नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ ।बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राख्नुभयो ।
बुधबार काठमाडौंमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उहाँले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताउनुभयो ।
एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले आफूले पार्टी भित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटक–पटक दोहोर्याउनुभयो ।
उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उहाँको तर्क थियो ।