अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 18:24

श्रीओम श्रेष्ठ राेदनकाे निबन्धकृति अभिवन्द्यमाथि परिचर्चा

बिआरटीनेपाल २०७८ पुष ९ गते ९:२९ मा प्रकाशित

काठमाडौँ । शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनको नयाँ कृति अभिवन्द्यबारे चर्चा परिचर्चा भयो । उक्त कृतिमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिनुहुने ४१ व्यक्तिहरूबारे लेखिएका आलेखहरू छन् । कार्यक्रममा उक्त कृतिमा चित्रित विशिष्ट व्यक्तिहरू तेजेश्वरबाबु ग्वङ, तुलसी दिवस, मन्जुल, मदनदास श्रेष्ठ, हरिप्रसाद पोखरेल, अशेष मल्ल, चिन्तामणि योगी, निर्मोही व्यास आदिको पनि उपस्थिति थियो ।

कार्यक्रममा वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वङले श्रीओमको कृतिबारे चर्चा गर्दै उनले नेपाली निबन्धका क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको धारणा राख्नुभयो ।

वरिष्ठ कवि तुलसी दिवसले कवि लेखकले परम्परागत भाषाशैली भत्काउनुपर्ने र आफ्नो छुट्टै पहिचान बनाउनुपर्नेमा जोड दिनुभयो ।

अभिवन्द्य कार्यक्रममा समालोचक ज्ञानु अधिकारी र कवि माेमिलाले कृतिको समीक्षा गरेका हुन् । समीक्षक द्वय मोमिला र ज्ञानु अधिकारीले अभिवन्द्य कृति नेपाली निबन्धसाहित्यको महत्त्वपूर्ण कृति भएको बताउँदै प्रशंसा गर्नुभएको थियो ।

समालोचक अधिकारीले अभिवन्द्य कृति विशिष्ट व्यक्तिहरूप्रतिकाे अभिनन्दन भएको र कृतिमा जीवन बोध गराउने निबन्धहरू सङ्ग्रहित रहेको बताउनु भयो ।

कार्यक्रममा कवि तथा समीक्षक माेमिलाले साधकहरूलाई गर्नुपर्ने सम्मान अविवन्द्य कृतिले गरेको बताउनु भयो । लेख्नेबेला हरेक लेखक बुद्व बन्ने भन्दै अविवन्द्य कृति पढेर आनन्दको महसुस गर्न सकिने बताउनु भयो । उनले कृतिभित्रका शीर्षक पढेरै ४१ सर्जकबारे सरल तरिकाले चिन्न सकिने कलात्मक कलाले रोदनका निबन्ध भरिएको बताउनु भयो ।

अध्यक्षको आसनबाट शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले श्रीओम श्रेष्ठ रोदन साहित्यका विभिन्न क्षेत्रमा स्थापित नाम भएको बताउनुभयो । सो अवसरमा मन्जुल, अशेष मल्ल, मदनदास श्रेष्ठ, चिन्तामणि योगी, हरिप्रसाद पोखरेल, डा. लक्ष्मणप्रसाद गौतम, यादव भट्टराई आदि स्रष्टा, कलाकार, समाजसेवीले पनि बोल्नुभएको थियो ।

अभिवन्द्य निबन्ध कृति यस अघि नै ग्वंग सिरपा भक्तपुरबाट पुरस्कृत कृति हो ।

प्रतिक्रिया