अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 00:18

विजय चालिसेको ‘सर्पदंशित मेरो वर्तमान’: असहमति र मौन अपेक्षाको बिम्ब

गोपी मैनाली २०७८ जेठ २० गते ९:२३ मा प्रकाशित

मूलतः आख्यान विधामा परिचित साहित्यकार विजय चालिसे नियात्रा, निबन्ध र सामयिक लेखहरूमा पनि प्रशस्त कलम चलाउँछन् । उनकै शब्दमा उनको प्रिय विधा कथा हो । धेरैले उनलाई कथाकारकै रूपमा चिन्दछन् । पत्रकारिता र स्तम्भ लेखन जस्ता विषयलाई वृत्ति बनाउनेहरू निबन्धकार बन्न पुग्नु स्वाभाविक हो । निबन्धको बृहद परिभाषाभित्र अमुक विषयको गहन विश्लेषण र सम्पादकीयहरू स्वतः समेटिन पुग्छन् । निबन्धकार चालिसेलाई पत्रकारिताको लामो वृत्तिले त्यसो गर्ने अवसर दिएको छ । यस्ता निबन्धहरू तथ्य टिप्न, तिखो व्यङ्ग्य हान्न, गहन विश्लेषण गर्न र समाजलाई स्पष्ट दिशा दिन सफल हुन्छन्, त्यहाँ सान्दर्भिकतालाई निकै महत्त्व दिइएको हुन्छ । यस्ता निबन्धहरू विषयको रौचिरा विश्लेषणका साथ खोजमूलक पनि हुने गर्छन् । त्यसैले वृत्तिले निबन्ध साहित्यमा खारिने निकै सीमितमा पर्छन् निबन्धकार विजय चालिसे ।

आख्यान र कविता विधाका सापेक्षमा निबन्ध विधा कमजोर छ । समकालीन नेपाली साहित्यमा बहुत थोरै निबन्धकारहरू देखिएका छन्, तिनमा पनि कृतिका रूपमा झनै थोरै । मनका उकुसमुकुस, खुल्दुली र कल्पनालाई उतार्न निबन्ध विधा निर्बन्ध छ । त्यसैले अन्य विधाका तुलनामा निबन्ध झनै सशक्त छ । तर किन कृत्तिका रूपमा निबन्धहरू कम छन् त ? विषयवस्तुको प्रस्तुतिमा सौन्दर्यचेतले साथ दिनुपर्ने कारण हम्मेसी सबै आलेखहरू निबन्ध बन्न सक्दैनन्, बनाउन सकिँदैन । मनको उहोपोह पस्कन भावको गहिराइ र कलाको लेपन भएपछि त्यो निबन्ध बन्दछ । नियात्रा, दैनिकी, जीवनी र अरू गद्यात्मक प्रस्तुति राम्रा भए पनि निबन्ध नबन्न सक्दछन् । तर पनि बृहद परिभाषामा यी सबै निबन्ध हुन् पनि भन्ने गरिएको छ ।

निबन्धमा जतिखेर पनि सर्जक आफैलाई प्रकाश पारिरहेको हुन्छ । निबन्ध आफ्नै मनको प्रकाशन, आफ नै मस्तिष्कको चिन्तन र आप्mनै अनुभूतिको अभिव्यक्ति हो । पहिलो निबन्धकारका रूपमा चिनिएका फ्रान्सेली साहित्यकार मिसेल डे मोन्टे आफ्ना निबन्धको विषय आफै हुने बताउँदछन् । भनिएला सबै विधामा स्रटा नै व्यक्तिएको हुन्छ नै । तर निबन्धमा त्यो व्यक्त्याइको क्षितिज निकै फराकिलो हुन्छ । त्यसैले ‘निबन्ध’ भनिएको हो । बन्धनरहित अभिव्यञ्जना भएकाले स्वाभाविक रूपमा यो कथाहीन हुन्छ, तर सन्दर्भ र विषयहीन हुँदैन । एउटा स्थूल सन्दर्भका वरिपरि धेरै उप–सन्दर्भहरू गाँसिएर रङ्गिन माला बनेको हुन्छ । देवकोटाका निबन्धहरू यही प्रवृत्तिमा शिखर चुमेका छन् ।

शङ्कर लामिछाने भने कल्पनाभन्दा भावलाई प्रधानता दिन्छन् । उनका निबन्धले मनका भाव वृत्तिलाई गहिराइमा गएर उदिन्छ । जनकलाल शर्मा, बदरीनाथ भट्टराई भने प्रवन्धकीय रचनामा विषयवस्तु केन्द्रित हुन्छन् । निबन्धकार विजय चालिसे यस धारसँग नजिक रहेर समाज, समय र जीवन वृत्तिको त्रिकोणीय बिम्ब उतार्ने गर्दछन् । विचार र विवेचना उनको प्रवृत्ति हो ।

‘सर्पदंशित मेरो वर्तमान’ सत्ताइस छोटा निबन्धहरूको सँगालो हो । सङ्ग्रहित निबन्धहरू विभिन्न समयमा विभिन्न पत्रिकामा प्रकाशित भैसकेका छन्, तिनीहरूले पुस्तकको आकार मात्र अहिले पाएका हुन् । समयको अन्तरालमा हेर्दा ती करिब चार दशकभित्र लेखाएका छन् । तर तिनीहरूले समातेको विषय र सन्दर्भमा भने तात्त्विक अन्तर छैन । किनकि चार दशक अघिदेखि नेपाली समाज एक प्रकारको सङ्क्रमणको भुमरीमा पर्दै आएको छ, जुन अद्यापि छ । त्यसैले लेखकको मन सर्पदंशित छ । लेखकको मात्र वर्तमान होइन, नेपालीको वर्तमान सर्पदंशित छ, लेखक त बिम्ब मात्र हुन् यस अवस्थाका ।

सङ्ग्रहका सबैजसो निबन्धले समाजका बेथिति, उकुसमुकुस र छटपटीलाई टिपेका छन् र प्रत्येक निबन्धले एउटा उन्मुक्तिको खोजी गरेको छ । निबन्धकारलाई वेश्यावृत्ति वा जीवन वृत्तिमा गढेको सामाजिक विषय टिपिएको छ र त्यसलाई वल्टाइ–पल्टाइ रौचिरा विश्लेषण गरिएको छ ता कि निबन्धले इच्छित निष्कर्ष दिन सकोस् ।

सङ्ग्रहको पहिलो निबन्ध ‘सर्पदंशित मेरो वर्तमान १’ मा निबन्धकारभित्र एउटा छटपटी र उकुसमुकुस छ, सामाजिक सङ्क्रमणको पीडा र विसङ्गतिको औडाहा छ । राजनीतिभित्र मौलाएको विकृति, संस्कृतिमाथि भएको अतिक्रमण र जवर्दस्त आधुनिक देखिन चाहेको समाजको चित्र उतारिएको छ । मानिस सौन्दर्यका नाममा विक्री भइरहेका छ, तैपनि त्यसैमा रमाएको छ । शक्ति र राजनीतिले पनि किचिँदै छ, तैपनि बेपर्बाह र विन्दास छ । यसले मानिसको स्वत्व नै हराउँदै गएको होइन भन्ने प्रश्न उठाएको छ । समाजका यसखाले गतिविधिबाट निबन्धकार निराश छन् । तर सपना र आशा पुरै टुटिसेको छैन । ‘आशा नै जीवन हो र जीवन नै आशाको मूल हो’ भन्ने निष्कर्षमा पुग्छन् । चेतनामा चुनौती हुन्छ, मानिस अनन्त चुनौतीको सामना गर्दै आशा देख्दै यहाँसम्म आइपुगेको छ । त्यसैले विकृति, विसङ्गतिलाई पन्छ्याएर बाँच्न सन्देश निबन्धले दिन्छ ।

‘लाहुरे बनाउँदै छ मलाई मेरो देश’ मा निबन्धकारको अर्कै चिन्ता छ । दरिला पाखुरीहरूलाई विदेश लघारेर देश खाक्रो बन्दै गएको पीडा छ । सम्भावना र शक्ति निख्रिएपछि देश के होला भन्ने व्यग्र चिन्ता छ । साथै राष्ट्र प्रेम छचल्किएको छ । माटो र मुटुको एकत्व अनुभूति खोजिएको छ । नेपालीहरूमा निर्वासनको पीडा र मानसिक रूपमा हुर्किएको हीनताबोधले राज्यको नीति राष्ट्र बनाउन, बलिष्ठ पाखुराका सम्भावनाहरू राष्ट्र निर्माणमा उन्नयन गराउन लक्षित हुनुपर्ने बिम्बात्मक प्रस्तुति छ । निबन्धको प्रस्तुति र सन्दर्भ विश्लेषण जर्नालिस्टिक छ, जसले समस्यालाई उदिन्छ र समाधानको सूत्र खोज्न सम्बद्धलाई घोच्छ । कल्पनाशीलता भरिएका निबन्धले त्यो सूत्र दिन सक्दैन, भावपरक निबन्धले पनि त्यो सूत्र दिन सक्दैनथ्यो ।

‘बुद्ध रुवाएर खै कसरी स्वागत गरौँ नयाँ वर्षलाई’ आफ्नै कारण अस्थिरता र हिंसातर्फ अग्रसर नेपालीलाई शान्ति, स्थिरता र विकासको कामना गरिरहेको छ । हो नयाँ वर्ष अर्थहीन, उपलब्धिहीन र मूल्यहीन हुनुहुँदैन । क्यालेन्डरका पाना पल्टिनु मात्र नयाँ वर्ष होइन । असलमा नयाँ वर्ष असल सुरुवात, ‘ग्राण्ड स्टाटर्’ हुनुपर्छ, जसका लागि हाम्रो मनोवृत्ति र प्रवृत्ति पहिला परिवर्तन हुनुपर्दछ । नयाँ वर्षले सबै नेपालीसँग साङ्केतिक रूपमा यही मागेको छ ।

‘द्वन्द्व र सहिष्णुता’ धर्म र आस्थामा विभाजित अनि द्वन्द्वित विश्व समाजलाई समन्वय र मानवताका लागि जोडदार आह्वान हो, हुर्किँदै गएको विदेशको मोह उपभोक्तावादी संस्कृति र बढ्दो डायस्पोराको विश्लेषण हो । डायस्पोराहरू मन मातृभूमिमा र कर्म अर्कै भूमिमा गर्ने विवशतामा हुन्छन् । विदेशको मोहले मानिसलाई अन्ततः यही विवशता पु¥याइदिन्छ । विदेशको मोहले मानिसमा कस्तासम्म विकृति भित्रिएका छन्, र ती विसङ्गतिले समाजलाई कसरी अपभ्रंशतिर धकेल्दै छ भन्ने भन्ने गहिरो चिन्तन छ । मानिसको गतिशीलताले नै सम्बन्ध, पहिचान र केही हदसम्म समृद्धि÷शान्ति स्थापनाको आधार दिन्छ तर निबन्धकार उदार राष्ट्रवादका पक्षमा भन्दा पनि नेपालीपन र संस्कृति नविग्रियोस भन्ने चिन्तामा छन् । उदार राष्ट्रवादले बिस्तारै राज्यका सीमाहरू भत्काएर मानिस, पुँजी र प्रविधिलाई वेगवान गतिशीलतामा लगेको छ र पूर्वीय दर्शनले भनेझै ‘बसुधव कुटुम्कम’ को भावना हुर्काऊ भन्छ ।

‘पहिला आप्mनै रूपान्तरण’ असल सोच र परिवर्तन स्वयम् आफूबाट हुनुपर्छ भन्ने आग्रहमा केन्द्रित छ । हुन पनि हो, मानिस अरूको गल्ती कमजोरी देख्छ आफ्नो भने देख्दैन । अरूको स्वभाव परिवर्तन गराउने कुरा निकै असजिलो हो, त्यसैले आफू सच्चिए, आफ्नै परिवर्तन गर्न सके सबै आफूहरूबाट समाजको बिम्ब नै बदल्न सकिन्छ । नेपाली समाजमा विकास भएको आरोप संस्कृति र नकारात्मकतालाई गतिलो व्यङ्ग्यात्मक सन्देश पनि हो यो निबन्ध । जो आफै सच्चिएका छैनन्, तिनिीहरुले अरूलाई असल बन भन्ने नैतिक सामर्थ्य र विषयको स्वामित्ववोध कसरी गर्न सक्लान् ? तैपनि नेपालजस्तो तेस्रो विश्वमा यो संस्कृति विस्तारित छ । सायद आफू नसुध्रीकन अरूलाई सुध्रिन उपदेश दिनेलाई निबन्धले निकै घोच्छ होला ।

लेकतन्त्रको संस्कार र सभ्यता बसिनसकेको समाजमा विकास भौतिक संरचनाको निर्माणका सापेक्ष्यमा लिइँदै आएको छ । भाषा र साहित्यलाई प्राथमिकतामा राखिँदैन । ‘भाषाले देश बन्दैन’ निबन्ध भाषा, साहित्य र कला संस्कृति संरक्षणले माटो र मानिस, मानिसका मौलिकता प्रतिको ममत्वपूर्ण विश्लेषण हो । नेता र जिम्मेवारीमा बस्नेहरू भाषा साहित्यप्रति संवेदनशील बन्नुपर्छ । भावुकता र कविताले देश बन्दैन भन्ने सोच ठुला भनाउदाहरूमा रहेकाले राष्ट्रिय पहिचान र स्वत्व कमजोर भएर गएकोमा निबन्धकार दुखी छन् । किनकि भाषा संस्कृति जस्ता राष्ट्रका अमूर्त मौलिक पहिचानमाथि आक्रमण गरेर नै कुनै मुलुकलाई ध्वस्त बनाउन सकिन्छ भन्ने बेलायती सामज्यको रणनीति थियो । लर्ड मेकालेले यसलाई भारतमा राम्ररी अभ्यास गरेरे नै भारतलाई बेलायती उपनिवेश बनाउन सफल भएका थिए ।

‘कस्तो आदर्श’ पनि विदेश मोहमा रहेका, विदेशी संस्कारमा रहेका र आप्mनोपनबाट विषयान्तर हुँदै गरेका नेपालीहरूको विश्लेषण हो, ‘भाषाले देश बन्दैन’ को निरन्तरता हो । नेपाली समाज क्रमशः पश्चिमी संस्कृतिको नक्कलमा छ, पश्चिमी संस्कृतिमा नै समाहित हुन खोज्दै छ । त्यति मात्र होइन, र्वयक्तिकता र निजत्को नाममा निमानवीकृत पनि बन्दैछ । ‘भानु ह्यारी पोर्टर र सञ्चार अभियान’ पनि भाषा, साहित्य र आमसञ्चारमा केन्द्रित छ ।

‘सकारात्मक कुरा पनि सिक्ने हो कि ?’ मा पहिला आप्mनै रूपान्तरण का चित्रहरूले निरन्तरता पाएका छन् । निबन्धहरू पढ्दा थाहा हुन्छ कि निबन्धकार देश, समाज र संस्कृतिप्रति सधैँ चिन्तित छन् । व्यक्ति र संस्थाहरू सकारात्मक वृत्तिमा गएपछि मुलुक र समाजका धेरै समस्या स्वतः समाधान हुन पुग्छन् । नेपाली समाजका सबै आयामहरूमा नकारात्मकताबाट ग्रसित बन्दैछ । संस्थाहरूभित्र रहेका सकारात्मक सोच वृत्ति राख्नेहरू पनि पलायन हुदैछन् । त्यसैले सकारात्मकता चाहिएको छ, असल सोच, असल संस्कार र असल कार्य चाहिएको छ । एउटा लेखक यहाँभन्दा बढी के भन्न सक्छ र ?

‘धर्म के हो ?’ मा धर्मलाई मानवता सापेक्ष आचरणका रूपमा लिइएको छ । ईश्वर र धर्मलाई देखाएर मानिसलाई गलत बाटो नहिँड्न निर्देश गरिएको छ । धर्मले मानिस मानिसबिच सहकार्य र सहयोग गर्ने वृत्ति दिनु पर्दछ न कि विभाजन र विग्रह । परोपकार, अहिंसा र प्रेम धर्म हो, धर्म नामको ईश्वर प्रदत्त संहिताले मानिसलाई परोपकार, अहिंसा र प्रेमतर्फ अभिमुख गराइने नीति दिन्छ । तर एक व्यक्तिले अर्को व्यक्तिलाई वाधा पु¥याए त्यो धर्म नभै कुधर्म हुने निष्कर्ष निबन्धकारको छ । धर्मले समस्त मानवप्रति जिम्मेवार, प्रत्येकप्रति प्रत्येक जिम्मेवार हुने, समस्त जीव चराचरप्रति स्नेहभाव राख्ने आचरण दिनु पर्दछ । फेरि पनि यो लेखकीय आग्रह हो तर यथार्थ धर्म अधर्म गरिरहेको छ । धार्मिक अभियन्ताहरू मानवीयता संरक्षणमा होइन, विग्रह र द्वन्द्व जगाउनमै केन्द्रित छन् । धर्मका नाममा अधर्म फैलिनु धर्मको नै अपमान हो ।

‘भेलेन्टाइन डे’, ‘ग्ल्यामरको खोजी र नेपाली समाज’, ‘चरित्रहीनताको उद्घोष’, ‘आजाजुजे हा’ र ‘आजको मान्छेको अनुहार’ शीर्षकका निबन्धहरू स्खलित हुँदै गएको मानव मूल्य र मौलिक पहिचानप्रतिको विसद चिन्ताका अभिव्यक्ति हुन् । जुन चिन्ता निबन्धकारका अरू निबन्धमा पनि छताछुल्ल छ ।

‘आउनुहोस् सामूहिक आत्महत्या गरांै’, ‘नाकाबन्दीमा फसेको मेरो देश’, ‘बाँच्नु र बाँच्नु’, ‘कालो बादल र चाँदीको घेरा’ निराशा मिश्रित आक्रोश, देश प्रेम र मानवताका अभिव्यक्ति हुन् । ‘कोमल मन र कोमिलकहरू’ टेलिभिजन जस्ता श्रव्य दृश्य सञ्चार माध्यमले कलिला बालबालिकामा पार्ने प्रभावबाट बालबालिकालाई कसरी असल शिक्षा र संस्कार दिने भन्ने चिन्ताका स्वर हुन् ।

सङ्ग्रहमा समेटिएका सत्ताइस निबन्धहरूको साझा विषयवस्तु चिन्ता हो, समग्र विद्रदै गएको, विकृत हुँदै गएको र विङ्ंगतिले गाज्दै गएको समाजवृत्तिप्रतिको चिन्ता । राष्ट्रियता पातलिँदै गएको र पहिचान लियाउँदै गएको चिन्ता । र, यी चिन्ताप्रति साझा चिन्तन छ । सकारात्मकता, सृजनशीलता र समर्पणको आग्रह छ । तर त्यो कसरीको चुनौती पनि छ । चुनौती संशोधन गर्ने विषय वा वोधपक्ष (आफूवोध, पहिचानवोध, संस्कृतिवोध र राष्ट्रियतावोध) मा भने निबन्धकार सुझावहरू पस्किँदैनन् । उनलाई लाग्छ प्रत्येक पाठक विषयवस्तु परिगेलनपछि समाधानको सूत्रमा पुग्न आफै सक्षम छ, जुन सत्य सही पनि हो । निबन्धकारले केवल चिन्ता, चिन्तन र चुनौती उजागर गर्ने हो । यसले नै समाजलाई विवेकशील प्रजननमा अघि बढाउँछ ।

मैनाली निवास
क्षितिज मार्ग, शंखमूल ।