अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 20:53

खोप चिस्यान प्रणाली सुधारका लागि नेपाललाई जापान सरकारकाे सहयाेग

बिआरटीनेपाल २०७८ माघ १७ गते ६:०० मा प्रकाशित

जापान सरकारले संयुक्त राष्ट्र सङ्घीय बाल कोष (यूनिसेफ) मार्फत नेपाललाई खोप चिस्यान प्रणाली सुधारका लागि विभिन्न सामग्री सहयोग गरेको छ ।  यूनिसेफले नेपाललाई नौ वटा उच्च क्षमताका कुलर, सोलारबाट चल्ने ३८ वटा खोप रेफ्रिजेरेटर, लामो दुरीमा खोप बोक्न प्रयोग हुने ११ सय नौ वटा खोप बक्स र ५३ वटा खोप बक्स नेपाल सरकारलाई प्रदान गरेको हो । प्रदान गरिएका सामग्रीले नेपालमा कोरोनाविरुद्धको खोपको गति बढाउन सहयोग पुग्ने यूनिसेफले जनाएको छ ।

यी सामाग्री गएकाे वर्षदेखि नै नेपाललाई प्रदान गर्न सुरु गरिएको र हिजो आइतवार पूरा भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाललाई प्रदान गरेका सामग्रीको सञ्चालन र मर्मत पनि यूनिसेफले नै गरिदिनेछ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले कोरोनाको तेस्रो लहर फैलिएको यो समयमा नेपाललाई प्रदान गरिएका सामग्रीले महामारी रोकथाम तथा खोपको भण्डारण र वितरण क्षमतामा व्यापक सकारात्मक नतिजा दिन सक्ने बताउनुभयो ।

नेपाललाई प्रदान गरिएका वाक इन कुलर यातायातको माध्यमबाट सजिलै अर्को ठाउँमा लैजान सकिने र बिजुली नभएको ठाउँमा सोलार रेफ्रिजेरेटरको सहायताले खोप भण्डारण गर्न सकिने हुँदा सहज हुने र खोपको पर्खाइमा रहेका नागरिकसम्म खोप पुर्‍याउन सहज हुने पनि राजदूत किकुताले बताउनुभएको छ ।  जापान सरकारले कोरोनाविरुद्ध लड्न नेपाललाई खोप, एम्बुलेन्स, विभिन्न चिकित्सा सामग्री र १० अर्ब रुपैयाँभन्दा धेरै सहुलियत ऋण पनि दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू