अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

जर्मनीले नेपाललाई दियो ४१ लाख मात्रा खोप

बिआरटीनेपाल २०७८ पुष १ गते ७:११ मा प्रकाशित

जर्मनीले नेपाललाई ४१ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज बिहीवार आयोजना भएको एक कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा. स्टेफन रसेकले मन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री खतिवडालाई उहाँले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २ सय ५० खोपको मात्रा हस्तान्तरण गर्नुभएको हो । तीमध्ये २१ लाख ७६ हजार ६ सय ५० मात्रा जोन्सन एन्ड जोन्सन र १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना रहेका छन् ।

हस्तान्तरण समारोहमा मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउनुभयो । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्रले मोडर्ना खोप यही पुस ४ गतेदेखि १२ वर्षमाथिका बालबालिकालाई लगाइने बताउनुभयो । ५७ वटा जिल्लाका विद्यालयमार्फत यो खोप बालबालिकालाई लगाइने उहाँले बताउनुभयो ।

यसैबीच नेपालमा आजसम्म कुल जनसङ्ख्याको ३१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ३८ दशमलव २ प्रतिशतले पहिलो मात्रा कोभिडविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । लक्षित जनसङ्ख्याको पहिलो मात्रा खोप ५८ दशमलव २ प्रतिशत र पूर्ण मात्रा खोप ४७ दशमलव २ प्रतिशतले लगाएका छन् ।

सरकारले कोभिडविरुद्धको खोपलाई निरन्तरता दिँदै आएको छ । खोप लगाउने कार्यमा सबैको साथ र सहयोग रहेको मन्त्रालयले जनाएको छ । सरकारले समयमा नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय