अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 23:46

प्रतिभा पुरस्कारको घोषणा

बिआरटीनेपाल २०७८ असार ३ गते ६:२७ मा प्रकाशित

विराटनगर ।‌ प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरका कार्यसमिति अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा आज बसेको बैठकले पुरस्कार सिफारिस समितिको निर्णय अनुसार २०७७ सालका विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ। जसअनुसार साहित्यकार डा. राजेन्द्र विमललाई रु.५० हजार राशिको राष्ट्रिय स्तरको प्रतिभा पुरस्कार, पाणिनि संस्कृत विद्यालय (गुरुकुल) विराटनगरलाई रु.५० हजार राशिको विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार, साहित्यकार गङ्गा सुवेदीलाई रु. ५० हजार राशिको ज्वाला प्रसाद पोखरेल प्रतिभा पुरस्कार, साहित्यकार लक्ष्मी उप्रेतीलाई रु.५० हजार राशिको दिनबन्धु गोयल प्रतिभा पुरस्कार, महाकाव्यकार भानुभक्त सुवेदी कुभिण्डेलीलाई रु.२५ हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यसै गरी रु.२० हजार राशिको षडानन्द प्रतिभा पुरस्कार कविद्वय शुभलक्ष्मी लम्साल र ममता मृदुललाई संयुक्त रूपमा प्रदान गरिने भएको जानकारी प्रतिष्ठानका सचिव कविराज न्यौपानेले गराएका छन् ।

‌स्मरणरहोस् , विराटनगरबाट २०३९ सालदेखि वितरण गर्न थालिएका उक्त पुरस्कारहरू निजी क्षेत्रको राष्ट्रिय स्तरको अग्रणी पुरस्कारहरू मानिन्छ । यस संस्था र यसका पुरस्कारबाट अहिलेसम्म करिब १०० जना साहित्यकारहरू पुरस्कृत तथा सम्मानित भई सकेका छन् । घोषणा गरिएका पुरस्कारहरू सधैँ झैँ आषाढ २९ गते भानुजयन्तिको अवसरमा वितरण गरिने जानकारी भएको छ ।

प्रतिक्रिया