अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 18:37

मौद्रिक नीति सार्वजनिक अघि नै सूचना चुहिएकोप्र‍ति अर्थमन्त्री शर्माकाे चर्काे असन्तुष्टि

बिआरटीनेपाल २०७८ साउन ३२ गते ७:३९ मा प्रकाशित

मौद्रिक नीति सार्वजनिक हुनुअघि नै सूचना चुहिएकोप्रति अर्थमन्त्री जनार्दश शर्माले असन्तुष्टि जनाउनुभएको छ ।आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सोमबार मन्त्रालयमा सम्पन्न बैठकमा उहाँले यसमा गम्भीर हुन सचेत गराउनुभयो ।उहाँले भन्नुभयो, ‘मन्त्रालय वा संस्थाको प्रवक्ता र वेवसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल–टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ्ग गर्ने कार्य भएको छ ।’

‘तोकिएको समयअघि नै मौद्रिक नीति चुहिनु भनेको परीक्षा अगाडिनै प्रश्नपत्र आउट गरेजस्तो हो, यसले राज्यको मनोवल गिराउने काम गर्छ,’ उहाँले थप्नुभयो, ‘यस्तो कार्य तत्काल रोक्नुस् ।’उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु देशको अहिलेको आवश्यकता भएको स्मरण गराउँदै अर्थमन्त्री शर्मााले सोअनुसारको नीति र त्यसको कार्यान्वयनमा पनि जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीबाट आर्जन गरेको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्ने गरी नीति निर्माणमा लाग्न पनि निर्देशन दिनुभयो ।

अर्थमन्त्री शर्माले घाटामा रहेका सार्वजनिक संस्थानहरूको कुरा अब धेरै सुन्न नसकिने भन्दै तिनलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना बनाउन पनि निर्देशन दिनुभयो ।कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहुलियतपूर्ण कर्जा कार्यविधि, व्यावसायिक ऋण कार्यविधि, नवप्रवर्तन सम्बन्धी कार्यविधि संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सुधारको लागि गर्नुपर्ने कामहरू संकटको बेला पनि गर्नुपर्ने भन्दै मौद्रिक नीतिमार्फत कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरिएको स्पष्ट पार्नुभयो ।

सीसीडी रेसियो संसारभरबाटै खारेज भइसकेको परिवेशमा राष्ट्र बैंकले हटाएको भन्दै गभर्नर अधिकारीले यस सम्बन्धी बजारमा केही भ्रम रहेकोले यसमा स्पष्ट हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय