पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुक समृद्ध बनाउनका लागि आफ्नो पार्टी समाजवाद लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । आज लमजुङ बेँसीशहर नगरपालिका–८ मा नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी लमजुङद्वारा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले असल भावनासहित समृद्धिको यात्रामा अघि विश्वास दिलाउनुभयो । उहाँले जनताको जीवन खुशी र सुखी बनाउने लक्ष्यका चाँडै पूरा हुने दाबी गर्नुभयो ।
सङ्गठन विस्तारमा लागेकाले विचार प्रष्ट पारेर अघि बढ्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । सबैको सुरक्षा गर्ने एकीकृत समाजवादी पार्टीले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढेको नेता नेपालले बताउनुभयो । त्यस्तै नेता नेपालले आगामी चुनावसम्मै गठबन्धन सरकार अघि बढ्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार ‘किसान’ श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवाका लागि सहज वातावतरण र व्यवस्थित बनाउने बताउनुभयो ।
उहाँले रोजगारीको सिलसिलादेखि श्रम रोजगार तथा सामाजिक मन्त्रालयले लमजुङ जिल्लालाई पहिलो प्राथमिकतामा राख्नेसमेत बताउनुभयो । मन्त्री श्रेष्ठले आफ्नो पार्टी विस्तारै सङ्गठन विस्तार गर्दै अघि बढेकाले आगामी दिनमा देशकै सबैभन्दा ठूलो पार्टी बन्ने बताउनुभयो ।
