नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । सहमहामन्त्रीका उम्मेदवारको केहीबेर अघिदेखि मतगणना सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ ।
सभापतिबाहेक पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । अहिलेसम्म उपसभापति र महामन्त्रीको गणना भइसकेको छ । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् भने महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ ।
अब निरन्तर सहमहामन्त्री पदको गणना गरिने निर्वाचन समितिका सदस्य केसीले जानकारी दिनुभयो । कांग्रेस महाधिवेशनअन्तर्गत गत सोमबार १३ पदाधिकारीसहित १३४ पदको निर्वाचन भएको थियो । कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमा १३ पदाधिकारी बाहेक ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित ९, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी ९, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगता भएकाबाट एक गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको छ ।
