पछिल्लो २४ घण्टामा देशभर २ लाख ११ हजार जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सरकारले देशभर १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइरहेकामा पछिल्लो एकै दिन २ लाख ११ हजार पाँच सय ५३ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा ८४ लाख ३७ हजार ८ सय ६० जनाले पूर्ण मात्रा र ९८ लाख ७९ हजार ६ सय ४८ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी ६ हजार ४ सय ६९ जनाको नमुना परीक्षण गर्दा २ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५६ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ८ लाख २ हजार ९ सय ९ पुगेको छ ।
यही अवधिमा थप २ जनासहित कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५ सय २६ जना पुगेको छ । अहिले नेपालमा ६ हजार ९ सय ३१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।