नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संकीर्ण जातीय पहिचानका नाममा राजनीति गरेर मुलुकको राष्ट्रिय पहिचान नबन्ने भएकाले जात, रङ वा धर्मका आधारमा नभई वर्गीय दृष्टिकोणका आधारमा समाजलाई हेर्न र बुझ्न सक्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको ३५औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले नेपालीले सही विश्लेषणका आधारमा नेपालको ऐतिहासिकता र मौलिकताको उजागर गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
राम नेपालकै अयोध्यामा जन्मेका हुन् भन्नु वा पशुपतिनाथलाई संरक्षण गर्दै त्यहाँभित्रको वैज्ञानितालाई जनताका पक्षमा उपयोग गर्न खोज्दा त्यसलाई आध्यात्मवादसँग जोड्नेहरुप्रति आफूलाई दया लाागेको अध्यक्ष ओलीको भनाइ थियो । वामपन्थीहरूको बहुमतको सरकार ढालेर दर्शन नमिल्ने विपक्षीको पछि लाग्ने र समाजवादको नेपाली बाटोको कार्यदिशा लिइनु कलंकीतिर हिँडेर भक्तपुर जाँदैछ भन्नुजस्तै रहेको उहाको टिप्प्णी थियो ।
उहाँले मुलुकमा नेताहरूका लामा भाषणको तुलनामा जनस्तरमा चेतना र परिवर्तनको बिगुल फुक्नका लागि सांस्कृतिक कर्मीका लेख, रचना र प्रस्तुतिले असाधारण योगदान दिएको बताउनुभयो ।
