नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच पार्टी एकता भएको छ ।मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा गरिएको हो । सो अवसरमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनवादीका महासचिव देवेन्द्रसिंह महता लगायतका नेताहरुलाई फूलमाला तथा अबिर लगाई स्वागत गर्नुभएको थियो ।
पछिल्लो समय देशव्यापी संगठन विस्तारलाई तीव्र बनाएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत उच्च प्राथमिकतामा राखेको छ । त्यसक्रममा नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको नेकपा जनवादीसँग पहिलोपटक एकता भएको हो । पार्टी एकता घोषणा समारोहमा महासचिव महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौंलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरी लगायतका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता महताले जनयुद्धबाट जनताको मन जित्न सकिदैन भन्ने ठहर गरेर शान्ति सम्झौता मार्फत आफ्नो पार्टी मूलधारको राजनीतिमा आएको बताउनुभयो । समाजवादी क्रान्तिलाई सफल बनाएर समाजवादको लक्ष्य पूरा गर्न पार्टी एक हुने निर्णय गरेको उहाँले प्रष्ट पार्नुभयो । गणतन्त्रले मात्र जनताको सपना हुन नसकेकोले अब समाजवाद अपरिहार्य भएको उहाको भनाइ थियो ।
नेता महताले अधिकांश नेताहरु निष्कलंक र बौद्धिक रहेको एकीकृत समाजवादीले युवापंक्तिलाई विश्वास गरेकोले पार्टीप्रतिको विश्वास थप बलियो भएको बताउनुभयो । ठूलो पार्टी हुँदैमा केही हुँदैन भन्ने कुरा विगतको दुई तिहाइ सरकारले प्रष्ट पारेको बताउदै उहाँले एकीकृत समाजवादी पार्टी वास्तविक नेपाली जनताको पार्टी बनाउन लागिपर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलहरुबीचको एकताले इतिहासमा ठूला ठूला परिवर्तन सम्भव भएको बताउनुभयो । २०४६ सालको जनआन्दोलनदेखि २०६३ को लोकतान्त्रिक आन्दोलन र अहिले प्रतिगमनविरुद्धको आन्दोलनसम्म दलहरुबीचको एकताका कारण सम्भव भएको अध्यक्ष नेपालको भनाइ थियो ।
