अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 08:49

गीतकार थापालाई दीर्घ साधना सम्मान तथा डायस्पोरा सङ्गीत सम्मान गायक रामप्रसाद खनाललाई

बिआरटीनेपाल २०७८ पुष ४ गते ८:०६ मा प्रकाशित

काठमाडौँ । नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०२१ मा वरिष्ठ गीतकार राजेन्द्र थापालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ । पोहोर साल खुसी फाट्दा, पर लैजाऊ फूलहरू, क्या दामी, याद गर्न पनि, गाला रातै, पहिलो नम्बरमा लगायतका सयौँ सदाबहार गीतका स्रष्टा वरिष्ठ गीतकार राजेन्द्र थापालाई यस वर्षको म्युजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्न लागिएको हो ।

त्यसै गरी यस वर्षको म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान गायक रामप्रसाद खनाललाई अर्पण गरिने भएको छ । गायक खनाल लोकदोहोरीको क्षेत्रमा प्रबद्र्धकका रूपमा चिनिनुहुन्छ । दोहोरी प्रतिस्पर्धालाई उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने गायकका रूपमा परिचित हुनुहुन्छ । तीन दशकअघिदेखि गीतसङ्गीतमा क्रियाशील रहेका खनालका चार दर्जन गीति एल्बम बजारमा आइसकेका छन् भने फुटकर गीतहरू पनि प्रकाशित भएका छन् । उहाँले नेपाल टेलिभिजनबाट दोहोरीलाई सबै नेपाली सामु पुर्‍याउन सफल हुनुभएको थियो भने पत्रकारिता, गायक, लेखनका कार्यमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । उहाँ पछिल्लो समय अमेरिका रहेर नेपाली गीतसङ्गीत र साहित्यको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ भने अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्षसमेत रहेर जिम्मेवारीपूर्ण कार्य गरिरहनुभएको छ ।

त्यसै गरी यस वर्षको म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार वरिष्ठ रङ्ग पत्रकार विदुर गिरीलाई अर्पण गरिन लागिएको छ । उहाँ नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको समाचार सम्पादक र कामना सिनेमा मासिक पत्रिकाको सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
वि.सं. २०४७ सालमा साप्ताहिक गतिविधिमा नाटक, चलचित्र, टेलिचलचित्र, भिडियो चलचित्र, सांस्कृतिक गतिविधि, फेशन, गीत सङ्गीतलगायतको मनोरञ्जन क्षेत्रलाई विषय बनाई स्तम्भ लेखन सुरु गर्नुभएका विदुर गिरी निरन्तर हालसम्म पनि क्रियाशील रहनुभएको छ ।
उहाँले वि.सं. २०४९ सालदेखि २०५३ सालसम्म सिने मासिक कामनामा संवाददाता हुँदै कार्यकारी सम्पादकको रूपमा कार्य सम्पादन गनुभएको थियो । त्यस्तै वि.सं. २०५३ सालमा सिने मासिक पत्रिका फिल्म सपोर्ट र गीताञ्जली मनोरञ्जन पत्रिकाको सम्पादन गर्नुभएको थियो भने वि.सं. २०५३ देखि ०५६ सालसम्म नेपाल टेलिभिजनको साप्ताहिक सिने कार्यक्रम सिने लहरमा विशेष प्रतिनिधि तथा सल्लाहकारका रूपमा कार्य सम्पादन गर्नुभएको थियो । वि.सं. २०५६ सालमा आफ्नै प्रकाशन र सम्पादनमा सिने मासिक सिने क्विनको प्रकाशन प्रकाशनसमेत गर्नुभएको थियो भने वि.सं. ०५७ सालमा नयाँ सडक दैनिक, पत्रिका सातदिनेलगायतका पत्रपत्रिकामा लेखन तथा रिपोर्टिङ कार्य गरी पत्रकारितामा निरन्तरता र सक्रियता दिनुभएको थियो ।

त्यसै गरी उहाँले वि.सं. ०५८ सालमा स्पेशटाइम दैनिकमा रही सयपत्री नामक मनोरञ्जन पृष्ठको सम्पादन र रिपोर्टिङ कार्यको जिम्मेवारी सम्हाल्नुभएको थियो । वि.सं. २०६१ देखि २०६३ तथा २०६७ देखि २०७० चैत ६ गतेसम्म चलचित्र पत्रकार सङ्घको दुई कार्यकाल अध्यक्ष रही नेपाली मनोरञ्जन जगतमा लागेका पत्रकारहरूको छाता सङ्गठनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

यति बेला वरिष्ठ पत्रकार विदुर गिरी नेपाल समाचारपत्रको समाचार सम्पादक र सिने मासिक कामनाको सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ भने नेपाल पत्रकार महासङ्घ, केन्द्रीय परिषद्को सदस्य समेत रहेर साङ्गठनिक भूमिका निर्वाह गर्नुभएको छ ।

त्यस्तै गायक हेमन्त शर्मा र गायिका सीता थापालाई यस वर्षको म्युजिक खबर दशकको स्रष्टा सम्मान अर्पण गरिने भएको छ । गायक हेमन्त शर्मा दुई दशक लामो समयदेखि गीतसङ्गीत क्षेत्रमा क्रियाशील रहेका छन् । मुटुभित्र गुन्जिरहन्छ तिम्रो नाम गीतबाट साङ्गीतिक क्षेत्रमा पाइला चाल्नुभएका शर्माले अंकुरण समूह हुँदै काठमाडौँसम्मको यात्रामा सयौँ गीतहरूमा स्वर भरिसक्नुभएको छ । उहाँका ओ प्रिय, माया साह्रै महँगो, थापा न थापा, आउँदै गर मालती, मूल हौ भने रसाइदेऊ लगायतका गीतहरू चर्चाको शिखरमा छन् ।

त्यस्तै गायिका सीता थापा काठ क्षेत्रको साङ्गीतिक इतिहास बोकेकी गायिका हुन् । उहाँले गाएका लोकदोहोरी, काठे तथा पूर्वेली गीत, चलचित्र गीत लगायतले उहाँको गायकीलाई उचाइमा पु¥याउन सफल भएको हो । उनको स्वरमा रहेको काँचो ओखर, नयाँ बानेश्वर, काठमाडौँ सिंहदरबार, गालैमा रै’छ डन्डीफोर, ऊनीको पछ्यौरी, खानी खोला, दुई रुपैयाँको बिँडी, घर हाम्रो रामेछाप, मोरालाई पड्काइदिन्छु सौताको छोरालाई, सिन्धुली बर्दिबास, घुम्तीमा पहिरो छ लगायत रहेका छन् ।

त्यसै गरी यस वर्षको युवा प्रतिभा सङ्गीत सम्मान गायक राजु ढकाललाई अर्पण गरिने भएको छ । गायक राजु ढकाल विगत दुई दशकदेखि गीतसङ्गीत क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ । उहाँको स्वरमा रहेका वर्ष दिन भो, लौरी हरायो, दुई बिसेले छोयो, पिरतीको इतिहास, नहाँसी नहुने, तिम्रै माया लाग्छ सानु, के गरेर हो लगायत सयौँ गीतहरू बजारमा आइसकेका छन् । गायन र मोडलिङसँगसँगै उहाँको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोषाध्यक्ष पदमा रहेर साङ्गठनिक जिम्मेवारी पनि सम्हालिरहनुभएको छ ।

त्यसै गरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका सफलता श्रेष्ठलाई अर्पण गरिन लागिएको छ । गायिका श्रेष्ठ पछिल्लो समयमा गायनका माध्यमले अगाडि बढिरहनुभएको छ । सानै उमेरमा उहाँले गायनमा राख्नुभएको रुचि र स्वरका माध्यमले यस क्षेत्रमा चाल्नुभएको यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले म्युजिक खबरले उहाँलाई सम्मान गर्न लागेको हो । उहाँको स्वरमा रहेको म हुँ नेपाली लगायतका केही बाल गीतहरू बजारमा आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू