर्वा पोखरीको सुन्दरता स्वर्गको भन्दा कम नभएको बताइएको छ । वीरगन्जको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई प्रस्ट्याइएको यस नियात्रामा विभिन्न क्षेत्रमा देखिएका विकृति, विसङ्गति र रूढिलाई झटारो हान्न बिर्सेका छैनन् लेखकले । लुइटेलको शैली पनि अचम्मको र अनुकरणीय छ । प्रत्येक घटनावर्णनमा व्यङ्ग्य हानिएका उनका अभिव्यक्ति खरा र दरा छन् ।

राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा साहित्यकारहरूको जुलुसले नगर परिक्रमा गरेर वीरगन्ज नगरीका साहित्यिक एवं विकाससम्बन्धी गतिविधि स्पष्ट गराएका नगरप्रमुखको अतिथि सत्कार र साहित्यप्रतिको मोह स्पष्ट देखिन्छ । वीरगन्ज नेपालको प्रमुख सहर र भारतसँगको सीमाना भएकाले केही आयातीत नगरलाई अप्रत्यक्ष प्रभाव पार्न सक्नेतर्फ पनि लेखकको चासो देखिन्छ । वीरगन्जका नगरप्रमुखको साहित्यिक र सांस्कृतिक उत्थानमा रहेको योगदानलाई उनीद्वारा पुस्तकालय, निर्माणाधीन पौडी पोखरी, लछुमन्वा पार्क, म्युजिकल फउन्टेन आदि देखाएर पुस्ट्याइँ गरिएको छ । उनको यो नियात्रा ‘गरिमा’ पत्रिकामा २०५६ सालमा प्रकाशित सिर्जना हो ।

‘जन्त जानुभन्दा अन्त जानु नै राम्रो’ शीर्षक नियात्रामा साथीको विवाहको निम्तो अस्वीकार गर्न नसकेपछि फागुन ७ मा जन्त जाँदा लेखकले भोग्नुपरेका तितामिठा अनुभूतिलाई सुन्दर शब्दले रङ्गाएका छन् । बिहेमा हिंडेका जन्तीलाई पनि अपराधी ठात्रे प्रहरीको सोच र व्यवहारबाट आजित लेखकलाई समाजमा व्याप्त विकृति र विसङ्गतिले घोचिरहन्छ । त्यसैले उनी भन्छन् – यो समाजमा जन्त जानुभन्दा अन्त जानु राम्रो । प्रस्तुत निबन्धमा प्रहरीको दुव्र्यवहार, गाडीवालाको व्यवहार, रेष्टुराँ होटेलवालाको ठगीले यात्रा यात्रा मात्र नभएर जात्रा बनेको तथ्य प्रस्तुत गरी समाजको लुटाहा प्रवृत्तिको ऐना देखाएका छन् । बिहेमा खाएको, लाएको र दुःख पाएको वर्णनमा सकिएको नियात्रा वर्णनमा उखान, टुक्का र किम्बदन्तीहरूको पनि प्रशस्तै प्रयोग भएको छ । भाग्यमा लेखिएको कुरा हुने र बेलाबखतमा विचार गर्नुपर्ने कुरालाई उनका अभिव्यक्तिले प्रस्ट्याएका छन् । संस्कृति र संस्कार निर्वाह गर्दा भोग्नुपरेका दुराचार र अत्याचारप्रति झटारो नै यस नियात्राको उद्देश्य देखिन्छ । उनको प्रस्तुत नियात्रा ‘ब्रह्मपुत्र’ पत्रिकामा २०५०–२०५१ सालमा प्रकाशित भएको हो ।

‘वीरगन्जको यात्रा: खुर्सानीको डाहा’ शीर्षकको नियात्रामा विश्वविद्यालयबाट सञ्चालित विभिन्न तहका परीक्षाको पर्यवेक्षण गर्न प्रश्नपत्रसमेत लिएर गएको सन्दर्भका साथै वीरगन्जको सामाजिक र भौगालिक आवस्थाको सुन्दर चित्रण गरिएको छ । वीरगन्जको विशेषता– गर्मी, लामखुट्टेको टोकाइ, रिक्सावालाको ठग प्रवृत्ति, बाटोमा ड्युटी गरेका प्रहरीको व्यवहार आदिलाई नियात्रामा मसला बनाइएको छ । प्रहरीको व्यवहारबाट आजित बनेका लेखकले बन्दुके, डन्ठेजस्ता शब्दावली प्रयोग गरी जनतामा छवि सुधार्न सङ्केत गरेका छन् । स्थानीय विकृति, विसङ्गतिले आउने पर्यटकका मनमा पर्ने छापलाई प्रस्ट्याउँदै खुर्सानीदेखि तर्सिएका लेखकले खुर्सानी वीरगन्जको संस्कार बनेको बताएका छन् ।

सरकारी तथा गैरसरकारी संस्थामा जिम्मेवारीहीनताको अवस्थालाई टेलिफोन इन्क्वायरीमा फोन नम्बर प्राप्त नहुनु दण्डहीनता र गैरजिम्मेवारीको पराकाष्ठा देखाएका छन् । वीरगन्जका धरोहर स्थान घण्टाघर, पोखरी र सहर आदिको वर्णनमा र विशेष गरी वीरगन्जवासीको खुर्सानीप्रेमलाई नियात्राले सामल बनाएको छ ।

लुइटेलको प्रस्तुत नियात्रा ‘जनसाहित्य’ पत्रिकामा २०४८ सालमा प्रकाशित भएको हो । यही वीरगन्जको महिमासहित स्वराष्ट्रपरक नियात्राले बिट मारेको छ ।

प्रसिद्ध समालोचक तथा नियात्राकार डा.तारानाथ शर्माको ‘हाम्रा ऐतिहासिक ऋषिमुनिहरूका गुफाहरू इत्यादि भएको भन्ठानिएको देवघाटको वर्णन होस् अथवा त्यहाँ प्राप्त सम्मान आदिको वर्णन अत्यन्त मार्मिक र दोहो¥याइरहूँजस्ता छन् । यसरी नै लेखकले विभिन्न तथ्यहरूको प्रस्तुति गरी हामीलाई एकातिर ज्ञानको ढोका उघारिदिएका छन् र उत्सुकताको मार्ग निर्माण गरिदिएका छन् भने अर्कातिर आफुले नाम सुनिरहेका तर जान नपाइएका आफ्नै स्वदेशभित्रका रमणीय स्थलहरूको हार्दिक वर्णनले यथेष्ट मनोरञ्जन दिएका छन् । ज्ञान र मनोरञ्जन एकसाथ प्रदान गर्नु यस कृतिको विशिष्ट प्रयोग हो ।’ भन्ने भनाइले लुइटेलको नियात्राकारिता स्पष्ट हुन्छ ।

दोस्रो खण्डका मित्रराष्ट्रपरक सबै नियात्रा भारतसँग सम्बद्ध छन् । यी नियात्रामा मित्रराष्ट्र भारतका विभित्र स्थानका भ्रमणलाई समेटिएको विशेष गरी शैक्षिक र साहित्यिक कार्यक्रमको उद्देश्य रहेको यस खण्डमा प्रकृतिवर्णन, भाषा, साहित्य र सांस्कृतिक मोहलाई नेपालप्रति र नेपाली भाषाप्रतिको दृष्टिकोण प्रस्ट्याउनु नियात्राको उद्देश्य देखिन्छ ।

‘गुवाहाटी यात्रामा पुत्ने छोराको करामत’ शीर्षकको नियात्राबाट दोस्रो खण्डको मित्रराष्ट्रपरक नियात्रा आरम्भ गरिएको छ । गुवाहाटी विश्वविद्यालयबाट नेपाली स्नातकोत्तर कार्यक्रमको प्रारम्भसम्बन्धी गोष्ठीमा विशेषज्ञका रूपमा आमन्त्रण गरेकाले सो जिम्मेवारी पूरा गर्न लेखकले गरेका क्रियाकलाप, भ्रमण गरेका स्थान र प्राप्त सहयोग एवं सद्भावलाई नियात्राको विषयवस्तु प्रस्ट्याउने सामल बनाएका छन् । प्लेनबाट भद्रपुर हुँदै ट्रेन प्रयोग गरी गुवाहाटी पुगेका उनी आफूले प्लेन र ट्रेनका कर्मचारीको व्यवहार भोगेका र अनुभूति गरेका छर्लङ्ग्याएका छन् । सिलगुढीको आर्किड होटलमा भएको खानपिन, सुपरमार्केटको अवलोकन, गुवाहाटी युभिर्सिटीबारे र प्रसिद्घ मन्दिर कामाख्याको दर्शन र आस्थाबारे प्रस्ट्याएका छन् । विश्वविद्यायलको कार्यक्रम आफूसहित डाइरेक्टर डा.कन्दर्प दास, गोपीनारायण, लीलबहादुर क्षेत्री, राजेन्द्र भण्डारीलगायत थुप्रै व्यक्तिहरूको सहभागितामा सम्पत्र भएको तथ्य प्रस्तुत गरेका छन् । धार्मिक यात्रासहित ब्रह्मपुत्र तरेको र उमानन्दको दर्शन गरेको साथै दार्जिलिङ्को प्राकृतिक सुन्दरताको वर्णन गरिएको नियात्रामा दार्जिलिङबासीको कथ्य भाषा र नेपाली भाषाप्रेम, प्राकृतिक सुन्दरता नियात्राले अँगालेको छ । उनको यो नियात्रा ‘प्रहरी’ पत्रिकामा २०६७ सालमा प्रकाशित भएको हो ।

‘गुवाहाटीमा नेपाली एम.ए र तितामिठा अनुभूति’ शीर्षकको नियात्रामा दोस्रो पटकको यात्रामा गुवाहाटी विश्वविद्यालयले नेपाली एम.ए कार्यक्रमको स्पेसल कोर्स एड्भाइजर बनाई पाठ्यक्रम र पाठ्यसामग्री तयार गर्ने जिम्मेवारी दिएकाले सो जिम्मेवारी निर्वाह गर्न गुवाहाटी पुगेको बताएका छन् । जेठ २५ गते बुद्घ एयरको उडानबाट भद्रपुर हुँदै स्पाइस जेटको उडानद्वारा गन्तव्य पुगेका लेखकलाई त्यहाँका सुरक्षाकर्मीलगायतले गरेको सम्मानले प्र्रफुल्लित भएका छन् । गाईले प्रोटोकल थाहा नपाएर बीचमा आएको हुँदा डन्ठेको जागिर उडाएकोजस्ता रोचक प्रसङ्ग प्रस्तुत गरेका छन् । आफूले तयार गरेका सामग्रीहरूको फन्ट नमिल्ने हुँदा गाह्रो हुने बताएका आयोजकलाई लेखकले समस्या समाधान गरिदिएर मन जितेका छन् । लाटो देशको गाँडो तत्रेरी बताउने लेखक साहित्य, भाषामात्र नभएर डिजाइनर, आर्किटेक्ट साथै कम्पुटरमा समेत दखल राख्छन् । एम.ए कार्यक्रमका अभियन्ता प्रा.डा. हेमचन्द्र गौतम र नव सापकोटाले ब्रह्मपुत्रको सराइघाट पुल र मुगल सम्राट्का किम्बदन्ती सुनाएका छन् । गुवाहाटीमा महाकवि देवकोटाको सालिकको प्रसङ्ग देखाई स्थानीयको भाषासाहित्यप्रतिको सम्मान प्रस्ट्याएका छन् । विभित्र विद्वान्हरूको सहभागितामा लेखकलाई गरिएको विशिष्ट सम्मानका दृश्यको चित्रणले नेपालीप्रतिको माया र सम्मानलाई पुष्टि गर्दछ । एम.ए नेपाली स्थापनाका लागि असमबासी नेपालीले उनलाई महानायकको अवतार ठानेका छन् । टि.यु र जि.यु दुवैको आग्रह गरेका आयोजकहरूले लेखकको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भाषा, साहित्य, सस्ंकृति, सम्मान आदिको वर्णनका साथै केही ठट्यौली प्रस्तुत गर्दै बिट मारिएको उनको यो नियात्रा ‘प्रहरी’ पत्रिकामा २०६८ साल साउनमा प्रकाशित भएको हो ।

‘नेपाली एम.ए उद्घाटनमा गुवाहाटी जाँदा’ शीर्षकको यात्रा वृतान्त मित्रराष्ट्रपरक यात्राअन्तर्गतको सोही स्थानमा भएको तेस्रो भ्रमण हो । डा. कन्दर्प दासको आग्रहमा पुस महिनाको चिसोमा यात्राको तय गरिएको छ । एम.ए कार्यक्रमको उद्घाटनमा लुइटेलका कार्यको निकै प्रशंसा गरिएको र ११ वटा पुस्तकमा स्पेसल कोर्स एड्भाइजर उल्लेख गरिएको पाउँदा नाम र दाम दुवै पाएर लेखक प्रफुल्लित छन् । पुस २४ गते सम्मानित लेखकको जन्मदिन पुस २५ गते हो भत्रे खबर छोरीबाट प्राप्त गर्छन् । २६ गते समापन हुने कार्यक्रममा डा.कन्दर्प दासले लेखकको प्रशंसा गरेका छन् भने लेखकले पनि कन्दर्प दासको अधिकांश ठाउँमा मुक्तकण्ठले प्रशंसा गरेको देखिन्छ । पारिवारिक भेटघाट, पर्यटकीय भ्रमण, सम्मान, उद्घाटन, समापन आदि कार्यक्रममा सहभागिताको वर्णन गरिएको यात्रा विवरणमा गुप्तेश्वर महादेव, तेजपुर र दरङ कलेजको उद्घाटनको पनि वर्णन छ । भेटमा सरिक व्यक्तिहरूका अभिव्यक्ति, आनिबानी, सम्मानमा शब्द वृष्टि गरेका लुइटेल डिग्री कलेज पुगेका बेला भारतीय नेपाली साहित्य नामक पुस्तक उपहार ग्रहण गर्छन् । भारतमा नेपाली संस्कृति जीवित देखेका लेखकले गाउँले जनजीवन, विभित्र नाट्यमण्डली, स्वागतका तारवादक, प्लेन बागडुग्रा ल्यान्ड, मेची क्याम्पसलगायतका प्राकृतिक वर्णन र सम्मानका वर्णन गरेका छन् । प्रस्तुत नियात्रा ‘रचना’ पत्रिकामा २०६८ सालमा प्रकाशित छ ।

‘सिलोङमा डायरी हराउँदा’ शीर्षकको नियात्रामा गुवाहाटीबाटै सिलोङको यात्रा तय गरिएको छ र सो कार्यक्रम पूर्वनिर्धारित भएको कुरा लेखकले आफ्नो यात्रा विवरणमा बताएका छन् । विभित्र व्यक्तिहरूसँग भेटघाट गरेका लेखक टेकनारायण, छोरा अनुप र ससुरासहित डनबस्को म्युजियमतर्फ अगि बढेका छन् । फुच्चेलाई डायरी दिएर निस्फिक्री बनेका लेखकले मानवीय कमजोरी देखाएका छन् । सम्झँदै, सोधखोज गर्दै जाँदा पसलमा छुटेको कुरा पत्ता लगाएर लेखकले लेखनमा आरोहअवरोह खडा गरेका छन् । कहिले भेटिएको खबर दिएन, कहिले बङ्गाली भाषाको भन्छन् । अन्ततोगत्वा उत्सुकताका साथ त्यहाँका मानिसको इमानदारी र सहयोगीपनका कारण आफ्नो अमूल्य डायरी फेलापरेको तथ्य प्रस्तुत गरेका छन् । त्यहाँका वरिष्ठ व्यक्तित्व डा.अरूणालगायतका पाहुनाको सहयोग र सद्भाव सराहनीय छ । मेघालय र मिजोरम बोर्डबाट स्वीकृति प्राप्त संस्थाले कार्यक्रम आयोजना गरेको, डि.बि गुरुङ् आउन ढिला गरेको प्रसङ्ग वर्णनबाट नेपालीहरू नियमित नभएको देखाइएको छ । भाषामा ह्रस्व दीर्घ जे लेखे पनि हुन्छ भनी बताउने विद्वान्हरूलाई सामान्य ज्ञान पनि नभएको सङ्केत गरिएको छ ।

सिलोङ् बसाइका क्रमका अनुभूति, प्राकृतिक रमणीय स्थलको वर्णन र मानवीय सदाचारले भरिएको नियात्राको विवरण डायरी हराउँदा र भेट्टाउँदाको सेरोफेरोमा टुङ्गिएको छ । विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँ भारतको चेरापुन्जी हो भनी पढेका लेखकले त्यहाँ जाँदा पानी परेको पाउन नसक्दा जलवायु परिवर्तन र मौसम परिवर्तनका तथ्यहरू देखाएका छन् । सात राज्यलाई बहिनी र सिक्किमलाई भाइ ठान्ने चलनको उजागर गरेका लेखकले गुवाहाटीकै भ्रमणका क्रममा केही समय निकालेर गरेको भ्रमण स्मरणीय रहेको बताएका छन् । उनको यो नियात्रा ‘प्रहरी’ पत्रिकामा २०६८ साल असारमा प्रकाशित भएको हो ।

‘दक्षिण यात्रा: महाजात्रा’ शीर्षकको नियात्रा दक्षिण भारतको भ्रमणमा केन्द्रित छ । यस सामूहिक यात्राका रिजर्भेसनको जिम्मा कल्याणले लिएको बताएका छन् । असोज महिनामा भैरहवा हुँदै यात्राका क्रममा राजु भुसालको टिमले कुरिरहेको र उक्त टिममा एकाईसजना भएकाले सामूहिक यात्रा स्पष्ट भएको छ । दुईवटा जिप रिजर्भ गरेर सनसेट हुँदै गोरखपुर पुगेको वर्णन गरेका छन् । यात्राका क्रममा प्राकृतिक छटा, गोही, सर्प, धार्मिक मन्दिर आदिको वर्णन भएको भेटिन्छ । रेलयात्रा, प्लेनयात्रा, बसयात्रा, होटल बसाइ, फोटो खिचाइ आदि कुराले धेरै ठाउँमा चर्चा पाएका छन् । औद्योगिक क्षेत्रहरू सङ्ग्रहालयहरू आदिका वर्णन गरिएका छन् । अङ्ग्रेजले बनाएका सिसमहल, म्युजियमहरू, रेसम र चन्दननगर बगैँचाको सुन्दरता, सफायान, तालतलैया, पार्टीप्यालेस आदि हेर्दै वृन्दावन गार्डेन अवलोकन गरेका लेखकले आफ्ना लेखनशैली र प्रस्तुतिमा पाठक आफैँ घुमेको अनुभूति गराउन सफल भएका छन् । बक्र धागोले बनाएका बगैँचा, पानीविहीन वाटरट्याङ्क दरबार, पुराना पेन्टिङ्, मूर्ति, गान्धी मेमोरियल म्युजियम, ढुङ्गाका कलाकृति, सामुद्री किनाराबाट देखिने सूर्योदय, १३३ फिटको सालिक, ढुङ्गे खम्बा, केरलाको राजधानीलगायतको भ्रमण गरी राप्ती सागर रेल चढेर फर्केका छन् । तीर्थयात्री, साहित्ययात्री, पर्यटक, लेखक आदिका भूमिका उनले नियात्रामार्फत पूरा गरेका छन् । उनको यो नियात्रा ‘प्रहरी’ पत्रिकामा २०६७ सालमा प्रकाशित भएको हो ।

प्रसिद्ध समालोचक तथा नियात्राकार डा.तारानाथ शर्माको ‘अभिव्यक्तिका जिउँदा उदाहरण डा.लुइटेल’ शीर्षकको भूमिकामा लेखिएको निम्नलिखित भनाइले लुइटेलका नियात्राकारिताको ओझ झल्कन्छ:

‘दक्षिण यात्रा: महाजात्रा’ शीर्षक यात्रात्मक निबन्धमा होस् अथवा ‘सिलोङमा डायरी हराउँदा…’ मा होस् विभिन्न मन्दिरहरूको वर्णनमा अथवा आफ्नो दैनिकी हराउँदाको पीडामा होस्, लेखक छट्पटाउँदा वा लेखक भावविह्वल हुंदा पाठक आफैंले स्वयं अनुभूति गरेको अत्यासलाग्दो र रमाइलो अनुभूति आफैंले गरेजस्तो हुन्छ । पानीविहीन काकाकुले काठमाड्यौलीहरूलाई भारतको पानीविहीन पोखरीले व्यङ्ग्य गर्न खोजेको, क्यामरा वर्जित कलात्मक केन्द्रहरू सम्झनैमा मात्र सीमित गरी घुमिएको वर्णन वास्तविकताको अत्यन्त निकट छ ।

पहिलेपहिले हामी नेपालीहरू देश छोडेर काम र मामको खोजमा नजिकैका मुलुकहरूमा भौतारिन्थ्यौँ । हाम्रा धेरै देशवासीले ती मुलुकहरूमा गएर अत्यन्त परिश्रमसाथ आफुलाई स्थापित गर्न कैयौँ पुस्ताको त्याग गरे । आज हामी असम, मेघालय, सिक्किम, दार्जिलिङ तथा म्यान्मा जहाँजहाँ हाम्रा बन्धुजन कष्टसाथ पुस्तापुस्ता डटेर रहे आज तीती ठाउँहरूमा उनीहरूले आफ्नो संस्कृति, आफ्नो संस्कार र आफ्नो भाषालाई जोगाइ मात्र राखेनन् तिनको विकासमा महान् योगदानहरू पनि गर्दै गए । त्यसै योगदानको फलस्वरूप आज विश्वको गौरव भएर नेपाली भाषा र साहित्यका उच्च शिक्षण संस्थाहरू ती स्थलहरूमा जगमगाइरहेका छन् । ती उच्च शिक्षण संस्थामा पाठ्यक्रम तथा पाठ्यसामग्री निर्माण गर्दाका सबै पक्षको व्याख्या निकटबाट रही र अध्ययन गरी निस्वार्थतासाथ गर्ने यो ग्रन्थ साँच्चै नै हामी सबै नेपाली जातिका लागि पठनीय मात्र होइन सधैँ स्वीकारयोग्य पनि भएको छ । लेखकले त्यहाँ नेपाली भाषा र जातिका लागि निस्वार्थ ढङ्गले गरेका कार्य र प्राप्त गरेका सम्मान सिङ्गो नेपाली जातिले नै गौरव गर्नुपर्ने खालका छन् ।

यस नियात्रासंग्रहका प्रथम खण्डका स्वराष्ट्रपरक नियात्रामा उत्कृष्ट व्यङ्ग्यात्मक ढङ्गले सन्देशमूलक कुराहरूको प्रस्तुति गरिएको पाइन्छ भने दोस्रो खण्डका मित्रराष्ट्रपरक नियात्रामा व्यङ्ग्यात्मकभन्दा बढी यथार्थमूलक प्रस्तुति गरिएको पाइन्छ । स्वराष्ट्रपरक नियात्रामा श्यामव्यङ्ग्यात्मक प्रस्तुति र मित्रराष्ट्रपरक नियात्रामा व्यङ्ग्य गर्नुभन्दा यथार्थ चित्रण गर्नु लेखकीय अभीष्ट रहेको देखिन्छ ।

प्रसिद्ध समालोचक तथा नियात्राकार डा.तारानाथ शर्माको ‘यसमा देशभित्र र निकट छिमेकी मुलुकभित्रका भ्रमणहरूको निजात्मक वर्णन पाइन्छ तापनि लेखक सँगसँगै लेखकलाई भुलेर हामी पाठकहरू स्वयं नै यो यात्रा गरिरहेका छौँ कि जस्तो प्रतीत हुन्छ तर जहाँ गए पनि, जे गरे पनि र जसलाई भेटे पनि नियात्राकारको हृदयमा नेपाल र नेपालीकै स्वकीय चेतना भुलभुलिएको छ’ भन्ने भनाइले डा. लुइटेलको नियात्राकारितामा पाइने राष्ट्रवादी चिन्तनलाई थप स्पष्ट पारेको छ ।

डा. लुइटेलको ‘बार वर्षपछि हनिमुन’ भित्र नियाल्दा पहिलो स्वराष्ट्रपरक नियात्रामा देशका सामाजिक, आर्थिक,राजनीतिक विकृति, विसङ्गतिप्रति व्यङ्ग्य गरिएको छ । सरकारी तथा गैरसरकारी संस्थामा भएका दण्डहीनता, जिम्मेवरीप्रतिको उदासीनता, विभिन्न सेवाप्रदायक संस्था एवं व्यक्तिहरूले गर्ने लुटतन्त्र, अव्यवस्था, लापर्वाहीहरूप्रति प्रहार गरेका छन् । धर्म, संस्कृति, भाषा, आस्था आदिको प्रशंसा र प्रकृतिको सुन्दरताको वर्णन मनमुग्ध पार्ने गरी गरेका छन् ।

यस कृतिका सम्बन्धमा प्रसिद्घ समालोचक तथा नियात्राकार डा.तारानाथ शर्माको ‘अभिव्यक्तिका जिउँदा उदाहरण डा.लुइटेल’ शीर्षकको भूमिकामा लेखिएको निम्नलिखित भनाइ राख्नु सान्दर्भिक हुनजान्छ:

आफ्नो पुण्य जन्मस्थल तेह्रथुमको विकट प्राकृतिक सौन्दर्य र स्नेहले पूर्ण स्थलको भावनात्मक वृत्तान्तका साथै नेपाली पुगेका अनेकौँ गाउँ, सहर र बस्तीबस्तीमा पुर्‍याएर लेखकले आफ्नोपनाप्रति ठूलो आदर देखाई हामीमा नेपालीत्वको गौरव अनुभूति गर्ने र गर्न पाउने अवसर यस ग्रन्थबाट दिएका छन् । यस प्रकारका कृति नेपालीमा कमै लेखिएका छन् ।

डा. लुइटेलको यो नियात्रात्मक स्वर समस्त नेपाली संसारलाई नै जुरुक्क उचाल्दै साहित्यिक यात्रामा लाग्ने अजस्र प्रेरणाको स्रोत बनिरहेको छ । यो प्रेरणा, यो प्रोत्साहन र यो सन्देशबाहक अभिव्यक्ति एकातिर मधुमासमा मात्र सीमित नभई साहित्यिक, भाषिक, सांस्कृतिक तथा जातीय जागरणतर्पmसमेत सहर्ष र सगर्व उन्मुख भएको छ । लेखक जहाँ पुगे पनि, जहाँ बसे पनि र जहाँ भावनामा आलोडित भएर गदगद भए पनि आपूmलाई नेपालीत्वमा छताछुल्ल पार्दै प्रगतितिर लम्किरहेको देख्दा एकएक शब्द र एकएक वाक्य पढिरहुँजस्ता, आत्मसात् गरिरहूँजस्ता र प्रशंसा गरिरहूँजस्ता रूपले प्रकट भएका छन् ।

समाजलाई अस्वस्थ तथा भ्रष्ट तुल्याउने अनेकौँ स्वार्थी तत्वहरूको खोइरो खन्न तथा व्यङ्ग्यका मुड्कीहरूले तिनलाई थिलथिलो पार्न नियात्राकार डा.खगेन्द्रप्रसाद लुइटेलका यी नियात्राहरू पूरै सफल भएका छन् । प्रशंसा गर्नुपर्ने ठाउँमा खुला हृदयले समर्थन गर्ने अनि असामाजिक कुचक्रको भण्डाफोर निर्भीकतापूर्वक गर्ने यो लुइटेलीय शैली मापाको छ, प्रशंसनीय छ । अनेक प्रकारको प्रयोग पाइने यस सङ्ग्रहमा सङ्कलित सबै रचना उत्तिकै सशक्त र स्तरीय भएकाले यो नेपालीकै उत्कृष्ट नियात्रा सङ्ग्रह हो । यसको जति प्रशंसा गरे पनि कमै हुन्छ ।

वरिष्ठ समालोचक तथा नियात्राकार डा.तारानाथ शर्माले भूमिकामा उल्लेख गरेका उल्लिखित कुराबाटै डा. लुइटेलको नियात्राकला कति सशक्त छ भन्ने कुरा स्पष्ट हुन्छ ।

यसरी लुइटेलको नियात्राले समाज दर्पण, मार्गनिर्देशन एवं व्यङ्ग्यको चटनी चटाउँदै आफैँ घुमेको अनुभूति दिलाउँछ । मानक र कथ्य भाषाको मिठास, कुतूहलता, कलात्मक व्यङ्ग्य, ठट्टा र उखान, टुक्काको प्रयोग नियात्राका विशेषता हुन् । यिनका नियात्रामा यथार्थको प्रस्तुतिसँगै कलात्मकता, काव्यात्मकता, आत्मपरकता र व्यङ्ग्यात्मकताको सशक्त प्रयोग पाइन्छ ।

नेपाली साहित्यका समालोचना क्षेत्रका विशिष्ट व्यक्तित्व, वस्तुपरक समालोचनाका प्रखर व्यक्तित्व, नेपाली भाषाका भाषाविद्, समालोचना, विवेचना, भूमिका, सम्पादन, शोध आदिका ज्ञाता÷प्रणेता डा. लुइटेलका साहित्यका स्रष्टा र द्रष्टा दुवै पाटालाई नियाल्ने हो भने द्रष्टा व्यक्तित्वले स्रष्टा व्यक्तित्वलाई ओझेलमा पारेको छ ।

समग्र कृतिलाई नियाल्दा लुइटेलका नियात्रामा भाषाप्रेम, प्रकृतिप्रेम, संस्कृतिप्रेम, मानवीयप्रेमको सम्मिलन पाइन्छ । प्रशासनिक ढिलासुस्ती, गैरजिम्वेवारी, दण्डहीनता, व्यापारीहरूका शोषण, अराजकता, साहित्यकारहरूको मपाइँत्व आदि स्पष्ट रूपमा अभिव्यक्त भएको देखिन्छ । प्रथम र तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएका यिनका नियात्रामा सरल भाषा प्रवाहशील रूपमा बगेको पाइन्छ । नियात्राकार लुइटेलकाजस्तो भाषिक सरलता र प्रवाहमयता अन्य नियात्राकारका नियात्रामा कमै पाइन्छ । यो नियात्रा सङ्ग्रह सहज पठनीय, सङ्ग्रहणीय र उल्लेखनीय छ । यस सङ्ग्रहमा सङ्कलित नियात्रामा एकातिर समालोचक लुइटेलको प्रभाव देखिन्छ भने अर्कातिर सशक्त हास्यव्यङ्ग्यकार स्पष्ट रूपमा बोलिरहेको आभास पाइन्छ । नेपाली नियात्राकारहरूमा हास्यव्यङ्ग्यको प्रयोग यिनका नियात्रामा मात्र पाइन्छ । यो कृति उनको मात्र नभएर नेपाली नियात्रा क्षेत्रकै बेजोडा प्राप्ति हो । यस कृतिलाई नेपालीकै उत्कृष्ट हास्यव्यङ्ग्यात्मक नियात्रासङ्ग्रह मान्न सकिन्छ । समग्रमा उनको प्रखर र विशिष्ट समालोचक व्यक्तित्वको अगाडि नियात्राकार व्यक्तित्व केही फिका प्रतीत हुन्छ । वास्तवमा यो कृति नेपाली नियात्राका क्षेत्रमा विशिष्ट उपलब्धि हो ।