अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 10:26

ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने, घिमिरेले गर्दैछन् निर्देशन

बिआरटीनेपाल २०७८ माघ १५ गते ९:३५ मा प्रकाशित

काठमाडौँ निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ ।
विसं १९२४ ताका गोर्खाली र अङ्ग्रेजी फौजबिच सिन्धुलीको सिन्धुलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखमा निर्देशक घिमिरेले पटकथा संवाद तयार गरेका छन् । उक्त चलचित्रका लागि चलचित्र विकास बोर्डबाट प्रतिलिपि अधिकार र छायाङ्कन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले बताए ।चलचित्र सास इन्टरटेन्मेन्ट सिनेमा प्रालीको ब्यानरमा निर्माण हुनेछ ।

सास अधिकारीले निर्माण गर्ने चलचित्रको छायाङ्कन सिन्धुली, काभ्रे र काठमाडौँमा हुने जनाइएको छ । निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर चलचित्रको मस्यौदा तयार पारेको र त्यसलाई निर्माता अधिकारीले निर्माण गर्न लागेको जानकारी दिए । युद्धको कथालाई सिन्धुलीगढीमार्फत वाचन गरी वीरताको गाथा संसारलाई सुनाउन पाउँदा गौरवान्वित भएको र जीवन्त कार्य गर्न पाउँदा सारै हर्षित भएको अधिकारीले बताए । उनले चलचित्रलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने बताएका छन् । चलचित्रको पोस्ट प्रोडक्सनको काम भारतको मुम्बईमा हुनेछ ।

निर्माता अधिकारीले चलचित्रलाई हिन्दी र अङ्ग्रेजी भाषामा स्वराङ्कन गरिने जानकारी दिए । चलचित्रका लागि मुख्य कलाकारमा मनोज भेटवाल, डिरेक्टर फ फोटोग्राफी हेडमा युवराज राई र बाँकी कलाकार अडिसनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताइएको छ । विदेश व्यवस्थापनमा शुक्र राई र भारतीय व्यवस्थापनमा उपहार लामिछाने रहेका छन् भने युरोप अमेरिकामा निर्माता स्वयम्ले जिम्मेवारी लिएको चलचित्रको निर्माण टिमले कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायाङ्कन सुरु गर्ने तयारी गरेको छ । निर्माता अधिकारी लामो समय युरोप र अमेरिकाको बसाइपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ नेपाल फर्केका हुन् । उनी यही चलचित्रबाट निर्माताको रूपमा डेब्यु गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू