अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 21:36

सरकारले पर्यटकका लागि क्वरेण्टीन र कोरोना बीमाको व्यवस्था हटायो

बिआरटीनेपाल २०७७ चैत १३ गते ८:२४ मा प्रकाशित

सरकारले नेपाल भ्रमणमा आउने पर्यटकहरूको क्वरेण्टीन अवधि र कोरोना बीमाको बाध्यात्मक अवस्था हटाएको छ । यसअघि नेपाल आउने पर्यटकहरूले पाँच हजार डलर बराबरको कोरोना बीमा गरेको हुनुपर्ने र नेपाल आएपछि अनिवार्य एक हप्ता क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था रहेकोमा अब कोरोना बीमा आवश्यक पर्ने छैन भने नेपाल आएपछि गरिएको पीसीआर परीक्षणमा नेगेटिभ आएपछि पर्यटक घुम्न जान पाउने छन् ।

कोरोना बीमा र अनिवार्य क्वरेण्टीनका कारण यस पटकको वसन्त ऋतुमा पनि विदेशी पर्यटक आउन समस्या हुने व्यवसायीहरूको गुनासो थियो । अब पर्यटक नेपाल आइपुगेपछि उनीहरूकै खर्चमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ आएमा तत्कालै घुम्न जान पाउने पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताउनुभयो ।

कोरोना पोजेटिभ देखिएमा भने नेगेटिभ नआउञ्जेल होटल क्वरेण्टीनमा बस्नुपर्नेछ । पर्यटकका साथमा जाने नेपाली सदस्य तथा सहयोगीहरूले भने एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

यस्तै हवाई मार्गबाट आउने पर्यटकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन–अराइभल भिसासमेत सरकारले उपलब्ध गराउने भएको छ । नेपालमा पदयात्रा तथा साना हिमाल आरोहणका लागि आउने पर्यटकहरू छोटो बिदामा आउने भएकोले यो व्यवस्थाले पर्यटक आगमन बढाउने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले बताउनुभयो ।

अनिवार्य क्वरेण्टीन र पाँच हजार डलर बराबरको कोरोना बीमाका कारण आउँदो सिजनमा पनि पर्यटन व्यवसाय धराशायी हुने गुनासो गरिरहेका व्यवसायीहरू नयाँ व्यवस्थाले केही राहत दिने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय