कविता
शासकले शासितलाई
जति गुमराहमा राखे पनि
बलियोले निर्धोलाई जति दमन गरे पनि
आत्म चेतनाका आवाजहरू
मुक्तिका आवाजहरू आफै उठ्न थाल्छन्
तानाशाहहरूले बुलेट प्रुफ घर गाडी,बॅगाला
पानीजहाज र हवाईजहाज नै बनाए पनि
सर्व साधारणलाई जति निषेध गरे पनि
मुक्तिको आवाज बन्द हुनै सक्दैन
हुने कुरा नै हैन ।
कोसिस त के गरिँदैन र ?
कलमका निबहरू भाँच्ने कोसिस गरिन्छ
तराजुहरू नास्ने कोसिस गरिन्छ
स्वतन्त्र सार्वभौमिकता बेच्ने कोसिस गरिन्छ
अझै वाक स्वतन्त्रता माग्नेहरूलाई त
के पो गरिन्न होला सजाय
करेन्ट लगाइन्छ मुखमा, जिब्रो कटाइन्छ
छाला काढिन्छ ,रक्ताम्मे बनाएर
नुन, चूक दलेर खुर्सानी छरिन्छ
तैपनि मुक्ति खोज्नेआवाजहरू
कहिल्यै बन्द हुँदै हुँदैनन्
हुने कुरै होइन, हुन्न कदापि ।।
बन्दुकका नालले रोकिन्न अव आवाजहरू
तर्सँदैनन् शासित र निमुखाहरू
बरु बलि चढ्न नै तयार हुन्छन्
उमार्दै हजारौँ रक्तबीजहरू
जसले तानाशाहकै बलि लिन्छन्
धेरैको रक्त चुसी सकेको तानासाह
ढली हालोस् छिटै,छिटै
बली पनि शब्दको हो र ?
बली पनि अपमान र तिरस्कारको हो र ?
निर्दोष असॅख्य जनता र कलिला
मुनाहरूको हक र अधिकार विरुद्धको बली
रगतको बलि र होली पो त यो ए !
तानासाह ढल्न त छिटै ढलिहाल्
ढलेर जा, धरती छाडेर जा ।।।