सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एउटै समयमा थुप्रै प्रचण्ड जन्मन नसक्ने बताउनुभएको छ । शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको भन्दै रक्षा गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रान्तिकारीहरुले अहिले पनि मुलुक र माओवादी आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा तारो माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई नसिध्याएसम्म हुँदोरहेनछ भनिरहेको उहाको भनाई थियो । प्रतिक्रियावादीहरुले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको प्रचण्डको जिकिर थियो ।
प्रचण्ड भन्ने कुरा प्रचण्डले नभई नेपाली जनताले लडेर निर्माण गरेको उल्लेख गर्दै उहाँले फेरि एउटै युगमा एउटै कालखण्डमा थुप्रै प्रचण्ड बन्न नसक्ने बताउनुभयो । एउटै समयमा थुप्रै माक्र्स, लेनिन र माओ पनि हुन नसक्ने प्रचण्डको ठहर थियो ।
जनयुद्ध कुनै लहडमा नभएको जिकिर गर्दै उहाँले एक्लै एक्लै अगाडि जाँदा क्षतविक्षत हुने तर्क गर्नुभयो । पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग छलफल भइरहेको प्रचण्डको भनाई छ । ढिलो छिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास प्रचण्डको थियो । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुने बाहेक अरु विकल्प नरहने उहाँले बताउनुभयो ।
