अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

एमाले महाधिवेशन – प्रत्येक सदस्यबाट कम्तीमा १ सय रुपैयाँ उठाउन अपील

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ६:५५ मा प्रकाशित

नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तीमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ । बुधवार ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यलाई कम्तीमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो ।

त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंकको टेकु शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ । त्यही खातामा सबै पार्टी सदस्यले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत वा त्यस बैंकको खातामा कम्तीमा एक सय रुपैयाँ पैसा जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

एमालेले यसअघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ । प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग अहिले झन्डै सात लाख ३० हजार पार्टी सदस्य छन् । उनीहरूबाट कम्तीमा एक सय रुपैयाँ उठाउँदा सात करोड ३० लाख रुपैयाँ उठ्छ । त्यसले पार्टीको महाधिवेशनको खर्च पुर्याउन सकिने एमालेको आँकलन रहेको छ ।

बैठकले पार्टीको महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्ययोजना पनि परिमार्जनसहित पारित गरेको छ । जसअनुसार मङ्सिर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन दिउँसो १२ बजे चितवनको नारायणगढमा रहेको नारायणी नदी किनारमा अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । यस्तै बैठकले कात्तिक ३० गतेभित्र महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरूको सम्पूर्ण विवरण पार्टीको केन्द्रीय कार्यालयमा बुझाउन पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको छ ।

बैठकले महाधिवेशनमा पोस्टर र भित्ते लेखन नगर्ने निर्णय पनि गरेको छ । विद्युतीय सञ्चारमाध्यमको प्रयोग गरेर महाधिवेशनको प्रचारप्रसार गर्ने निर्णय बैठकले गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । बैठकले महाधिवेशनका लागि दक्षिणी एसियाली देशका सत्तारुढ दल र विपक्ष दलहरूलाई अनिवार्य रूपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय