प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहका अवसरमा बुधबार विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाउनुभएको शुभकामना सन्देशमा सो धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र मुलुकको विकासमा अभाव हुँदै गएको दक्षजनशक्तिको समस्यालाई केही हदसम्म भए पनि सम्बोधन गर्न सार्थक र सफल भएको जनाउनुभएको छ।
विश्वविद्यालयको कुलपतिसमेत रहनुभएका प्रम देउवाले स्थापनाको तीन दशक पूरा गरेको उपलक्ष्यमा यसका संस्थापक र सम्पूर्ण विश्वविद्यालय परिवारलाई बधाई दिनुभएको छ । सन्देशमा भनिएको छ, ‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आलोचनात्मक सीपयुक्त र समय सुहाउँदो वैज्ञानिक एवं प्राविधिक ज्ञानले सुसज्जित जनशक्ति आवश्यक छ ।’
प्रम देउवाले उच्च शिक्षा आर्जनका लागि नेपालीले बर्सेनी विदेशी विश्वविद्यालयलाई तिर्ने अरबौँ रकम मुलुकभित्रै सदुपयोग गर्ने वातावरण निर्माण गर्न पनि नागरिकको मागअनुरुप शैक्षिक गुणस्तर मुलुकभित्रै विकसित गर्नु अपरिहार्य भइसकेको उल्लेख गर्नुभएको छ ।
