संयुक्त राष्ट्रसंघ, मानव अधिकार कार्यालयले इथियोपियाको टिग्रे क्षेत्रमा भएको हवाइ हमलाको निन्दा गरेको छ ।इथियोपियन वायुसेनाले कथित रूपमा गरिएको हमलामा जनवरीको सुरुदेखि हालसम्म कम्तिमा १ सय ८ नागरिक मारिएको दाबी गरेको छ । हमलामा ७५ जना नागरिक घाइते भएका छन् ।
मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)का प्रवक्ता लिज थ्रोसेलले निजी निवास, विमानस्थल र विस्थापित व्यक्तिहरूको शिविरमा थुप्रै व्यक्ति मारिएको बताएका छन् । थ्रोसेलले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा टिग्रे क्षेत्रमा हवाई हमलाबाट नागरिकको मृत्यु र भौतिक संरचनामा भएका क्षतिप्रति चिन्ता व्यक्त गर्दै यो निकै घातक रहेको प्रतिक्रिया दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उत्तरी इथियोपियामा १४ महिनाको द्वन्द्वपछि धेरै मानिसहरूलाई तत्काल खाद्य सहायताको आवश्यकता रहेको सो कार्यालयले जनाएको छ ।