त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा स्थगित गरेपछि दरखास्त भरेका परीक्षार्थी रमेश विष्ट र मनिता खत्रीले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
त्रिवि सेवा आयोगले गत साउन १८ गते सञ्चालन गर्नुपर्ने लिखित परीक्षा स्थगित गरेको र अहिले करारमा रहेका शिक्षकलाई स्थायी गर्ने तर आफूहरूलाई प्रतिस्पर्धाबाटै बञ्चित गर्न खोेजेको भन्दै उनीहरूले रिट दर्ता गरेका हुन् ।
गत मङ्सिर १४ गते बसेको त्रिविसभाले आफ्नो शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० संशोधन गरी त्रिविमा स्थायी, अस्थायी वा करार सेवामा अटुट १० वर्ष सेवा गरेका कार्यरत शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ । सो व्यवस्थाले त्रिविमा प्रतिस्पर्धी जनशक्ति नआउने र आफूहरूको प्रतिस्पर्धा गर्न पाउने हक हनन गरेको रिटमा उल्लेख गरिएको छ ।
