गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि फागुन ९ गते विमान अवतरण गर्ने गरी तयारी गरिएको छ । आइसिबी टु अन्तर्गतको निर्माण कम्पनी एरोथाइले फागुन ९ गते क्यालिब्रेसन फ्लाइटको मिति तय भएको जानकारी गराएको छ । क्यालिब्रेसन फ्लाइटको मिति तय भएपछि विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउण्डको परीक्षणको लागि तीन चार दिनयता एरोथाइका प्राविधिकहरू लागिपरेका छन् ।
विमानस्थल निरीक्षणको लागि पुग्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई विमानस्थलको अवस्थाबारे एरोथाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले जानकारी गराउनुभएको हो । उहाँले मौसम अनुकूल भए क्यालिब्रेसन फ्लाइटका लागि फेब्रुअरी २१ अर्थात फागुन ९ गते तारिखमा थाइल्याण्डदेखि जहाज ल्याण्ड गर्ने जानकारी दिनुभएको हो । श्रेष्ठले तीन वर्षको भैरहवाको मौसमलाई अध्ययन गर्दा भिओएफआरमा जहाज उड्न मिल्ने भएकोले मौसम नबिग्रिए फागुन ९ गते जहाज ल्याण्ड गर्ने जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार क्यालिब्रेसन फ्लाइटका लागि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ। अहिले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा परीक्षण उडान सञ्चालन तयारीका लागि आएको थाइल्याण्डको प्राविधिक टिमले विमानस्थलमा जडान गरिएका उपकरण, विमानस्थलको ग्राउण्ड तथा यहाँको पछिल्लो तीन वर्षको मौसमको अवस्था अध्ययन गरिरहेको छ।
क्यालिब्रेसन फ्लाइट विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने विधि हो। यसका लागि पाँच/सात सिट भएको विमानले विमानस्थललाई केन्द्रित गरी उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेसन लगायतका सूचना ठीक छ छैन भनी परीक्षण गरिन्छ। क्यालिब्रेसन फ्लाइटमा सबै सिग्नल र सूचना सही देखिएपछि मात्रै अरू जहाजको उडान र अवतरण सुरू गरिन्छ।
क्यालिब्रेसन फ्लाइटका लागि बनाइएको योजना अन्तर्गत विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणहरूको जाँच गरिने, क्यालिब्रेसन फ्लाइट सुरू गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रूटको जाँच, उडान र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षण हुनेछ।
अनुगमनको क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निर्माण कार्य सम्पन्न भए पनि मौसम अनुकूल नभएका कारण परीक्षण उडानमा ढिलाइ भइरहेको भन्दै मौसम अनुकूल हुने वित्तिकै परीक्षण उडान गरिने बताउनुभयो । उहाँले आगामी बुद्धजयन्ती सम्ममा विमानस्थल सञ्चालनमा आइसक्ने गरी काम गर्न निर्देशन समेत दिनुभयो ।