सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरूलाई पनि कोरोना संक्रमण भएको छ । सामान्य ज्वरो आएपछि शुक्रबार साँझ स्वाब परीक्षण गर्दा उहाँलाई कोभिड–१९ पोजिटिभ देखिएको थियो ।
प्रचण्ड शुक्रबार बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी हुनुहभएको थियो । उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो । माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ पनि बैठकमा सहभागी हुनुभएको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत पनि बैठकमा जानुभएको थियो । प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैठकमा सहभागी सबै नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
अध्यक्ष प्रचण्डकोे सचिवालयले स्वास्थ्यमा असहजता देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्रचण्डनिवास खुमलटारमा बस्दै आएका सबैको शुक्रबार पीसीआर परीक्षण गरिएको थियो । प्रचण्डसंग निरन्तर सम्पर्कमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । त्यस्तै, माओवादी नेताहरू मातृका यादव, हरिबोल गजुरेल, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, वाइसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई पनि कोरोना संक्रमण भएको छ । यी नेताहरू पछिल्लो समय प्रचण्डको सम्पर्कमा रहेका थिए ।
