अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 02:13

नर्थ क्यारोलाइनमा कथासङ्ग्रह “सम्बन्ध विच्छेद” सम्बन्धी भर्चुअल अन्तरक्रिया सम्पन्न

बिआरटीनेपाल २०७७ फागुन ८ गते २०:०४ मा प्रकाशित

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा फेब्रुअरी २०, २०२१ मा कथाकार धनमान श्रेष्ठको कथासङ्ग्रह “सम्बन्ध विच्छेद” सम्बन्धी भर्चुअल अन्तरक्रिया सम्पन्न भयो ।

दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा नेपाली साहित्यमा अरू साहित्यकार भन्दा फरक ढङ्गले कथा र लघुकथा लेखेर निरन्तर योगदान दिइरहनुभएका साथै विभिन्न गरिमामय पुरस्कार तथा सम्मानले सम्मानित साहित्यकार धनमान श्रेष्ठको साहित्यिक व्यक्तित्व कृतित्वमाथि छलफल गरियो । वहाँको परिचय दिने क्रममा डा. सुस्मा प्रधानले पाप गरेपछि मन्दिर गएर पखालिँदैन भन्ने सन्देश दिने वहाँको ४० वर्ष अगाडिको कथाको सम्झना गर्दै आफ्नो सानो मस्तिष्कमा ठुलो छाप छोडेको कुरा बताउनुभयो ।

वहाँको पुस्तक सम्बन्ध विच्छेद सम्बन्धी आफ्नो मन्तव्य राख्ने क्रममा कवि, कथाकार तथा उपन्यासकार निलम कार्की निहारिकाले जनतासँग सोझै सरोकार राख्ने विषय र त्यसलाई मिल्ने पात्रहरू छानेर लेखेको साहित्यले झन् धेरै यथार्थ बोलेको कुरा बताउनुको साथै समाजमा बढेको भ्रष्टाचारले देसलाई लागेको ऋण पछि जन्मने बच्चाहरू समेतलाई लाग्नु अपराध हो कि होइन भन्ने कुरालाई साहित्यकारले औँल्याइदिनुभएको कुरा बताउनुभयो । कवि साहित्यकार, अनेसासको वर्तमान वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाले नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरले साहित्यकार श्रेष्ठलाई निमन्त्रण गरेर यस्तो अन्तरक्रियाको कार्यक्रम गरेकोमा च्याप्टरलाई धन्यवाद दिनुको साथै साहित्यकार श्रेष्ठले आफ्नो साहित्यिक योगदानकै कारण मैनाली कथा पुरस्कार पाउनु भएको हो भन्नुभयो । त्यस्तै साहित्यकार मनोज प्रधानले साहित्यकार धनमान श्रेष्ठको साहित्यमा समस्या र समाधान दुवै पाइन्छ भन्नुभयो ।

पेसाले स्वास्थ्यकर्मी ८२ वर्षीय साहित्यकार श्रेष्ठले आफ्नो छोटो परिचय दिनुभएपछि वहाँको लेखन कसरी सुरु भयो ? किन स्वास्थ्यकै विषयहरू छान्नुभयो ? के ले लेख्न प्रेरित गर्‍यो ? छोटा कथा र लामा कथामा के फरक छ ? भन्ने सहभागीहरुको प्रश्नको उत्तरमा साहित्यकार श्रेष्ठ यसरी भन्नहुन्छ — कामका सिलसिलामा राजधानीबाट बाहिर जान्दा देखेका दुखहरू नै मेरो कथाका विषयहरू थिए र यस्तो हुनुहुँदैन भन्ने लाग्थ्यो । किन विभिन्न बहानामा गरिबहरू नै मारमा पर्छन् भन्ने कुराले मेरो मनमा कुरा खेलिरहन्थे । यसका लागि मैले केही गर्नुपर्छ भन्ने लाग्थ्यो । कसै कसैले विज्ञानका कुरालाई साहित्यमा लेख भन्थे तर मैले स्वास्थ्यका कुरालाइनै लेख्न सुरु गरेँ जसले मलाइ केही हदसम्म सन्तुष्ट पनि दियो ।

क्यान्सर रोग के हो, कसरी लाग्छ र लाग्न नदिन के गर्नुपर्छ भन्ने कुरालाई कुनै पात्रबाट बोल्न लगाएर एउटा डाक्टरले गर्ने काम साहित्यकार धनमान श्रेष्ठले गर्नु भएकोले वहाँका पुस्तक जति जनाले पढ्छन् तिनीहरूलाई केही न केही मात्रामा रोगको बारेमा जान्ने अवसर मिल्ने कुरा पुस्तक पढेपछि थाहा हुन्छ । ८२ वर्षको उमेरमा मलाइ २४ घण्टा समयले पुग्दैन भन्ने साहित्यकारले उमेरको उत्तरार्द्धमा पनि केही लेखिरहनुभएको केही गरिरहनुभएको सुन्दा आफूमा भएको जाँगरलाई जगाइ राख्नुपर्ने प्रेरणा जो कसैला पनि मिल्छ ।

साहित्यकार धनमान श्रेष्ठको जाँगरलाई सलाम ! साथै वहाँको आउन लागेको अर्को कथासङ्ग्रहलाई शुभकामना !

कार्यक्रमको दोस्रो चरणमा “भेलिन्टाइन डे’ विशेष कविता वाचन सम्पन्न भयो । नम्रता गुरागाईंको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव निर्मला राजभण्डारीले गर्नुभएको थियो । कविता वाचन गर्नेहरुमा संस्थाका सल्लाहकारहरू नगेन्द्र न्यौपाने, भूमि नेपाली, डा. नारायण राजभण्डारी, मनोज प्रधान, नगेन्द्र न्यौपाने, संस्थामा निरन्तर लागिरहने, स्थानीय तथा आमन्त्रित कविहरूमा डा.ऋषि बस्ताकोटी, शिखर दुलाल, शिशिर खनाल, सुजाता ढुङ्गेल, डा.अच्युत शर्मा, गीता बस्नेत, उमा शर्मा, गोवर्द्धन पूजा, रमेश गौतम, भगवती न्यौपाने, प्रभा पोख्रेल, सुस्मा प्रधान, महेन्द्र न्यौपाने र नम्रता गुरागाईं हुनुहुन्थ्यो ।

प्रतिक्रिया