अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंसिरदेखि एमबीबीएस पढाइ हुने

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:२२ मा प्रकाशित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुन लागेको हो ।प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने प्रतिष्ठानले जनाएको छ ।

तीन दिनअघि उपकुलपति डाक्टर मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्यौलमा हुने देखिएको थियो ।सरकारले त्यसको बिहीबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिएको थियो ।

निमित्त उपकुलपति डाक्टर थापाका अनुसार एमबीबीएस २० सिटमध्ये १५ जना भर्ना भइसकेको र पाँच सिट प्रक्रियामा छन् । एमबीबीएस २० सीटसहित अन्य ९० वटा सिटमा ६० जना भर्ना भइसकेका छन् ।

यता, सरकारले प्रतिष्ठानका उपकुलपति डाक्टर. रावल र रजिष्ट्रार महतसहित निर्देशक र डीनलाई काम काजमा रोक लगाएपछि कर्मचारीहरु आन्दोलित भएका छन् । समयमै माग सम्बोधन नभए प्रतिष्ठानको सम्पूर्ण टिम संघर्षका कार्यक्रमसहित आन्दोलनमा जाने चेतावनी कर्मचारीले दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय