अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 14:51

सिजेएनको ११ औँ स्थापना दिवस

बिआरटीनेपाल २०७८ भदौ १९ गते ७:५८ मा प्रकाशित

काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औँ स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरूले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिता क्षेत्रबाट सहकारी क्षेत्रको विकृति, विसङ्गति अन्त्य गर्नुका साथै सहकारीको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रको अध्ययन अनुसन्धान गरी खोजमूलक समाचार सम्प्रेषण गर्नुपर्ने बताए । सहकारीले सदस्यको जीवनस्तर सुधार गर्न जोड दिनुपर्ने उनले बताए । ‘सहकारीले तीनखम्बे अर्थनीति अनुसार स्थापित हुन उत्पादनमा जोड दिनुपर्छ’ उनले भने । सत्य, तथ्य समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले निष्पक्ष ढङ्गले कलम चलाउन सके सहकारी क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । आर्थिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदान हुने भएकाले सञ्चार माध्यमले सहकारी क्षेत्रको विषयमा स्थान दिनुपर्ने बताए ।

राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइले सञ्चार माध्यमको सहयोगले सहकारी करेक्सन हुन मौका पाउने बताए । ‘सहकारीका सबै खाले समाचारले सहकारी प्रवर्द्धनमा सहयोग पुग्छ’, उनले भने,‘सहकारीले खोजमूलक समाचार सम्प्रेषणमा ध्यान दिनुपर्छ ।’

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलनाथ दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष यादव हुमागाई र निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव तुलसी सुवेदीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष काजी श्रेष्ठले स्वागत गरेका थिए ।

पत्रकारिता पुरस्कार कुँवरलाई
नेपाल सहकारी पत्रकार समाजको ११ औँ स्थापना दिवसको अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका पत्रकार कौशिला कुँवरलाई पुरस्कृत गरिएको छ । सिजेएनकी सदस्य कुँवरले सहकारी क्षेत्रमा रचनात्मक कलम चलाए बापत पुरस्कृत गरिएको हो । त्यस्तै सिजऐन संस्थापक सम्मानबाट संस्थापक कोषाध्यक्ष सीता पोखरेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय