अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

‘प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर बिदा गर्नुपर्छ, तयारी भइरहेको छ’

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:०४ मा प्रकाशित

सत्तारुढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्युत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउन उपयुक्त हुने तर्कसमेत गर्नुभयो ।

आज शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि छैन भन्ने पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन ढिलाइ गर्न हुन्न भन्ने पक्षमा आफूले सुरुदेखि नै अडान राख्दै आएको बताउनुभयो । वरिष्ठ अधिवक्तासमेत रहनुभएका सांसद अधिकारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाएर पदच्युत गर्न सकिने आधार पर्याप्त रहेको दाबीसमेत गर्नुभयो ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मङ्सिर २८ गते सङ्घीय संसद् बैठक आह्वान गरिएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरालाई भ्रष्टको संज्ञा दिँदै छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने जानकारी समेत दिनुभयो । सांसद बिडारीले संसदले महाअभियोग लगाएपछि मात्रै प्रधानन्यायाधीश जबराको बर्हिगमन हुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय