१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । प्रतियागितामा विगतमा झैं नेपाली सेनाकै वर्चश्व रहेको छ ।पोखरामा शनिबार भएको प्रतियोगितामा निर्धारित ४२.१९५ किलोमिटर दूरी रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पूरा गरी उपाधिसहित २ लाख तथा ट्रफी पुरस्कार जित्न सफल भए । दोस्रो भएका नेपाली सेनाकै ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी १ लाख रुपैयाँ र तेस्रो भएका देवीराज बस्नेतले २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा उक्त दूरी पूरा गरी ७५ हजार रुपैयाँ प्राप्त गरे ।
महिला धावकमात्र सहभागी हाफ म्याराथनमा २१ किलोमिटरमा नेपाल प्रहरीकी राजपुरा पछाईंले उपाधि जित्न सफल भइन् । उनले निर्धारित दूरी १ घण्टा २७ मिनेट १ सेकेण्डमा पूरा गरी १ लाख रुपैयाँ र ट्रफी पुुरस्कार प्राप्त गरिन् । जुम्लाकी राममाया बुढा १ घण्टा ३० मिनेट ५ सेकेण्ड दोस्रो र सशस्त्र प्रहरी बलकी वृन्दा श्रेष्ठ १ घण्टा ३१ मिनेट २ सेकेण्ड तेस्रो हुँदै क्रमशः ७५ हजार रुपैयाँ र ५० हजार पुरस्कार प्राप्त गरे ।
म्याराथनमा २ सय ९ जना र हाफ म्याराथनमा २९ जना धावकले सहभागिता जनाएको आयोजक मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । विजयीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्च अध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गर्नुभयो ।