अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 00:00

नर्थ क्यारोलाइनमा भर्चुअल मुक्तक गोष्ठी सम्पन्न

बिआरटीनेपाल २०७८ असार १४ गते ८:१४ मा प्रकाशित

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा निरन्तर चल्दै आएको मासिक साहित्यिक कार्यक्रमलाई विविधता दिने उद्देश्यले २६ जून, २०२१ मा भर्चुअल मुक्तक गोष्ठी सम्पन्न भयो ।

नम्रता गुरागाईंको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई संस्थाका सदस्यहरू क्रमशः ः दीपेन्द्र विष्टले आमन्त्रित स्रष्टाहरू विवश पोखरेल र तीर्थराज अधिकारी तथा उपस्थित सबै स्रष्टाहरू सबैलाई नर्थ क्यारोलाइनाको भर्चुअल आँगनमा स्वागत गर्नुभयो भने डा.ऋषि बस्ताकोटीले अतिथि कविहरूको छोटो साहित्यिक परिचय दिँदै कार्यक्रमलाई अघि बढाउनु भयो ।

बतासले तिम्रो केश छुंदापनि डाह लाग्छ
झरीले तिम्रो मुहार धुंदापनि डाह लाग्छ
प्रगाढ मायामा नै फुल्दो रहेछ इस्र्याको फूल पनि
तिमीसामु कोही हुंदापनि डाह लाग्छ । — विवश पोखरेल

तिम्रा हर रहरमा साझा बनाए हुन्छ
सुमधुर मनभित्रको राजा बनाए हुन्छ
अन्त कतै मिल्दैन भने प्रिय मलाइ
तिमी बस्ने घरको दरबाजा बनाए हुन्छ । — तीर्थराज अधिकारी

साहित्यमा मुक्तकलाई मात्र ध्यानमा राखेर आयोजना गरिएको उक्त गोष्ठीको सुरुवातमा मुक्तक विधामा आफूलाई अब्बल दर्जामा राखिसक्नुभएका साहित्यकारहरू विवश पोखरेल र तीर्थराज अधिकारीका केही स्थापित मुक्तकहरू मध्ये यी मुक्तकहरू सुन्दा एउटा चार लाइनको मुक्तकले विषयको गहिराइलाई कति तलसम्म पुराएर लेखाइको चुरो समात्न सक्दो रहेछ भन्ने लाग्थ्यो ।

अत्यन्त गहन अर्थ बोकेका मुक्तक कसरी लेखिन्छ भन्ने श्रोताहरूको प्रश्नको जवाफमा विभिन्न सम्मानित सङ्घ संस्थाहरूबाट सम्मानित तथा “पग्लिएको इन्द्रेनी”, मुक्तक सङ्ग्रहका सर्जक कवि विवश पोखरेल मुक्तकलाई यसरी परिभाषित गर्नुहुन्छ ।

साहित्य भनेको जीवन, समय र प्रकृतिसँग सम्बद्ध हदोरहेछ, संवेदना, सौन्दर्य र विद्रोहसँग सम्बद्ध हुंदोरहेछ र मुक्तक पनि यिनैको सेरोफेरोमा लेखिन्छ । सूक्ष्मतामा सम्पूर्णता नै मुक्तकको विशेषता हो । जति भाव र अनभूतीहरुसंग खेल्न सक्यो त्यति नै बढी सशक्त हुन्छन् मुक्तकहरू ।

विभिन्न सम्मानित सङ्घ संस्थाहरूबाट सम्मानित तथा हालसालै प्रकाशित मुक्तकसंग्रह “जूनका टुक्राहरू” का सर्जक तीर्थराज अधिकारी मुक्तकलाई यसरी परिभाषित गर्नुहुन्छ ।

मुक्तकमा चार पंङ्तीहरु हुन्छन्, चारै ओटा पंङ्तीहरु नपढी मुक्तकको अर्थ लाग्दैन । पहिलो पंङ्तीले विषयको उठान गर्छ, दोस्रो पंङ्तीले संम्बर्दन गर्छ, तेस्रो पंङतीले केही भन्न खोजेको कुराको सोपान तयार गर्छ र चौथो पंङती मुक्तकको प्राण हो, यो पंङतीमा मुक्तकले भन्न खोजेको कुरा प्रस्ट भनिदिन्छ त्यसैले मुक्तकको अर्थ लाग्न चारै पंङती पढ्नै पर्छ । चार लाइनको मुक्तक पढ्दा जन जोस ल्याइदिन्छ, जुन जोस एउटा लामो कविता पुरै पढिसक्दापनि आउन सक्दैन ।

मन्तव्यको क्रममा हरिहर भट्टराईले पहिला लेखिएका लोकगीतहरुपनि मुक्तक नै लाग्थे तर आफूलाई त्यति मिठास दिएको थिएन तर यो कार्यक्रमले आफूमा मुक्तक सम्बन्धी चासो बढाइदिएको कुरा प्रकट गर्नु भयो ।

माया प्रेम, राष्ट्रियता र विसङ्गतिलाई उठान गरेर त्यसको गहिराइसम्म पुर्‍याउने जुन क्षमता मुक्तकमा हुन्छ, त्यो क्षमता अरू विधामा कमै पाइन्छ जसले मान्छेलाई लडाइ लडाइ हँसाउने तथा रुवाउने विशेषता बोकेको हुन्छ ।

अक्षरले जोडेको नाता कति गाढा हुन्छ भन्ने कुरा साहित्यकार अरुण श्रेष्ठले मुखाग्र भएका साहित्यकार विवश पोखरेलका केही मुक्तकहरू वाचन गर्दा लाग्थ्यो सशक्त लेखक भनेको त्यो हो जसले आफ्नो कलमले अरूका मनका कुरालाइपनि लेख्न सक्छ । अक्षरले जोडेको यस्तै नातामा साहित्यकार राजेन्द्र अर्यालले साहित्यकार तीर्थराज अधिकारीका केही मुखाग्र मुक्तकहरू सुनाउँदै वहाँका मुक्तकहरूमा प्रकृतिको वर्णन, चेतनाको प्रवाह, माटोको माया, धर्म संस्कृतिप्रतिको गौरव र असंगतीहरुमाथिको तिखो प्रहार रहेका छन् भन्नुभयो ।

कार्यक्रमको बिचबिचमा अतिथि तथा स्थानीय कविहरूका कविता तथा मुक्तक वाचन गरिए । वाचन गर्नेहरुमा सकुन् ज्ञवाली, कमला न्यौपाने, राजेन्द्र अर्याल, सीता अर्याल, अरुण श्रेष्ठ, दीपेन्द्र विष्ट, उमा शर्मा, सुरेश भट्ट, निर्मला राजभण्डारी, डा.ऋषि बस्ताकोटी र नम्रता गुरागाईं हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू