ललिता निवास जग्गा प्रकरणमा भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी र उनका पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गए राति स्वयम्भूबाट सुवेदी दम्पतीलाई पक्राउ गरेको हो । उनीहरू अहिले सीआईबीको नियन्त्रणमा छन् । उनीहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको छ ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । २०४९, २०६२, २०६६ ÷६७ र २०६९ गरी चारवटा सरकारका पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भूमाफियासँग मिलेर १३६ रोपनीभन्दा बढी जग्गा हडपिएको अनुसन्धानबाट पुष्टि भए पनि उनी फरार थिए ।
सुवेदी दम्पतीसहित ११० जनाविरुद्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित हडपिएको जग्गा फिर्ताको माग दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विषेश अदातलमा मुद्दा दायर गरेको थियो । अख्तियारको अनुसन्धानपछि पनि सुवेदी दम्पती फरार थिए ।
