अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

माओवादी केन्द्रको महाधिबेशनमा समूहगत छलफल सकियो, शुक्रबारबाट केन्द्रीय सदस्यको निर्वाचन प्रक्रिया सुरु हुने

बिआरटीनेपाल २०७८ पुष १५ गते ६:२३ मा प्रकाशित

माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा भएका निष्कर्ष राख्ने क्रम सकिएको छ । प्रचण्डको राजनीतिक दस्तावेज र गुरुङको विधान संशोधन मस्यौदामाथि २४ समूहमा भएका छलफलको निष्कर्ष बुधबार दिउँसो सुरु गरेर बिहीबार साँझसम्म बन्दसत्रमा राख्ने क्रम सकिएको हो ।

बिहीबार १४ समुहका नेताहरूले बन्दसत्रमा समूहका सुझाव र निष्कर्ष प्रस्तुत गरेका थिए । अध्यक्ष प्रचण्डले बन्दसत्रमा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शिर्षकको दस्तावेज प्रस्तुत गर्नुभएको थियो । जसमा बिहीबार सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारहरूको समूह ‘क’ बाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट जगत सिम्खडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट मानबहादुर धामी, समूह २२ बागमती प्रदेशबाट इन्द्रबहादुर थिङ, समूह ११ गण्डकी प्रदेशबाट देवेन्द्र पराजुली, ज्येष्ठ कम्युनिष्ट मञ्चको समूहबाट नन्दकुमार प्रसाई, समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बरालमगर, केन्द्रीय विभागबाट घनश्याम रजक, समूह २५ जनवर्गीय संगठन तथा मोर्चाबाट सुरेश आलेमगर, समूह ९, लुम्बीनी प्रदेशबाट नारायण अधिकारी र प्रदेश नम्बर २ बाट भवानी थापाले दाहालको दस्तावेज र गुरुङको विधान संशोधन मस्यौदामाथि आ–आफ्नो समूहमा भएका छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।

समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएकोमा सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा राखेपछि समूहको संख्या २४ वटा बनेको थियो । समूहको छलफलबाट दाहालको दस्तावेज र गुरुङको प्रस्तावमा समर्थन आएको माओवादी केन्द्रको प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ ।

माओवादीको बन्दसत्र शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार बन्द सत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ । त्यसपछि विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ गुरुङले दिने र प्रचण्डले आफ्नो दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । दुवैले जवाफ दिएपछि केन्द्रीय सदस्यहरुको चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय