नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको लागि दोस्रो चरणको मतदान जारी रहेको छ । हिजो भएको मतदानमा ५ जना प्रतिस्पर्धामा रहेकाले कसैको पनि ५० प्रतिशत मत नकटेपछि आज फेरि दोस्रो चरणको मतदान भएको हो । दोस्रो चरणमा हालका सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीचमा प्रतिस्पर्धा भइरहेको छ ।
दोस्रो चरणको मतदान आज अपरान्ह साढे ३ बजे सुरु भएको हो । दोस्रो चरणको मतदानको लागि पनि प्रतिनिधिहरू उत्साहपुर्वक तरिकाले लाइनमा बसेका छन् । यस अघि सभापतिको उम्मेद्वार रहेका प्रकाशमान सिंह, बिमलेन्द्र निधि तथा कल्याण गुरुङ तीनै जनाले दोस्रो चरणमा सभापति शेरबहादुर देउवालाइ सघाउने बताउनुभएको छ । पहिलो चरणको चुनावमा देउवाले २ हजार २ सय ५८ र कोइरालाले १ हजार ७ सय २, प्रकाशमानले ३ सय ७१ तथा निधिले २ सय ५० मत प्राप्त गर्नुभएको थियो ।
दोस्रो चरणमा चुनाब हुने भएपनि सभापतिका प्रत्यासी कोइरालाले पत्रकार सम्मेलन गर्दै अन्तरमनको भावना सुनेर मतदान गर्न आग्रह गर्नुभएको थियो । निर्वाचन समितिले दोस्रो चरणको मतदानका लागि साढे ३ देखि ७ बजेसम्मको समय निर्धारण गरेको छ । सभापति पदमा मात्र मतदान हुने भएकाले छिटो हुने निर्वाचन समितिको भनाइ छ । दोस्रो चरणको मतदानमा सभापतिका दुबै उम्मेद्वार मतदान स्थलमा पुगेर मतदातासँग मत मागेका छन् ।
