नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत अहिले मतदान भईरहेको छ । आज मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा यो समाचार तयार पार्दासम्म २ हजार आठ सय ९ मत खसेको हो । महाधिवेशनमा १ सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले राष्ट्रिय सभा गृहमा ९ सय र भृकुटीमण्डपका दुई ठाउँ (प्रदर्शनी हल र प्राङ्गण) मा ९ सय ५४ र ९ सय ५५ गरी १ हजार ९ सय ९ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई ठाउँमा २ हजार १ सय र १ हजार ३ सय तथा राष्ट्रिय सभा गृहमा १ हजार ३ सय मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।
कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । एक जना प्रतिनिधिलाई मतदान गर्न झन्डै आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १ सय ६७ सदस्यीय कार्यसमितिमध्ये १ सय ३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या ४ हजार ७ सय ४३ रहेको छ ।
