काठमाडौँ– इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन) ले आयोजना गरेको तेस्रो संस्करणको डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले सर्वोत्कृष्ट डिजाइनरको उपाधि जित्न सफल भएकी छिन् ।
प्रतियोगितामा उनले ९७ जना डिजाइनरलाई पछि पार्दै मुख्य उपाधि जितेकी हुन् । उपाधिसँगै उनले १५ हजार रुपैयाँ नगदका साथै ग्वार्को, ललितपुरमा केज फिटनेस सेन्टरको तर्फबाट २५ हजार रुपैयाँ बराबरको फिटनेस प्याकेजसमेत जितेकी छिन् ।
प्रतियोगितामा फर्स्ट रनर्स अपको उपाधि उमा राइका मगरले जित्न सफल भइन् । मगरले उपाधिसहित १० हजार रुपैयाँ नगद तथा केज फिटनेस सेन्टरको तर्फबाट १७ हजार रुपैयाँ बराबरको फिटनेस प्याकेजसमेत पाएकी छिन् । प्रतियोगितामा राजन कुमार शाहले पाँच हजार रुपैयाँ नगद राशिसहित सेकेन्ड रनर्स अपको उपाधि जित्न सफल भए । उनले उपाधिसहित केज फिटनेस सेन्टरबाट दश हजार रुपैयाँ बराबरको फिटनेस प्याकेज समेत पाएका छन् । उनी प्रतियोगिताका एक मात्र पुरुष फेसन डिजाइनरको रूपमा प्रतिस्पर्धी बनेका थिए ।
यो प्रतियोगितामा लिडर अफ द इयरको उपाधि फेसन प्रशिक्षकहरू सबिन ढुङ्गाना तथा सारिका राईले जितेका थिए । प्रतियोगितामा आईआईएफटीमा अध्ययनरत फेसन डिजाइनरका ९८ जना फेसन डिजाइनरका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । बिपना थापाद्वारा कोरियोग्राफी गरिएको उक्त डिजाइनर प्रतियोगितामा मिस नेपालका आयोजक दिवाकरराज राजकर्णिकार, समाजसेवी उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनर महेश महर्जन, फेसन डिजाइन निभा श्रेष्ठ, सञ्चारकर्मी तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, फोटो पत्रकार हरिगोपाल प्रधान, पर्यटन व्यवसायी मिलन शाक्य आदि निर्णायकको रूपमा रहेका थिए ।
प्यासिफिक इभेन्ट म्यानेजमेन्टले व्यवस्थापन गरेको तथा सञ्चारकर्मी रोजिन शाक्यद्वारा सञ्चालित उक्त कार्यक्रममा गायक लाक्पा शेर्पाले आफ्नो साङ्गीतिक प्रस्तुत दिएका थिए भने विभिन्न कलाकारहरूले नृत्य समेत प्रस्तुत गरेका थिए । उक्त प्रतियोगिताको प्रमुख अतिथिमा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोज बहादुर न्याछ्यों रहनु भएको थियो ।
यो प्रतियोगितामा डिजाइनरहरू आफैँले तयार पारेका पहिरनमा र्याम्पमा प्रस्तुत भएका हुन् । त्यस क्रममा अधिकांश डिजाइनरहरूले आफ्नो पहिरनलाई उत्कृष्ट बनाउने सक्दो प्रयास गरेका थिए । र्याम्पमा आकर्षक क्याटवाक गर्दै प्रस्तुत भएका डिजाइनरहरू कुनै व्यावसायिक मोडलभन्दा कम देखिएका थिएनन् । यो डिजाइनर कन्टेन्टका प्रतिस्पर्धीहरू आईआईएफटीकै विद्यार्थी हुन् ।
ललितपुरस्थित याक प्यालेसमा आयोजना भएको ग्राण्ड फिनालेमा विद्यार्थीहरूको प्रस्तुति सोचे भन्दा उत्कृष्ट भएको आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाले प्रतिक्रिया दिएका दिएका छन् । बागबजार प्लाजा तथा मान भवन, ललितपुरमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्स गरेका विद्यार्थीहरूको आत्म विकास अविबृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरेको आईआईएफटीका निर्देशक शेर्पाले बताए । यसअघि सोनी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए ।