कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ। अहिले दिइएको हिउँदे बिदालाई नै माघ १५ सम्म लम्ब्याउने निर्णय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले गरेको हो ।
सिसिएमसीकी प्रवक्ता सुनीता नेपालले आइतबार बसेको बैठकले हिउँदे बिदा माघ १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकिएको जानकारी पनि दिनुभएको छ । बैठकले जिल्लामा संक्रमणको अवस्था हेरेर सम्बन्धित प्रजिअले स्मार्ट लकडाउन जारी गर्न सक्ने निर्णय गरेको पनि प्रवक्ता नेपालले जानकारी दिनुभएको छ ।
यसैबीच, सरकारले कोरोना भाइरसको संक्रमण बढेसँगै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रको (सिसिएमसी) बैठकले आइतबार सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।
