सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले आफ्नो जन्म मिति नसच्याएको स्पष्ट पार्नुभएको छ । न्यायाधीश खड्काले आज शुक्रवार प्रेस विज्ञप्ति जारी गरी न्याय परिषद्द्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको बताउनुभएको छ ।
‘न्याय परिषद्द्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेत अभिलेखमा मेरो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको छ’, न्यायाधीश खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मैले जन्म मिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन, तसर्थ मेरो जन्म मिति फरक–फरक रहेको भनी निराधार शङ्का गरी प्रकाशन गरिएको समाचार भ्रामक, असत्य र व्यक्तिगत पूर्वाग्रहपूर्ण छ भन्ने तथ्य प्रष्ट पार्न चाहन्छु ।’
एसएलसीलगायत आफ्ना सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रमा जन्म मिति विसं २०१४ जेठ २ गते भन्ने नै उल्लेख भएको र शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ सालमा आफूले भरेको निजामती कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) फारममा पनि आफ्नो जन्म त्यही नै रहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बीचका केही वर्षमा न्याय परिषद् बुलेटिन प्रकाशित हुँदा त्रुटिवश मेरो जन्म मिति २०१३–१०–२८ उल्लेख हुन गएको भए पनि परिषद् आफैँले त्यो त्रुटि सच्याइ २०७१ सालदेखि अहिले २०७८ साल पुस ३ गतेसम्म प्रकाशित न्याय परिषद् बुलेटिनमा पनि मेरो वास्तविक जन्म मिति २०१४–०२–०२ भनी उल्लेख गरिएकाले मेरो जन्ममितिको सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनुपर्ने कारण छैन ।’
न्याय परिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको न्यायाधीश खड्काको भनाइ छ । न्यायाधीश खड्काले दुई मितिमा २०१३ माघ २८ र २०१४ जेठ २ मा दुई वटा नागरिकता लिएको भन्ने सार्वजनिक भएको थियो । तर अघिल्लो मिति न्याय परिषद्को बुलेटिनमा त्रुटिवश हुन गएको र आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्रका २०१४ साल जेठ २ नै रहेको उहाँले प्रष्ट पार्नुभएको छ ।
