अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 15:46

फागु विशेष साहित्यिक कार्यक्रम सम्पन्न

लक्ष्मण न्यौपाने २०७७ चैत २० गते ८:२२ मा प्रकाशित

सिकागो, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा रङहरूको पर्व, फागुसँगै विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली भाषा, साहित्यको संरक्षण र संवर्धनको महान् अभियान बोकेर अघि बढिरहेको यस संस्थाले नेपालका चाडपर्वहरू विशेष एवं विभिन्न विशिष्ट साहित्यकारहरूका जन्म-जयन्तीलगायत कार्यशाला तथा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यसै क्रममा यस पटक अमेरिका तथा क्यानडा भरिका अनेसास च्याप्टरहरूलाई समेटेर फागु विशेष साहित्यिक रचना वाचन कार्यक्रमको आयोजना गरेको हो । अमेरिका तथा क्यानडा गरी २२ च्याप्टर मध्यबाट १७ च्याप्टरका तीन दर्जन जना सर्जकहरूको सहभागिता रहेको यो कार्यक्रम अनेसास उत्तर अमेरिका क्षेत्रीय समितिको छैठौ संयोजन थियो ।

कार्यक्रममा बि ओटी उपाध्यक्ष एवं पूर्व केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, ‍बि ओटी उपाध्यक्ष पुरु सुवेदी, केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, केन्द्रीय उपाध्यक्ष एवं अनेसास उत्तर अमेरिका क्षेत्रका संयोजक राजेन्द्र श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष कृष्ण गिरी, ट्रस्टी सदस्य तीर्थराज अधिकारी, केन्द्रीय सदस्य तारा अधिकारी लगायतको उपस्थिति रहेको थियो भने विभिन्न च्याप्टरहरूबाट प्रतिनिधित्व गर्दै भगवती पौडेल, चम्पा भट्टराई पाण्डे, उमा शर्मा, गीता बस्नेत, लाल चौलागाई, गीता बजगाई, रिता देवी प्रधान, शकुन ज्ञवाली, जानुका बस्ती ढकाल, शान्ता अधिकारी, साधना शर्मा, दीप कार्की, अमरबहादुर कार्की, तिलक कार्की, लक्ष्मण न्यौपाने, समुद्र बास्कोटा, तिल रूपा आचार्य, रोहित भण्डारी, डा, नरेन्द्र भट्टराई, डा, खगेन्द्र गौतम तथा ईश्वर बगाले लगायतका पदाधिकारी एवं सर्जकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अधिकांश रचना फागु पर्वलाई समेटेर लेखिएका थिए । रचनाहरूमा परदेशीलाई जन्मभूमि, मातृभूमिबाट टाढा रहेको पीडा , पर्वमा छुटेका मीठा सम्झनाहरू, भावनाहरू समेटिएका थिए भने केही अन्य विषयमा रचिएका मिठा कविता, गीत, गजल, मुक्तक प्रस्तुत भएका थिए । झन्डै ३ घण्टा लामो रचना वाचन कार्यक्रम निकै मधुर्यका साथ र शृङ्खलाबद्ध रूपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा आफ्नो रचना वाचनसँगै बि ओटी उपाध्यक्ष पदम विश्वकर्माद्वारा यस्ता कार्यक्रमहरूको आयोजनाले साहित्यिक विकाश सँगसँगै च्याप्टरहरू बिचको सम्बन्ध एवं च्याप्टर र केन्द्रबिचको सम्बन्धमा निकटता ल्याउन विशेष भूमिका खेल्ने हुँदा आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना हुनुपर्ने कुरामा विशेष जोड दिँदै फागु पर्वको सबैमा शुभकामना व्यक्त गरिएको थियो ।

संयोजक, राजेन्द्र श्रेष्ठद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा सबै उपस्थित सहभागीहरूलाई पदीय आसन ग्रहण मात्र गराएर नौलो र सरल पाराले अघि बढाइएको उक्त कार्यक्रम गोर्खाली भ्वाईस अनलाइन मिडियाले आफ्नो फेसबुक एवं यू-टुब च्यानल मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो ।

सम्बन्धित सामग्रीहरू