काठमाडौँ – वरिष्ठ सौन्दर्यबिच सोनी कारंजित नेपालको सौन्दर्य कला क्षेत्रको लागि परिचित नाम हो । विगत २ दशक भन्दा बढी समय सौन्दर्य क्षेत्रमा बिताई सकेकी सोनी कारंजित सौन्दर्य क्षेत्रमा विज्ञको रूपमा चर्चित छिन । उनले २० वर्ष अघि बाट रोज सिप विकास तालिम केन्द्र रवि भवन काठमाडौँको स्थापना गरी ब्यबसायिक रूपमा पार्लर व्यवसाय सुरु गरेकी थिइन्, अहिले यो पार्लर देशभर स्थापित र परिचित नाम बनिसकेको छ । १० हजार भन्दा बेसी महिला तथा पुरुषहरूलाई विभिन्न सिप सिकाएर स्वरोजगार तथा आत्मनिर्भर बनाइसकेकी उनले सुरुवाती समयमा निकै कठिन परिस्थितिमा आफूले काम गर्न परेको अनुभव सुनाउँछिन् । सौन्दर्य पेसालाई मर्यादित तथा उद्योगको रूपमा स्थापित गर्न लागिपरेकी वरिष्ठ सौन्दर्यबिच सोनी कारंजित सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छिन । सौन्दर्यकर्मीहरूको मनोबल बढाउन व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिको लागि ब्युटिसियन ट्यालेण्ट नेपालको आयोजना गर्दै आएको र उनीहरूको कामलाई सम्मान गर्न नेपाल ब्युटिसियन एण्ड फेसन अवार्डको समेत आयोजना गर्न लागेको उनले बताइन । उद्योग व्यवसाय, महिला सशक्तीकरण, सामाजिक कार्य र नारी हकहितमा दरिलो खम्बा बनेकी वरिष्ठ सौन्दर्यबिच सोनी कारंजितसँग गरिएको संक्षिप्त कुराकानी:
नमस्कार ! आजभोलि के गर्दै हुनु हुन्छ ?
– नमस्कार आजभोलि ब्युटी ट्रेनिङ सेन्टरमा नै व्यस्त छु। १०० जना बेसी बिद्यार्थीहरु ब्युटिसियन कोर्स, सिलाइ बुनाइ तथा हस्तकलाको प्रशिक्षण लिइरहेका छन्। त्यसै गरी विभिन्न सेमिनार, प्रशिक्षण, विभिन्न कार्यक्रमहरूमा निर्णायकको भूमिकामा दिनचर्या बितिरहेको छ।
तपाईँको विचारमा सुन्दरता के हो ?
– सुन्दरतालाई समय, ठाउँ र सन्दर्भअनुसार फरक फरक रूपले अर्थाइन्छ। कसैका लागि सुन्दरता सुन्दर अनुहार होला, सुन्दर अनुहार पनि कालो, गोरो, गहुँगोरो विभिन्न पर्न सक्छन्। कसैलाई सुन्दरता मन होला, कसैलाई सुन्दरता व्यक्तित्व लाग्न सक्छ अनि कसैलाई आकर्षण र आत्मविश्वास पनि मानिसको सुन्दरता लाग्न सक्छ। मेरो विचारमा सुन्दरता भनेको भावनात्मक कुरा हो, जसलाई एउटै विशेषण र परिभाषाभित्र सीमित राख्न सकिँदैन। यसका विविध आयाम हुन्छन्। यसलाई विविध आयमबाट व्याख्या एवं विश्लेषण गर्नुपर्छ। जस्तो भूगोल, वर्ण, जातजाति, लिङ्ग, वर्ग, समुदाय संस्कृतिअनुसार सुन्दरताको परिभाषा फरक फरक हुन्छ। प्रकृतिले नै हरेक मानिसलाई जन्मजात केही न केही सुन्दरता दिएको छ । हामी सौन्दर्यकर्मीको त्यसैलाई अलिकति निखार ल्याइदिने हो। उनीहरूको रूप–रङ्ग र जीऊडाल अनुसार मेकअप द्वारा सजाइदिने हो भने बाहिरी आवरणलाई सुन्दर बनाइदिने हाम्रो काम हो। यो त भयो बाहिरी सुन्दरताको कुरा तर मेरो बिचारमा एउटा सुन्दर व्यक्ति बन्नका लागि दृश्य र अदृश्य अर्थात् बाहिरी आवरण र भित्री मन दुवै आकर्षक हुनुपर्छ ।
सौन्दर्य कला व्यवसायमा पहिले र अहिलेको अवस्था कस्तो छ ?
– सुरु सुरुमा सौन्दर्यकर्मीलाई आम मानिसले राम्रो नजरले हेर्दैन थिए, विभिन्न आक्षेपहरू लगाउने गर्थे तर बिस्तारै समय परिवर्तन हुँदै गयो, मानिसहरूको सोच परिवर्तन हुँदै गयो, अत्यधिक मान्छेहरू पार्लर धाउन थाले, आफ्नो सौन्दर्य प्रति सचेत हुन थाले। अहिले सौन्दर्य-कला व्यवसाय महिला दिति-बहिनीहरुको लागि एउटा मर्यादित पेसा बनेको छ। स्वरोजगार तथा आत्मनिर्भर हुने एउटा दरिलो पाटो भएको छ। त्यसैले अहिले सौन्दर्य-कला व्यवसायमा आकर्षण बढेको छ भने अनुहार र शरीरमा देखिएको उसको सौन्दर्यले अन्यलाई आकर्षण वा विकर्षण के गर्छ भन्नेमा भर पर्छ। यसर्थ मानव जीवनमा र उसको व्यक्तित्वमा सौन्दर्यले ठुलो भूमिका खेलेको पनि हुन्छ । त्यसैले पनि होला अहिलेको अवस्थामा सौन्दर्यकर्मीको माग र इज्जत पनि उत्तिकै बढ्दो छ ।
तपाईँले किन यही क्षेत्र रोज्नुभयो ?
– म आत्मनिर्भर र स्वाभिमानी महिला बन्न चाहन्थे, पहिलो त यो मेरो सानै देखिको रुचिको विधा–क्षेत्र हो, दोस्रो, सौन्दर्य कलामा नै मैले आफ्नो भविष्य सुनौलो देखेँ । अहिले अन्यको तुलनामा सौन्दर्य कलाको क्षेत्रमा नै नाम र दाम छ पनि छ । फेरि सानैदेखि आफ्ना साथीहरू भन्दा मेरो सोच र सोख पृथक् थियो। लवाई खवाइ र सौन्दर्यमा विशेष ध्यान दिन्थेँ । घर बस्दा होस् या स्कुल जाँदा वा बाहिर फेर कतै निस्कँदा नै किन नहोस्– आफू अरूको तुलनामा फरक देखिन चाहन्थेँ । त्यसैले शरीर सुहाउँदो कपडा लगाउने मात्रै होइन– त्यहीअनुसार मिल्दो शृङ्गार पनि गर्दथेँ । त्यति बेलै मैले भविष्यको गन्तव्य पहिल्याउन थाले। अन्ततः मेरो सपना साकार पनि भयो र म ब्युटिसियन बने ।
सौन्दर्य पेसाको भविष्य होला ?
– सौन्दर्य पेसाको भविष्य सुनौलो छ । किनभने यो सबै आवश्यकता र समयको माग हो । विवाहदेखि, पार्टी, फोटो सुट, म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, फेशन सो आदि सबैमा सौन्दर्य कला र कलाकर्मीको आवश्यकता पर्छ । त्यसैले अहिले प्रशिक्षण लिन आउनेको सङ्ख्या पनि बढेको छ । फेरि मेकअप आज चाहिने, भोलि नचाहिने भन्ने हुँदैन । मेकअप आर्टिस्टले बेरोजगार बस्नुपर्दैन । त्यसैले आजभोलि मेकअप आर्टिस्टको माग क्रमशः बढ्दो छ । पहिलेजस्तो होइन, अहिले नेपालीको सोचमा पनि आमूल परिवर्तन आएको छ । केही समय अघिसम्म नेपालमा सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । तर, समय परिस्थितिसँगै व्यक्ति र समाजको सोचमा पनि आमूल परिवर्तन आएको छ । अझ पछिल्ला दिनमा त मानव जीवनको लागि सौन्दर्य सिँगार अपरिहार्य जस्तै बनेको छ । त्यसैले सौन्दर्य पेस व्यावसायिक रूपमा नै द्रुत गतिमा फस्टाउन थालेको छ । ब्यबसायिक सौन्दर्यकर्मीको आम्दानी समेत मनग्य हुन्छ। यो पेसा घरमानै बसेर पनि गर्न सकिने भएकोले हजारौँ महिला दिदी बहिनीहरूको रोजाइको पेसा भएको परिपेक्षमा सौन्दर्य पेसाको भविष्य सुनिश्चित छ। यो व्यवसायमा आबद्ध भएपछि, लगनशील, आत्मनिर्भर, स्वावलम्बी र साहसी मात्रै बनेका छैनन्– समाजसेवातर्फ पनि पाइला अघि बढाइरहेका छन् ।
सौन्दर्य-कला क्षेत्र अङ्गालेर तपाईँ सन्तुष्ट हुनुहुन्छ ?
-मैले आज सम्म १० हजार भन्दा बेसी सौन्दर्यकर्मी उत्पादन गरिसकेकी छु। धेरैलाई स्वरोजगार र आत्मनिर्भर बनाएकी छु। यदि म आत्मा सन्तुष्ट थिएन भने विगत २ दशक देखि यही पेसामा आबद्ध हुने थिइन् होला। मलाई हजारौँ महिला दिदीबहिनीको आशीर्वाद छ, सबै बिद्यार्थीहरु मेरो लागि समान छन्। उनीहरूको हरेक सुख दुखमा साथ दिने गरेकी छु। देश भरि बाटनै रोज सिप विकास तालिम केन्द्र रवि भवनमा सौन्दर्य-कला सिक्ने आउने मानिसहरूको भिड छ। मैले आज सम्म कमाएको मेरो धन सम्पत्ति ख्याति जे भनिने मेरो स्टुडेण्टहरु नै हुन्। सौन्दर्य-कला क्षेत्रमा लागेर मैले देश विदेश घुम्ने, नयाँ नयाँ प्रविधि हेर्ने र टेक्नोलोजीहरू सिक्ने मौका पाए। यही पेसामा लागेर सामाजिक कार्यमा सक्रिय भएको छु, नारी सशक्तीकरणको विषयमा, महिला स्वरोजगार, आत्मनिर्भरताको विषयमा आवाज उठाउन सक्ने भएको छु। यस अर्थमा पनि सौन्दर्य-कला क्षेत्रमा लागेर सन्तुष्ट छु।
नयाँ आउने सौन्दर्यकर्मीहरुलाइ के-कस्तो सुझाव दिन चाहनुहुन्छ ?
– नयाँ आउने नव सौन्दर्यकर्मीहरुलाइ के भन्न चाहन्छु भने, सौन्दर्यकला व्यवसाय एक मर्यादित पेसा हो। हामी महिला दिदीबहिनीहरू आत्मनिर्भर भएर स्वरोजगार बन्न सक्ने व्यवसाय हो। यो पेसामा आउनु भन्दा अगाडी राम्रो एकेडेमी, ट्रेनिङ सेन्टरमा गएर दक्ष प्रशिक्षक मार्फत तालिम लिनु होला। नयाँ-नयाँ प्रविधिहरू नयाँ नयाँ टेक्निकहरूको विकास भइरहेको हुँदा आफूलाई सधैँ अपडेट राख्नु होला। सिटीइभिटि बाट हुने स्किल टेस्टमा भाग लिएर आफूलाई समेत दक्ष बनाउन हुन सुझाव दिन्छु।
सामाजिक कार्यमा समेत तपाईँ सक्रिय हुनुहुन्छ, के कस्ता कामहरू गर्दै हुनुहुन्छ ?
– मैले सयौँ एकल महिला, पीडित, असहाय तथा निम्नाबर्गका महिला दिदीबहिनीहरुलाइ निःशुल्क सौन्दर्यकला, हस्तकला तालिम प्रदान गर्दै आएको छु। धेरैलाई रोजगारीको अवसर दिएको छु। म एकदम कोमल हृदयको महिला हुँ, अरूको दुख पिडा देख्न सक्दिन। हामी सामाजिक प्राणी भएर जन्मे पछि समाजको लागि समेत ठोस योगदान पुर्याउनु पर्छ जस्तो लाग्छ तसर्थ मैले विभिन्न माध्यम बाट आफूले सक्ने सहयोग गर्दै आएकी छु। लकडाउनको समयमा खाना वितरण देखि राहत वितरण सम्मको कार्यहरू गरेको छु। मानिस आफैले चाहेर कोही पनि अनाथ र गरिब हुने होइन त्यसैले आफूले आर्जन गरेको रकम बाट केही प्रतिशत सामाजिक कार्यमा लगाउने गरेकी छु। अरूको लागि बाच्नुमा पनि आत्मसन्तुष्टि मिल्छ।
जीवनको अर्थ के हो ?
– जीवन आफ्नो लागि मात्र जिउनुको कुनै अर्थ हुँदैन, हामी सामाजिक प्राणी भएकोले गर्दा देश र समाजको लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्छु। यो देशलाइ समृद्ध अनि विकसित बनाउने जिम्मा हाम्रो पनि हो । काम गर्दै जाँदा कहिले राम्रो हुन्छ कहिले नराम्रो हुन्छ तर पनि हामी आफ्नो लक्ष बाट विचलित नभई राम्रो कामको लागि अगाडि बढ्नु पर्छ तसर्थ जीवन सुख दुख, हाँसो र रोदनको सम्मिश्रण पनि हो ।
अन्त्यमा सोध्न छुटेको र भन्न चाहेको केही कुराहरू छन् कि ?
– सर्वप्रथम त नयाँ वर्ष २०७८ को सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। फेरि पनि हामी अहिले कोरोनाको चपेटामा फस्दै गएका छौ। विश्वको अर्थतन्त्र कोभिड-१९ ले गर्दा धरासायी बनिरहेको अवस्थामा हामी अहिले राजनीति सङ्कटमा समेत फसेका छौ। यस्ता कुराहरू बाट विचलित नभई सबैले सावधानीपूर्वक आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न अनुरोध गर्दछु। कोभिड तथा देशको ताजा स्थितिले गर्दा हाम्रो सौन्दर्य पेसामा समेत ठुलो असर परेको हुँदा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु। यदि तपाइहरू पनि दक्ष र ब्यबसायिक सौन्दर्यकर्मी बन्न चाहनुहुन्छ भने सदैव रोज सिप विकास तालिम केन्द्रको ढोका खुला रहनेछ। यदि तपाई आर्थिक स्थितिमा कमजोर हुनुहुन्छ तर केही काम गर्ने इच्छाशक्ति छ भने पनि सम्झनुहोला तपाइँहरुलाई हामी एक सक्षम र स्वरोजगार नागरिक बनाउनेछौ । धन्यवाद ।