नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरूलेसमेत आफ्नो भूमिका प्रभावकारी रुपमा खेल्न नसकेको बताउनुभएको छ । राज्यका सबै अंगहरूमाथि अहिले प्रश्न उठेको उहाको भनाई छ । सोमबार नेपाल प्रेस यूनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले राजनीतिक पार्टीहरू जनताको भरोसाको केन्द्र भए पनि उनीहरूले आफ्नो भूमिका प्रभावकारी बनाउन नसकेको टिप्पणी गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफू लागिपर्ने बताउनुभयो । पार्टीहरू, संवैधानिक निकायहरू र अदालत पनि व्यवस्थित रुपमा चल्नुपर्ने उहाको भनाई थियो । पौडेलले अब आर्थिक विकास र सामाजिक विकासको बाटोमा मुलुक जानुपर्नेमा अझै पनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेको बताउनुभयो । सो अवसरमा उहाँले आफ्नो एजेन्डा नै लोकतन्त्र भएको समेत स्पष्ट पार्नुभएको थियो ।
