बाँझो धर्ती मल जल कला उर्वरा शक्ति फाँट
तिम्रै आँखा हरदम नयाँ हेर्दछन् भित्रबाट
गर्छौ यात्रा रविकिरण भै लेक बेँसी गरामा
बाल्छौ बत्ती अनुपम नयाँ शैलका कन्दरामा ।१।
तिम्रै स्वप्ना करकमलमा खुल्छ नौलो वसन्त
तिम्रै आँखा अमर पथ जो ग्रीष्ममा हुन्न अस्त
खुल्छन् फुल्छन् कहर पथमै माथ तिम्रा पवित्र
माया तिम्रै युवक दिलमा देश सिङ्गै छ भित्र ।२।
आँखा चिम्ले युवकहरू ए ! देशको सान झुक्छ
आँखा खोले युगयुग नयाँ चेतना सल्बलिन्छ
स्रष्टा आफैँ कर युगल हौ ज्ञानका मूल केन्द्र
ह्यूँचूली हौ सरस रसले सेच आफ्नै समुद्र ।३।
हट्दै कोलाहल रुधिरको पाशवी मार्गबाट
मान्छे जन्म्यो अमर सपना ज्ञान तिम्रै विवेक
तन्देरी हे ! थकित उनको बोक भारी गरुङ्गो
बन्दै जाऊ शिशिर ऋतुमा ज्ञान बल्दो फिलिङ्गो ।४।
अन्धो आँखा युगयुग नयाँ दृष्टिले जो छ शून्य
आफैँ आफ्नो रसमय कला चिन्न सक्दैन मूल्य
तन्देरीको सबल बलको बिन्दुमा सिन्धु हुन्छ
माटो बाटो सृजन दिलमा खुल्छ फुल्दै रहन्छ ।५।
कालो मैलो तिमिर जगमा डाक नौलो बिहानी
काँडाभित्रै पनि कुसुमको बोक त्यो जिन्दगानी
रोप्तै जाऊ अमर पथ त्यो बीज बारी र खेत
स्रष्टा शिल्पी युवकहरू हो ! शान्तिका अग्रदूत ।६।
————————————-
गोरखा, लप्सीबोट ; हाल: काठमाडौँ – ६, सरस्वतीनगर ।