सुर्खेतको वीरेन्द्रचोकमा राजाको शालिक राखिएको छ। शालिक फालिएको १४ वर्षपछि वीरेन्द्र वीरविक्रम शाहको शालिक फेरि चोकमा राखिएको हो।
०६२/६३ को जनआन्दोलनका क्रममा चोकसहित भत्काइएको उक्त चोक २०७६ भदौमा पुनर्निर्माण गरिएको थियो। पुनर्निर्माण गरिए पनि राजाको शालिक भने राखिएको थिएन।
बुधबार वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसर पारेर स्वतन्त्र नागरिक समाजले चोकमा अर्धकद भएको शालिक राखेको हो।स्वतन्त्र नागरिक समाजले जुलुससहित शालिक ल्याएर चोकमा राखेको हो।
शालिक राखेसँगै वीरेन्द्रचोक वरपर दीप प्रज्वलन गरी वीरेन्द्रको जन्मजयन्ती मनाइएको छ। स्वतन्त्र नागरिक समाजका सदस्य धर्म ढकालले वीरेन्द्रचोकका इतिहास जोगाइराख्नका लागि राजाको शालिक अनिवार्य भएको बताउनुभयो । वीरेन्द्रकै नामबाट सुर्खेत उपत्यकाको नाम रहेकाले वीरेन्द्रनगरप्रति माया र योगदानको कदर गर्न चोकमा शालिक महत्वपूर्ण भएको उहाको भनाई छ ।
यसअघि जनआन्दोलनका बेला फालिएको राजाको शालिकलाई राखेर वीरेन्द्रचोक पुनर्निर्माण गर्नुपर्ने विषय धेरैपटक उठे पनि राखिएको भने थिएन। यसअघि शालिक राख्ने विषयमा हस्ताक्षर संकलन गर्ने काम समेत भएको थियो ।
