नारायणहिटी दरबार संग्राहलयकोे जग्गा बतास समूहलाई दिँदा मिलेमतो देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । छानबिन समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डडयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाउँदै ठेक्का प्रक्रियामा मिलेमतो देखिएको जनाएको हो । बतास समूहले मनपरी संरचना बनाएको बाहिरिएपछि मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
नारायणहिटी दरबार सङ्ग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले क्यान्टिन सञ्चालनका लागि क्षेत्रफल र स्थानको सीमाङ्कन नगरी जग्गा ओगट्न दिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वस्वीकृति नलिइकन दरबारको सम्पत्ति प्रयोग गर्न दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । १४ रोपनी जग्गामा बतासले संरचना बनाएको देखिएको समितिले जनाएको छ। यस्तै, सोही ठाउँमा रहेको बंकरको पनि दुरूपयोग गरेको समितिको निष्कर्ष छ ।
