एजेन्सी । किङ खान भनेर चिनिने बलिउडका चर्चित अभिनेता साहरुख खानका जेठा छोरा आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले हिरासतमा लिएको छ । उनीलाई लागू औषध कारोबारको अभियोगमा एनसिबीले हिरासतमा लिएको हो ।
प्रहरीले कोर्डेलिया नामक पानी जहाजबाट गिरफ्तार गरेको थियो । कोर्डेलियामा आठ सयदेखि एक हजार मानिस रहेको र उनीहरूले ‘पार्टी’ गरिरहेको अवस्थामा प्रहरीले छापामा मारेको थियो । उक्त पार्टीमा आर्यनले लागू औषध किनबेच गरेको प्रहरीको अभियोग छ । एनसिबीले उनलाई बिहीबारसम्म हिरासतमा राखेर छानबिन गर्ने अनुमति पाएको छ ।
प्रहरीले आर्यनसँगै मुनमुन धमेचा र अर्बाज मर्चेन्टलाई पनि गिरफ्तार गरेको छ । शनिवार गरिएको छापामा एनसिबीले ५ ग्राम मेफेड्रोन, २१ ग्राम चरेस, २२ पिल एमडिएमए र १३ ग्राम कोकिन बरामद गरेको जनाएको छ । तीलागु औषधको बजार मुल्यकरिब १ लाख ३० हजार भारतीय रुपैयाँ हुने प्रहरीको भनाइ छ ।
एनसिबीका क्षेत्रीय निर्देशक समीर वाङ्खेडेले ‘फेस भ्यालु’ भएका सेलिब्रेटीको मुद्दामा मात्र मिडियाले चासो दिने अभिव्यक्ति दिएका थिए । उनले लागू औषध कारोबारमा पक्राउ परेका आर्यन पहिलो व्यक्ति नभएको बताएका थिए । ‘आर्यन गिरफ्तार भएको घटना लागू औषध कारोबार सम्बन्धी ९० औँ हो,’ उनले भनेका थिए, ‘तर, मिडियाले आर्यनको गिरफ्तारीलाई मात्र मुद्दा बनायो, अरूलाई बनाएन । ’उनले आर्यनलाई गिरफ्तार गर्न एनसिबीले कडा गृहकार्य गरेको पनि बताएका थिए ।
सोधपुछका क्रममा आर्यन मुर्छा पर्ने गरी रोएको र उनले लागू औषध चार वर्षदेखि सेवन गरिरहेको स्वीकारेको बताइएको छ । साहरुखलाई आर्यनसँग एक पटक २ मिनेट भेट्न दिएको जनाइएको छ ।