नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । १४ औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा महामन्त्री पदको उम्मेदवार गगन थापाले ३ हजार २३ मत पाएर विजयी हुनुभएको हो । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार विश्वप्रकाश शर्मा पनि महासचिवमा निर्वाचित हुनुभएको छ ।
शर्माले १९ सय ८४ मत प्राप्त गर्नुभएको छ । थापा नेता शेखर कोइराला र शर्मा नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठ्नुभएको थियो । त्यस्तै महामन्त्रीका अर्का उम्मेवार प्रकाशशरण महतले १५ सय ५६ मत, प्रदिप पौडेलले १३ सय ९३ मत,मिनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्किले भने १ सय ६ मत प्राप्त गर्नुभएको छ ।
महामन्त्रीमा जम्मा ४ हजार ६ सय ८२ मत खसेको थियो । यसैबीच महामन्त्रीमा निर्वाचित गगन थापाले आफूले पाएको मतको न्याय गर्ने बताउनुभएको छ । महामन्त्रीमा विजयी भएपछि सानेपामा पत्रकारसँग कुरा गर्दै थापाले इमान्दारिता र परिपक्व ढङ्गले जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । महामन्त्रीका विजयी विश्वप्रकाश शर्माले भने नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धा सकिएको भन्दै अब काममा प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।
