लघुकथा
सधैंं हँसमुख र प्रफुल्ल मुद्रामा प्रस्तुत हुने छिरिङ छिन्जोङ आज दिनभर भोटेपीपलको फेदमा बसेर रोइरही । उसलाई बाल्यकालमा बाहेक अन्य बेला यसरी रोएको कसैले देखेका थिएनन् । उसलाई आफ्नो सुन्दर संसार भत्के झैँ लाग्यो । असंख्य चाहनाहरू र अनन्त रहर साँचेर ऊ छ वर्षसम्म नाम्ग्याललाई कुरेर बसेकी थिई । किनभने फुपूको छोरा नाम्ग्यालले हङकङ जाने बेलामा भनेको थियो – ‘ छिन्जोङ, म अहिले तिमीलाई लान नसके पनि पछि आएर सँगै लानेछु । कसैसँग नजाऊ है ! बरु म आउनु अगाडि नै नागरिकता र पासपोर्ट बनाएर राख ।’
नाम्ग्यालको यही बचनले गर्दा ऊ छ वर्षसम्म उसलाई कुरेर बसेकी थिई । हङकङमा गएर होटेल खोलेर बस्ने चाहना पालेर उसले समयमा नै नागरिकता र पासपोर्ट बनाएर राखेकी थिई । तर समय बदलिए जस्तै नाम्ग्यालको मन पनि बदलिएला भनेर उसले रत्तीभर पनि सोचेकी थिइन ।
छ वर्षपछि फर्केको नाम्ग्यालले उसलाई लानुको साटो उसकी बहिनी कार्चुङलाई पो लिएर गयो । ‘ममा केको कमी थियो र उसले बहिनी कार्चुङलाई मन पराएको होला ? ‘ यस्तै सोचेर ऊ साँझ परुन्जेलसम्म भोटेपीपलको फेदमा बसेर टोलाइरही । साथीसङ्गी आएर उसलाई सम्झाइबुझाई गरेर घर पुर्याए ।
यो छ वर्षको अवधिमा उसलाई कैयन केटाहरूले आँखा लगाएका थिए । तर उसले नाम्ग्याललाई सम्झेर सबैका प्रस्ताव अस्वीकार गरिरही । तीन जना केटाहरूले तितीनपटक तानेर लगेका पनि थिए । तर तीन दिनसम्म पनि उसले मन्जुरी नजनाएपछि परम्परा अनुसार ससम्मान उसलाई फिर्ता गरिदिएका थिए । अनि खिङ्गामा होटेल चलाएर बसेकी थिई । उसलाई मन पर्ने नाम्ग्याल ऊबाट टाढिएपछि उसको स्वभावमा पनि परिवर्तन आयो ।
ऊ एकोहोरी जस्ती देखिन थाली । आमा बितिसकेकी थिइन , बाबु चौंरी गोठमा बस्ने गर्थे भने दाइ थाइल्यान्डमा बस्थे । घरमा दुई दिदीबहिनी मात्रा थिए । अब ऊ एक्लीजस्तै भई । साथीहरूले कर गरेर उसलाई छ्याङ खुवाइदिए । त्यसपछि उसले धाराप्रवाहमा आफ्नो दुःख पोखी ।
एक छिनपछि नाम्ग्यालको दाइ कुङ्गा आइपुग्यो । साथीहरूले कुङ्गालाई सम्झाइदिनु भनेर घर गए । कुङ्गाले ‘खाना पकाइदिउँ कि ?’ भनेर सोध्यो । रुदारुदा सुन्निएका आँखा देखेर कुङ्गाले अलिकति छ्याङ पिउन कर गर्यो । छिन्जोङले कुङ्गासित भनी ‘ कुङ्गा ,अब म एक्लै यो घरमा कसरी बसूँ ?’ कुङ्गाले लठेब्रो स्वरमा भन्यो -‘ झुमा गुम्बामा कति झुमाहरू एक्लै बसेका छन् । बुद्धको ध्यान गरेर बस्यो भने एक्लोपन सबै बिर्सिन्छ । म एक्लै जसरी लामा भएर बसेको छु ,त्यसरी नै तिमी झुमा भएर एक्लै बस्न सक्छ्यौ ।’ ‘ त्यो त हो नि!’ भन्दै उसले फेरि १ कप छ्याङ थपी । अब मनमा अलिअलि खुसीको सञ्चार भएजस्तो भयो । कुङ्गाले टुङ्ना बजाउन थाल्यो । टुङ्नाको धुन सुन्दासुन्दै निदाई ।
बाहिर फुर्फुर हिउँ परिरहेको थियो । छिन्जोङ निदाएपछि भित्रबाट ढोका बन्द गरिदिएर कुङ्गा छतबाट आफ्नो घरतिर लाग्यो । कुङ्गाले पनि सोच्यो कि लामा र झुमाको भगवान् बाहेक अर्को मिल्ने साथी नहुने रहेछ ।