नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महशुस गरेर पार्टीको मर्म अनुसार अघि बढ्ने नेता कार्यकर्तालाई जिम्मेवारी दिइने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर आज बल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्ध उपद्रो गरेर हिँड्दा पनि कारबाही नगरेर सम्झाउने प्रयास गरिएको बताउनुभयो ।
गल्ती महसुस गरेर अनुशासनमा काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेको बताउँदै ओलीले यसलाई कसैले कमजोरी नठान्न पनि अनुरोध गर्नुभयो । कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोजे त्यो सम्भव नहुने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले मौका पाउनासाथ प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन आफूलाई साधारण सदस्यबाटै निकालेको उल्लेख गर्नुभयो ।