जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । सप्तरीको राजगढ गाउँपालिकास्थित कनकटामा बुधबार आयोजित जसपाको कार्यक्रममा यादवले संघीयता समाप्त गर्ने षड्यन्त्र भइरहेको र त्यसको नायक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाउनुभयो ।
वर्तमान संघीय प्रणालीमा त्रुटी रहेको बताउँदै अध्यक्ष यादवले वास्तविक संघीय प्रणालीमा देशलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रदेशको वर्तमान संरचना अव्यवहारिक र अवैज्ञानिक भएको बताउँदै उहाँले पहिचान र सामर्थ्यका आधारमा प्रदेशको संरचना फेरी गर्नुपर्ने उल्ल्ेख गर्नुभयो ।
वर्तमान शासकीय प्रणाली रहेसम्म मुलुकमा राजनीतिक स्थिरता हुन नसक्ने बताउँदै यादवले राजनीतिक स्थिरता नभएसम्म देश विकास हुन नसक्ने टिप्पणी गर्नुभयो । । उहाँले स्थानीय तहको निर्वाचनमा दलको उम्मेदवार हुने व्यवस्था समाप्त गर्नुपर्ने बताउँदै स्थानीय तहलाई विकास गर्ने अंगको रुप्मा विकसित गर्नुपर्ने बताउनुभयो ।
