कविता
खाली केटा र केटीको
कुखुरे बैँसलाई प्रेम सम्झने हो भने
प्रेम मर्यो भनेर सॅझिए हुन्छ
भोक र तिर्खाले निर्लज्ज प्रेमीहरू
सार्वजनिक सडकमा
आलिङ्गन र चुम्बनमा लिप्त हुँदा
प्रेम सम्झने हो भने मानव प्रेम मर्यो
भनेर सम्झिए हुन्छ
प्रेमी प्रेमिका पाउन
आकाशको तारा झार्नेहरू
आमा बाबुको बङ्गारा झारी रहेछन्
प्रेमी प्रेमिकाको हत्या गरिरहेछन्
अंश र वंशको नाममा हजारौँ
हिंसा, प्रतिहिंसा हुन्छ यहाँ
आमा बाबुले आफ्नै छोराछोरी
सन्तानले आमाबाबु
साथी, साथी पति पत्नी
जो कसैले जो कसैलाई
किन मारिरहेछन्?
कसरी हात लाग्छ कुन्नि
हत्या र बलात्कार गर्न
चोरी डकैती, लुटपाट र
हिंसा गर्न, तैपनि
किञ्चित अपराध बोध हुँदैन
लज्जा र ग्लानि हुँदैन
मानव प्रेम बुझेको भए
कसरी गर्न सक्छ आफ्नै
जस्तो हाड मासु ररगतको हत्या
आफ्नै जस्तो विचार र भावनाको हत्या
प्रत्येक घर र विद्यालयले अव
प्रेमको परिभाषा सिकाउने
समय भएन र ?
मानव प्रेम, एक मात्र अकाट्य
र अजय प्रेम भनेर सिकाउने
बेला भएन र ?